site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
भोलि ११ बजेसम्म लिखित सहमति नभए माओवादीलाई मत दिँदैनौँ 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्ता गठबन्धनमा सामेल छ । 

वर्तमान सरकारमा दुईजना मन्त्री पठाएको नेकपा एसका नेताहरु भने असन्तुष्टि सार्वजनिक गरिरहेका छन् ।  संसदमा सांसदहरुलाई निर्देशन (ह्विप) जारी गर्ने दलका प्रमुख सचेतक मेटमणि चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान सत्ता गठबन्धनका विषयमा सार्वजनिकरुपमै असन्तुष्टि राख्दै आएका छन् । 

सरकार गठन भएकै दिनदेखि सरकारको दिनगन्ती सुरु भएको बताउने चौधरीले सरकारमा आफ्नो पार्टी सहभागी भइसक्दासमेत धारणा परिवर्तन गरेका छैनन् ।  प्रधानमन्त्री प्रचण्डलाई उनले अहिले पनि ‘धोकेबाज’ को संज्ञा दिन्छन् ।

लिखित सहमति नभए प्रधानमन्त्रीलाई विश्वासको मत र गठबन्धनको उमेदवारलाई राष्ट्रियसभा अध्यक्षमा भोट नहाल्ने उनको मत छ । 

पार्टी सरकारमा सहभागी भइसक्दासमेत उनी किन कडा रुपमा प्रस्तुत हुँदैछन्, अध्यक्ष माधवकुमार नेपाल उनले राखेका धारणामा सहमत भएका छन् त ? यिनै विषयमा हामीले चौधरीसँग संक्षिप्त कुराकानी गरेका छौँ । प्रस्तुत छ– चौधरीसँग गरिएको संक्षिप्त संवादको सम्पादित अंश :

Global Ime bank

–सरकारमा पार्टी सहभागी भइसकेपछि पनि तपाईंहरुभित्र असन्तुष्टि किन छ ? संसदीय दलमा पनि विवाद भएको हो ? 

प्रचण्डले व्यक्तिगत स्वार्थमा समीकरण बदले, हिजो हामी एउटा गठबन्धनमा निश्चित ‘कज’का लागि आवद्ध थियौँ । आज त्यो अवस्था छैन । 

प्रधानमन्त्रीका रुपमा प्रचण्डले हिजो गरेका ‘कमिटमेन्ट’ केही पनि पुरा भएका छैनन् । आज नयाँ–नयाँ कुरा उहाँ गर्दै हुनुुहुन्छ । त्यसमा हामी लतारिनु हुँदैन भन्ने कुरा स्पष्ट राखेको हो । यो असन्तुष्टि होइन । 

संसदीय दलमा कुनै विवाद छैन । सर्वसम्मतिले एउटा निर्णय गरेका छौँ । प्रचण्डले यो भन्दा अगाडि पनि हामीसँग थुप्रै सम्झौता, सहमति र प्रतिबद्धता जनाएका थिए । त्यसको कार्यान्वयन गर्नुपर्ने बेला उनी अर्को समीकरण बनाएर हिँडे । 

यिनी त समीकरण बदल्दै हिँड्छन् । त्यसकारण विश्वास पनि देखिएन । त्यसैले हामीले लिखित सहमति गर्नुहुन्छ भने गर्नुहोस् होइन भने समर्थन नगर्ने निर्णय गरेका हौँ ।

–तपाईंहरुलाई अहिले प्रधानमन्त्री प्रचण्डले दिनुभएको बचन चाहिँ के हो ? 

सातवटा प्रदेशमध्ये एउटा प्रदेशको मुख्यमन्त्री, प्रदेश र संघमा मन्त्रीहरु, प्रदेश प्रमुखसहित संवैधानिक नियुक्तिमा सम्मानजनक सहभागिता,  यी सबै कुरामा उहाँले बचन दिनुभएको छ । 

उहाँले गरेका ‘कमिटमेन्ट’मा विश्वास गर्न सकिने अवस्था रहेन । 

त्यसकारण अब लिखित सहमति गर्नुहुन्छ भने उहाँलाई विश्वासको मत दिने, होइन भने किन दिने भन्ने विषयमा हाम्रो पार्टी एकमत भएको छ ।  हामीले एकमतले निर्णय गरेका छौँ । यो कुरा प्रष्ट राख्नुहोला, मान्छन् भने मान्छन्, नमाने सरकार ढल्छ भन्ने कुरा हामी सांसदहरुले राखेका छौँ । 

–तपाईंहरुले भनेजसरी नै अध्यक्ष माधवकुमार नेपालले बैठकस्थलबाटै फोन गर्नुभयो होइन, फोनमा प्रधानमन्त्रीलाई के भन्नुभयो  ? 

हो, उहाँले हामी सबैले सुन्नेगरी बैठकबाटै फोन गर्नुभयो । तपाईंले सबै कुरामा लिखित कमिटमेन्ट गर्नुभएन भने म तपाईंलाई समर्थन गर्न सक्दिन, मेरा सांसदहरु मान्दैनन् भन्नुभएको छ । प्रचण्डले कुनै निर्णय गर्न नहतारिनुस् भन्नुभएको छ । 

–मंगलबारको राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा तपाईंहरु कसलाई मत दिनुहुन्छ ?

भोलि १०–११ बजेसम्म लिखित सहमति भएन भने हामी राष्ट्रियसभामा माओवादीको उमेदवारलाई भोट हाल्दैनौँ ।  ३० गते प्रधानमन्त्रीले विश्वासको मत दिने प्रस्तावको विपक्षमा मतदान गर्छाैँ । त्यसपछि एकीकृत समाजवादीले प्रतिपक्षमा बस्ने निर्णय गर्छ । 

–प्रधानमन्त्रीले विश्वासको मत नै नलिँदै सत्ताको खेल सुरु भइसकेको हो ? 

त्यस्तो खेलमा हामी लागेका होइनौँ । तर, उहाँ यही रुपमा अघि बढ्नुहुन्छ भने समीकरण अर्को बनाउनैपर्छ । स्टन्टबाजी गर्ने र व्यक्तिगत स्वार्थका लागिमात्र दौडने मानिससँग सकिन्न । 

यस्ता व्यक्तिलाई विश्वास गरेर देश बन्दैन । पार्टीहरु भाँडभैलोमा जान्छन् । 

देशलाई गोलचक्करमा फसायर आफ्ना स्वार्थ पूरा गर्ने व्यक्तिलाई विश्वास गरेर हिँड्नु पनि पार्टीहरुको मुर्खता हुन जान्छ । त्यसकारण नयाँ समीकरण बाध्यात्मक हुन आउँछ ।  

–तपाईंहरु एमालेबाट अलग हुनुभयो, पार्टीलाई नै मान्यता नदिनेसम्मका अस्वस्थ अभ्यास भए, अहिले एमालेसँगै मिसिनुपर्दा बढी आक्रोशित हुनुभएको हो ? 

त्यो होइन । पार्टीहरुको विघटन हुने, एकीकरण भएर मिल्ने नियमित प्रक्रियाभित्रको कुरा हो ।  समाजवादी पार्टी छोटो समयमै राम्रो भएको प्रचण्डलाई पनि मन परेको छैन । उनले आफू पनि सकिने र नेकपा एकीकृत समाजवादीलाई पनि सक्ने काम गरिरहेका छन् । 

उनले आफूसँगै, सहयात्री दल र नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने र देशलाई नै भडखालोमा हाल्ने काम गरिरहेका छन् । व्यक्तिगत स्वार्थलाई सबैथोक मानेर हिँड्ने राजनीतिक नेताबाट राम्रो परिणामको अपेक्षा गर्न पनि सकिँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu