site stats
बाह्रखरी :: Baahrakhari
कला
धरान उपमहानरका मेयर साम्पाङ भन्छन्– बजेटमा चलचित्रका लागि बजेट छुट्याउँछु 

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली चलचित्र क्षेत्रका लागि बजेट छुट्याउने बताएका छन् । धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’कार्यक्रममा मेयर साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली चलचित्र क्षेत्रलाई कुनै न कुनै रूपमा बजेटमार्फत् नै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाली चलचित्रसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको बताउँदै उनले भने, “नेपाली फिल्मलाई सम्बोधन गरेर म बजेट ल्याउँछु । धरानले फिल्मलाई हेर्यो भन्ने आभाष दिलाउने छु ।” 

Argakhachi Cement Island Ad

उनले धरानमा चलचित्र छायांकनका लागि सहज हुने गरी आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर डायरी सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । 

कलाकारलाई मोबाइलमार्फत् मात्रै माया गरेर नहुने भन्दै उनले भने, “कलाकारलाई माया गर्ने हो भने हलसम्म पुग्नुपर्छ । त्यसैले नेपाली फिल्म हलमै हेर्ने गरौँ ।” 

संवाद कार्यक्रममा अभिनेता हरिवंश आचार्यले धरानमा फिल्म ‘बलिदान’को छायांकन गरेको स्मरण गर्दै छायांकनको गन्तव्यका रूपमा व्याख्या गरे । उनले धरानमा सिनेमाका गतिविधि बढाउनुपर्ने बताए । 

फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठूलो सहयोगभन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए । सिनेमाको छायांकनका लागि आउँदा लोकेशनदेखि थुप्रै कुराहरूमा अन्योल हुने भन्दै त्यसमा स्थानीय सरकारले सहजीकरण गरिदिनुपर्नेमा उनको जोड छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्