site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
मुद्दा फैसला गर्दा न पुरुष न महिला, फगत एक न्यायाधीश

न्यायाधीश हुँदाका क्रममा मैले तीनचोटि संसदीय सुनुवाइ सामना गर्नुपरेको थियो । पहिलोचोटि, अस्थायी न्यायाधीश हुँदा । दोसोपटक, स्थायी हुँदा । तेसोपटक, प्रधानन्यायाधीश हुँदा ।

तीनैपटक कसै न कसैले त्यही एकै प्रश्न सोध्थे, ‘एउटा पुरुषको मुद्दा बेन्चसमक्ष फैसला हुन आउँदा तपाईँ के कसरी हेर्नुहुन्छ ?’

मेरो जवाफ हुन्थ्यो, ‘न्यायाधीश भएर ।’ बेन्चमा म मुद्दा फैसला गर्दा न पुरुष हुन्छु न महिला, म फगत एउटा न्यायाधीश हुन्छु । मेरो हातमा कलम हुन्छ । त्यो कलममा न्यायको देवीको बास हुन्छ ।

KFC Island Ad
NIC Asia

यो प्रसंग अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फेरि सम्झेको हुँ । महिला न्यायाधीश दिवस थियो, १० मार्च अर्थात् फागुन २७ का दिन । उक्त दिवसको घोषणा  संयुक्त राष्ट्रसंघले सन् २०२१ को अप्रिल महिनामा गरेको हो । नेपालमा उक्त दिवस मनाइयो, जहाँ म पनि सहभागी थिएँ ।

महिला न्यायाधीशहरूको दिवस अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको दुई दिनपछि नै संसारभरि सन् २०२२ देखि मनाउन थालिएको हो । महिला न्यायाधीशहरूको देनलाई मान्यता दिँदै संसारभरि लोकतन्त्र र समानता प्राप्तिका निम्ति महिलाहरूको सक्रिय सहभागिताको सम्मानस्वरूप दिवस मनाइने क्रम बसेको हो ।

Royal Enfield Island Ad

प्रत्येक क्षेत्र र तह तहहरूमा निर्णायक भूमिका प्राप्तिको सुनिश्चित गरी क्रमशः महिलाहरूलाई स्थापित गर्दै जाने लक्ष राखिएको छ । नयाँ पुस्तालाई न्यायाधीश बन्न प्रेरित मात्र गर्दैन, बरु समुदायहरू समेतको नेतृत्व गर्न पनि प्रेरणा दिन्छ । महिला न्यायाधीश दिवस १० मार्चको महत्त्वपूर्ण नारा र संयुक्त राष्ट्रसंघको आह्वान हो, महिला न्यायमा र महिलाका निम्ति न्याय ।

सन् १९९१ मा अमेरिकामा अन्तर्राष्ट्रिय महिला न्यायाधीशहरूको गैरसरकारी संगठन स्थापित भएको थियो । उक्त संगठनमा संसारभरिका कमसे कम १०० मुलुकहरूका करिब चार हजारभन्दा बढी संख्यामा महिला न्यायाधीशहरू सदस्य छन् ।

संगठनले महिलाहरूको हकहितमा कार्य गरेको छ । यो एउटा सक्रिय अन्तर्राष्ट्रियस्तरको संगठन पनि हो । वर्तमान अवस्थामा विषय राखेको छ, जुन महिलाका निम्ति सहानुभूति र कार्य हो । यसमा नेपालका महिला न्यायाधीशहरू पनि सदस्य छन् । प्रत्येक दुई वर्षमा हुने सम्मेलनमा क्रमशः भाग लिँदै आएका छन् ।

संसारका विभिन्न मुलुकहरूमा महिला न्यायाधीशहरूको प्रतिशत कति छ भनी अध्ययन गरेर हेर्दा बेलायतमा माथिल्लो अदालतमा ३७ प्रतिशत छ भने विशेष र तल्ला तहका अदालतहरूमा गरी ५२ प्रतिशत छ ।

अमेरिकामा महिला न्यायाधीशको संख्या कुल संख्याको तीन भागको एक भाग छ । ल्याटिन अमेरिकी मुलुकहरूमा माथिल्लो तहको अदालतमा सन् २०२१ को तथ्यांकानुसार ३०.४ प्रतिशत छ । तर, ग्वाटेमालामा त्यही तहका अदालतमा ५८.३ प्रतिशत, पनामामा ५५.६ प्रतिशत देखिन्छ । यसरी नै भेनेजुएलामा ५० प्रतिशत, निकारागुवामा ४१.७ प्रतिशत, उरुग्वेमा ४० प्रतिशत देखिन्छ ।

यस्तै, वाहमासको सर्वोच्च अदालतमा ६१.१ प्रतिशत महिला सहभागिता छ । तर। क्यारेबियनको पूर्वी भागका जम्मा आठ मुलुक (एङ्गुला, एन्टीगुवा र बारबुडा, डोमिनिकन, ग्रिनाडा, ब्रिटिस भर्जिन आइल्यान्डहरू, मोन्टिसेट्रास, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया र सेन्ट भिन्सेन्ट र ग्रेनाडिनस समेतको सर्वोच्च अदालतहरूमा महिला न्यायाधीशहरूको उपस्थिति ६३.६ प्रतिशत पाइन्छ ।

भारतको सर्वोच्च अदालतमा तीन महिला न्यायाधीशको उपस्थिति पाइन्छ भने तल्लो अदालतहरूमा कम संख्यामा छन् । तर, त्यहाँ महिला न्यायाधीशको नियुक्तिहरूमा अबका दिनहरूमा प्रथमिकता दिएको पाइएको छ ।

महिला न्यायाधीशहरूले प्रधानन्यायाधीशको पदमा बसी थोरै संख्यामा भए पनि भूमिका निर्वाह संसारमा गरेको पाइएको छ । पनामाकी अफ्रिकी मूलकी ग्रेसिया डिक्सोनले सन् २००५ मा प्रधानन्यायाधीशका रूपमा दुई वर्षसम्म सेवा गरेकी थिइन् ।

त्यस्तै, ब्रेभर्ली म्याक लाचलीले पनि सन् २००२ देखि २०१७ सम्म क्यानाडाको सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रूपमा लामो समयसम्म सेवा गर्न गरेको देखिन्छ । यसपछि क्रमशः महिला प्रधानन्यायाधीशका रूपमा विभिन्न मुलुकमा भूमिका थोरै संख्यामा भए पनि निर्वाह गरेका छन् ।

मध्य अफ्रिकी गणतन्त्रमा डेनियल डरमाल संवैधानिक अदालतकी प्रधानन्यायाधीश रहेकी छन् भने मार्था कोमे केनियामा प्रधानन्यायाधीश रहेकी छन् । मावेल आगेइमाङ्ग टर्कस र क्यासोस नाम गरेको मुलुकमा महिला प्रधानन्यायाधीश छन् । नेमत अबदुल्ला खेर सुडानमा प्रधानन्यायाधीश पदमा बहाल छिन् ।

नेपालमा पनि ११ जुलाई सन् २०१६ मा प्रधानन्यायाधीश म लेखिकालाई नियुक्त गरिएको थियो । त्यसबखत हामी न्यायालयमा सातजना मात्र महिला न्यायाधीश कार्यरत थियौँ । सन् २०१६ को मे २६ देखि २९ तारिखसम्म अन्तर्राष्ट्रिय महिला न्यायाधीशहरूको सम्मेलन अमेरिकाको वासिङटन डीसीमा थियो । नेपालबाट करिब पाँच महिला न्यायाधीशले भाग लिएका थियौँ ।

उक्त सम्मेलनमा हामीसँग तपाईंको मुलुकमा महिला न्यायाधीशको संख्या कति छ भनी प्रश्न राखियो । हामीले जति थियो, त्यति नै भनेका थियाँै ।

सातजना भनेर जवाफ दिएको सुनेपछि एकपटक सम्पूर्ण हल भरिरहेका महिला न्यायाधीशहरू हाँसेका थिए । हुन पनि किन नहाँसून्, बंगलादेशले त्यसबखत महिला न्यायाधीशको संख्या १६० पु¥याइसकेको थियो ।

पाकिस्तान, श्रीलंका महिला न्यायाधीशको संख्यामा हामीभन्दा धेरै अगाडि थिए । अरू मुलुकको हकमा कुरै नगरौँ । त्यहाँ उपस्थित प्रतिनिधिका कतिपय मुलुकमा ६० प्रतिशत महिला न्यायाधीशले न्यायपालिकामा काम गरिरहेका थिए ।

हाम्रो मुलुकमा त यस्तो नमुना छ, जहाँ तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ २०७२ चैत ३० गते सेवानिवृत्त हुनुभयो, तर सहजै मेरो नियुक्ति भएन । मलाई स्थायी प्रधानन्यायाधीश २०७३ असार २७ मा बहाल गरियो, अर्थात् तीन महिनापछि मात्रै ।

तीन महिनासम्म महिलालाई प्रधानन्यायाधीश दिने कि नदिने भन्नेमा मुलुकभित्र उपल्लो तहका ताकतवर मानिसहरूबीच विचारविमर्श चलिरह्यो । अन्तर्राष्ट्रिय महिला न्यायाधीशको त्यस सम्मेलनमा म कार्यवाहक प्रधानन्यायाधीशका रूपमा भाग लिन बाध्य भएकी थिएँ ।

२०७२ सालको संविधानले ३३ प्रतिशतको प्रावधान संसद्मा महिला प्रतिनिधिका हकमा कायम गरिएकामा निर्वाचनबाट महिला निर्वाचित हुन नसक्दा समानुपातिकबाट पु¥याइन्छ । त्यसरी समानुपातिकबाट ल्याउँदा दलहरूले सक्रिय रूपमा खटेका, क्षमता भएका महिलालाई प्राथमिकता दिने क्रम अझै देखापर्न सकेको छैन ।

तथ्य–तथ्यांक हेर्दा समानुपातिकमा छोरी, बुहारी, श्रीमतीलाई नियुक्त गर्ने होडबाजी चलेको देखिन्छ । यिनको वश चल्ने हो भने न्यायपालिकामा पनि महिला न्यायाधीशहरूको पदमा समानुपातिकझैँ छोरी, बुहारी र धर्मपत्नी नै नियुक्त गर्ने थिए होलान् । तथापि, न्यायालयमा नियुक्त हुन कानुनको डिग्री तथा कानुनी अभ्यास चाहिन्छ ।

नेपालमा पनि महिला न्यायाधीशको संख्यामा वृद्धि हुन थालेको छ । २०७३ पूर्वसम्म दुई प्रतिशत कायम रहेकामा हाल महिला न्यायाधीशको संख्या १०.५३ प्रतिशत पुगेको छ ।

अब सर्वोच्च अदालतमा १५.१८ प्रतिशत अर्थात् २१ जनाको संख्यामा तीन महिला न्यायाधीश बहाल छन् । त्यस्तै, उच्चमा १४.१९ प्रतिशत, एक मुख्य न्यायाधीशसहित २१ महिला न्यायाधीश र जिल्ला अदालतमा ७.६९ प्रतिशत अर्थात् १८ गरी कुल संख्या ४३ जना बहाल छन् ।

न्यायपालिकामा महिला अधिकृतहरूको संख्यामा पनि वृद्धि भई २७६ पुगेको छ । सरकारी वकिलमा महिलाहरूको संख्या ११२ पुगेको छ । कानुनतर्फ कार्यरत महिलाहरूको संख्या ९६ जना पुगेको छ ।

हामीकहाँ पनि महिला न्यायाधीश दिवस १० मार्चलाई सेवामा बहाल रहेका र सेवानिवृत्त भएका समेत भेला हुँदै मनाएका थियौँ । न्यायाधीश समाजअन्र्तगत रहेको महिला न्यायाधीश समितिको आयोजनामा सर्वोच्च अदालतका महिला न्यायाधीश सपना मल्ल, सुष्मलता माथेमा, सारंगा सुवेदी र अन्य बहाल हुनुभएको थियो ।

उक्त भेलामा नेपालकी प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठलगायतले आफ्ना गहन अनुभव सुनाउनुभएको थियो । उहाँले कम वेतन, कम सुविधामा दूरदराजमा सेवा गर्न जाँदाको कठिनाइबारे रोचक अनुभव सुनाउनुभएको थियो ।

अरूभन्दा न्याय सेवामा कार्य, त्यो पनि न्यायाधीश हुनु कठिन छ । महिलाले आदि–अनादिकालदेखि घरपरिवार, बालबच्चा सबैको जिम्मेवारी वहन गर्दै आएका हुन् । यी मामलामा महिलासँगै वर्षौँको अनुभवी पनि हुन्छ ।

बाहिरको र घरभित्रको दुवै दायित्व वहन गर्नैपर्छ । पदमा कर्यरत जति पनि महिला न्यायाधीशहरूले आफूलाई खटाएको स्थानमा सरुवा भए पनि जानैपर्छ । काम पनि गम्भीर हुन्छ, न्याय दिनुपर्ने ।

अन्य कामजस्तो सरल पनि छैन । बहस सुन, फैसला लेख, सबै कुराका निम्ति दिनरात अध्ययन गर्नैपर्छ । संयुक्त राष्ट्रसंघको आह्वान– न्यायमा महिला र महिलालाई न्याय भन्नुको अर्थ महिला न्यायाधीश हुँदा महिलाप्रति अनुभूति राख्न सक्छन् भन्ने अवधारणा हो ।

हाम्रो मुलुकमा ५२.१ प्रतिशत महिलाको जनसंख्या छ । महिलाका बारेमा अनुभूति महिलाले नै राख्न सक्छन् । तिनको भावना, अनुभव, पीडा, मनोदशाका बारेमा यथार्थ महिलाले नै बुझ्छन् । हुन त हरएक जाति–जनजातिको प्रतिनिधित्व न्यायालयमा हुनु अनिवार्य हुन्छ । किनकि, सबै जातिका बारेमा सबै कुरा एकथरीलाई मात्र जानकारी हुन्न ।

तसर्थ, अन्तर्राष्ट्रिय महिला न्यायाधीशको संगठनले उठाएको महिला न्यायाधीशको नियुक्तिको विषय वास्तवमा सही कुरा हो । महिलाले महिलालाई न्याय दिँदा सहानुभूतिको अनुभव विविध कारणबाट राख्नुपरे पनि पक्षपात भने कहिल्यै गर्नु हुँदैन । सहानभूति भन्ने कुरा न्याय दिँदा अनुभूति गर्नेसम्म हो, अर्थात् महसुससम्म गर्ने हो । महिला भएका कारण सजाय गर्दा न्यायाधीशले पक्षपात गर्न मिल्दैन ।
(लेखक पूर्वप्रधानन्यायाधीश हुन्)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro