site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भाषण गर्न जानु छ 

मोतिकला सुब्बा देवान मेडमप्रति आभारी छु, उहाँको निमन्त्रणापत्र रहेछ, टक्क देखिने गरी मेरो टेबलमा राखिएको । अंग्रेजी भाषासाहित्य पढाउने गुरुआमा, विश्वविद्यालयमा प्राध्यापन पेसामा समर्पित । फेरि, अंग्रेजी भाषासाहित्य पढाउने शिक्षकहरूको राष्ट्रिय संघकी अध्यक्ष पनि ।

निम्तो अंग्रेजी भाषामै आयो । व्यहोरा रहेछ, नेल्टा नाउँ गरेको उक्त संघको अट्ठाइसौँ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा उपस्थित भइदिने र छोटो मन्तव्य पनि सुनाउने ।

मन्तव्य सुनाउनुलाई मैले छोटोछोटो भाषण गर्नु नै भन्ने सम्झेँ । किनकि, भएभरिकालाई स्रोता बनाएर एकोहोरो बोल्नु भनेको भाषणै हो ।

Dabur Nepal

केही क्षण पत्र उघारेर आँखाअगाडि राखिरहेँ । पत्रले धेरै बोल्नु जरुरी थिएन । मेरो पूर्वजानकारी नै यति बुझ्न पर्याप्त थियो कि त्यस दिन विभिन्न देशका विश्वविद्यालयहरूबाट, शिक्षासँग सरोकार राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिनिधिहरू आउनेछन् र देशभरिबाट अंग्रेजी लेखपढ गर्ने र गर्न सिकाउने विद्वत्जनको भेला हुनेछ ।

वरिष्ठहरूले कनिष्ठहरूसँग, पदासीनहरूले गैरपदासीनहरूसँग, मञ्चासीनहरूले दर्शकदीर्घासीनहरूसँग, अल्पजनले बहुजनसँग ज्ञानको जल छर्कनेछन्, स्वस्तिशान्ति गर्नेछन् ।

हृदय नै शीतल हुने, मन झंकृत हुने मधुर वातावरण बन्नेछ । किनकि, यो आचार्य–गुरुजनहरूको भेला हो र ज्ञानको वाणी मधुर र हृदयस्पर्शी हुन्छ ।

यस्ता विद्वत्जनको सौम्य र शालीन भेलामा मलाई आमन्त्रित गरिएको छ, भाषण गर्न । सम्मेलनकक्ष पनि परिचित स्थान नै हो । यहाँ केहीचोटि फरकफरक बेलामा गएको छु । कार्यक्रमको प्रकृतिअनुसार कहिले अग्रपंक्तिमा बसाल्छन्, कहिले दोस्रो पंक्तिमा । कहिले त मञ्चमै बसाल्छन् । यो आसन र भाषण नै दुइटा यस्ता चिज रहेछन् जसले एउटै मनुष्यलाई कहिले अग्लो, कहिले होचो बनाइदिँदा रहेछन् ।

यसपटक भाषण पनि भएकाले आसन पनि गतिलै पर्ला कि ? मञ्च भनेको अग्लो स्थान हो । त्यहाँ गएर उभिँदा झन् अग्लो भइन्छ । सबैले देख्छन् र परर्र ताली बजाउँछन् । ताली बज्दा झन् अग्लो भइन्छ । अरूभन्दा अग्लो हुनुमै त छ मजा ।

मञ्चको अग्रभागको मध्यासनमा हुनेछन् कार्यक्रमका सभापति, बगलकै आसनमा हुनेछन् प्रमुख अतिथि । छेउछाउमा थपिँदै जानेछन् विशिष्ट अतिथिहरू, दिग्गजहरू र भरिनेछ पहिलो लहर ।

अनि, दोस्रो अनि तेस्रो । आसनहरूले तोक्दै जान्छन् अतिथिका ओजन । श्रेणीरहित समतल मञ्चमा पनि श्रेणीका अदृश्य धर्काहरू कोरिएका हुन्छन् । तिनै धर्काहरू नाघ्न सक्नेहरूको हो उँचाइ चुलिने ।

कुनै पनि कार्यक्रमको मंगलाचरण नै आसनग्रहण हो । कार्यक्रम सञ्चालक नाउँ पुकारा गर्दै जान्छन्, आसन लिनेहरूको लर्को लाग्दै जान्छ । खदा, पुष्पगुच्छा, माला, ब्याज लगाउने क्रम चलिरहन्छ । सम्बोधन हुँदै गर्छ, मञ्च भरिँदै गर्छ । रेफ बिरियो भने भतेर चर्को भइहाल्छ ।

यसो सोचेँ– मञ्चको दाहिनेतिरका भागमा परूँला कि देब्रेतिरका ? दोस्रो लहरमा परूँला कि तेस्रोमै परूँला ? लचकदार कुर्सीमा परूँला कि कडकदार ? उपरखुट्टी लगाएर बस्ने होला कि खुट्टा सोझो पारेर ? भलाद्मी बन्न गोडा पनि सही तरिकाले पसार्न जान्नुपर्छ ।

डा. अभि सुवेदी त अनिवार्य पाहुना । कि उहाँकै आसनका पछाडि पो परूँला ? उहाँ ‘उँचा’ मानिस, म ‘पुड्को’ । सर्लक्कै छेकिएर नदेखिने पो भइजाउँला कि ? उँचाहरूका सान्निध्यमा रहन चाहनु पनि उँचो विचार हो ।

उँचाहरूको पथ पछ्याउनु पनि भलो काम हो । झरीमा ओत भइदिन्छन्, गर्मीमा छहारी । सोच्दासोच्दै म आफ्नै कार्यालयको कुर्सीमा अग्लिन पो थालेँ ।

चुरो कुरो नै फुस्किएला कि झैँ पो भयो । भोलि मलाई भाषण गर्न जानु छ ।

वास्तवमा भाषण गरेर हुन्छ के ? पोहोर पनि भाषण गरिएकै हुन्, झन् पोहोर पनि भाषण गरिएकै हुन् । अझ अर्को पोहोर पनि गरिएकै हुन् । दशकौँअघि पनि गरिएकै हुन् । भाषण गर्नेको कति उन्नति भयो ? अनि, भाषण सुन्नेको कति उन्नति भयो ? भाषणैभाषणले देश ‘भाषणबाजहरूको देश’ भइसक्यो ।

भाषण वाग्मती खोलाजस्तै पो रहेछ । एउटा फोहोर बगाएर लैजान्छ, डिलमा अर्को फोहोर तैनाथ भइहाल्छ । फोहोर नै त हो भाषणको खरो विषय । फोहोर नभए खोलाले के बगाउँछ ? मान्छे भाषणमा बग्ने खोला हो ।

भाषण स्रोतालाई मोहित तुल्याउने जादुटुना पनि । भाषण सत्यभन्दा माथि भुटलाई स्थापित गराउने कलात्मक अभिव्यक्ति पनि । भाषण असत्यलाई परास्त गर्ने योद्धा पनि । भाषण एक गाँस अपाच्य भोजन पनि । धेरै मायावी रूप छन् भाषणका ।

अनि, बोल्नका लागि समय पनि त संक्षिप्तै देलान् । खै, धेरै बेर बोल्न मन पराउने कुशल वक्ताको ज्ञान सुस्तसुस्त पग्लिँदै तप्पतप्प चुहिन्छ र हो कि कुन्नि ? कुरै मेटिन्नन् ।

उता, मञ्चमा बस्नेहरू कोही हाइ काढ्न थाल्छन्, कोही उँघेर आँखा हलुंगो पारिभ्याउँछन् । कोही मोबाइल झिक्न थाल्छन्, कोही आसनमै मर्याक् र मुरुक् गर्छन् । कोही ‘साइड टक’ले काम चलाउँछन् ।

दर्शकदीर्घाबाट छटपटीका थपडी बज्छन्, सिटी बज्छन् । शौचालय जाने बहानामा एउटा, दुइटा गर्दै दर्शक रित्तिन थाल्छन् । तैपनि, बिचरा बोल्नेले बिट मार्ने सुरसारै गर्दैनन् ।

मैले त्यस्तो कलाकौशल कहाँबाट ल्याउनु ? बरु, बाटोको म्याद घटाएर बाँकी संक्षिप्तमै बोल्नुपर्ला ।

भाषणकलामा म न त मार्टिन लुथर किङ जुनियरजस्तो न विन्स्टन चर्चिलजस्तो । न त महात्मा गान्धीजस्तो न नेल्सन मण्डेलाजस्तो । मसँग स्वामी विवेकानन्दको जस्तो अद्वितीय क्षमता पनि त छैन कि पहिलो सम्बोधनमै दुई मिनेट ताली गुञ्जिरहोस् ।

‘सिस्टर्स एन्ड ब्रदर्स’ भनेर त मेरो काम चल्दैन । पहिले त मैले विचार गर्नुपर्यो – को परमादरणीय हो ? को धेरै आदरणीय ? को आदरणीय ? अनि, को अलि थोरै आदरणीय ? को परममित्र ? को थोरैथोरै मित्र ?

अझ ध्यान पुर्याउनुपर्ने कुरा हो, को मिस्टर हो ? को मिसेज, को मिस वा कसलाई मेडम भन्ने ? कसका नाउँका अगाडि डा. जोड्ने ? उनी कार्यरत संस्थामा उनको पद र हैसियतलाई नामका शिरमा वा पुच्छरमा कसरी बुट्टा बनाएर सजाउने ?

ए हजुर, विशेषण र फूलबुट्टाबेगरको निस्तो नाम मात्रैले त न कसैको मर्यादा पुग्छ न त चिनारी नै पुग्छ ! यसरी मर्यादा उल्लंघन गर्नुभयो भने पनि तपाईंलाई ठूलै बात लाग्न सक्छ । निवृत्त जीवन बाँचिरहेकाहरूले पनि ‘पूर्व’ चिनारीको भोगचलन गरेकै हुन्छन् ।

जस्तो, पूर्वमन्त्री, पूर्वन्यायाधीश, पूर्वराष्ट्रसेवक आदि । मानौँ, यसबाहेक उनीहरूले जीवनमा अर्को उपकारी कर्म गरेकै थिएनन् । विद्वान् मात्रै यस्तो व्यक्ति रहेछ जो न निवृत्त हुन्छ, न ‘पूर्व’ कहलिन्छ ।

त्यसपछि सभापतिलाई सम्बोधन गर्न पर्यो, प्रमुख अतिथिलाई पुकार्नै पर्यो । दिग्गज अतिथिहरूलाई छुटाउनै भएन, नत्र भोलिदेखि बाटोघाटोमा नमस्कारको उत्तर नआउला ।

कक्षाशिक्षकले हाजिरी लिएझैँ क्रमैसँग दोस्रो, तेस्रो लहरसम्मकालाई उच्चारण गर्नै पर्यो । झन् दर्शकदीर्घामा बसेर थपडी मार्ने स्रोता पनि, दर्शक पनि, जसलाई म ‘होर्ता’ भन्ने गर्छु, यी बेगर त मञ्चासीनको औचित्य नै छैन । ती होर्ताहरूलाई पनि जोडदार सम्बोधन गर्नै पर्यो ।

किस्तीमा फूलका गुच्छा र खादा बोकेर अतिथिहरूलाई झकिझकाउ पार्न मञ्चमै आउनेलाई अझ स्नेहपूर्वक सम्झिन पर्यो । ढोकामा उभिएर जम्लाहात गरी स्वागत गर्नेको सनातनी संस्कारलाई उच्च सम्मान गर्नै पर्यो । उत्तम संस्कारमै झल्किन्छ मानिसको हृदयको शुद्धता ।

गेटबाट भित्र प्रवेश गर्दा कुनै कुञ्जुस्याइँ नगरी एक बित्ता जमिन धसिने गरी बुट बजाएर सलाम ठोक्ने भाइलाई झन् कसरी बिर्सिनु ? कार्यक्रम सञ्चालकले मन टर्रो पार्लान्, उनलाई पनि सम्झिनै पर्यो ।

घरमा पूजाआजा गर्दा पुरेतले आआफ्नो नाम सम्झेर मःमः भन्नूस् भन्थे । यहाँ त न मःमः भनेर पुग्ने न त ऐजन ऐजन भनेर धर पाइने । सर्लक्कै छत्तीस वर्ण भन्नै पर्यो ।

राज्यको चौथो अंग सञ्चारजगत्का मित्रहरूलाई आदरपूर्वक सम्झिनै पर्यो । के थाहा, उहाँहरूको रिपोर्टिङमा कतै मेरो नाउँ पनि अटाउला कि ! 

यतिन्जेलमा त दिइएको समय नै सकिएला । अनि, के धन्यवाद भनेर थपक्क बस्नु ? अग्रजहरूले चलाएको रीत र परम्परालाई पनि धान्नै पर्यो । संक्षिप्त मन्तव्य (सर्ट रिमाक्र्स) भनेर आमन्त्रित गर्नु नै बेरीतको लाग्यो मलाई ।

फेरि सोच आयो– कस्तो परिधानमा पो जाने होला ? पोसाक सभ्यता पनि । पोसाक चिनारी पनि । पोसाक आत्मविश्वास पनि । पोसाक आत्मप्रदर्शन पनि । खै, कसो गरौँ ?

नेपाली पोसाकमै जाऊँ कि ? जस्तो म अन्तर्राष्ट्रिय सभामा एकदुईचोटि गएको छु । कि अंग्रेजी पोसाकै लगाइदिऊँ ? कार्यक्रम नै अंग्रेजी जो हो । कुन रङको सुटमा कुन कमिज लगाउने ? टाई कुन रङको ठिक होला ? पकेट स्क्वायर र टोपी पनि त म्याच गर्नु पर्यो ।

लुगा म्याच गरेर लगाउने मेरो त्यति बानी छैन । बिहान सानो प्वाल परेको मोजा लगाएको थिएँ । हुन त जुत्ताभित्रको प्वाल कसले देख्छ र ? प्वाल परेको कुनै लुगा लगाउनु ठिक होइन । त्यसबाट आफ्नो हैसियत बाहिरिने खतरा हुन्छ ।

भरे घर फर्किंदा एकजोर ब्रान्डेड मोजा किन्नुपर्ला । पर्फ्युम पनि मन्द बस्ना छर्ने, सुगन्धित नै रोज्नुपर्ला । दायाँबायाँ बस्नेका पनि त नाक हुन्छन् नि ! पादुका त झन् छर्लंग अनुहारको छाया देखिने टलकदार हुनुपर्यो ।

हठात् हृदयमा एउटा कौतूहल उम्रियो । हृदय सबैभन्दा कोमल भूमि हो । यहाँ यस्ता रहरहरू सजिलै टुसाउँछन् । एउटा जिज्ञासा जाग्यो–यसपल्टका दिग्गजगणहरू के कस्ता आउलान् ? ज्ञानको ठेली मात्रै लिएर आउलान् कि जीवन र जगत् पनि लिएर आउलान् ? जीवन र जगत्लाई ठेलीको ज्ञानसँग एकाकार गर्ने आउलान् कि ठेलीलाई नै झन् जीवनमा रूपान्तरित गर्ने पो आउलान् ?

शिक्षालाई प्रकृतिमा खोज्न सिकाउनेहरू नै आउलान् कि महाकविका वमन–वेदान्तीहरू नै आउलान् ? आधुनिक कालीदासको युगमा ‘वन्दे वाणी विनायकौ’ भनेको यस्तै त होला ?

कुरा त हाँगाबिँगामै अल्झियो । मूल काण्डमा पुग्दै पुगेन । मुख्य कुरा त भाषण गर्नु पो हो । यत्रो विद्वत्सभामा, ज्ञान र सीप अर्जाप्ने मेलामा मैले भाषण किन गर्ने ? न त म वाणी हुँ न विनायक । न त म विज्ञापनदाता हुँ न प्रायोजक । तैपनि, यो अवसर मेरा लागि, एउटा शिक्षाकर्मीका लागि स्तुत्य अवसर हो । सम्मान हो । त्यसैले मैले भाषण गर्नै पर्छ ।

तर, भन्ने पो के हो ? भोजपत्रमा सुवर्णअक्षरले लेखिएको पत्र चाँदीको किस्तीमा टक्र्याउँदा त्यही पढेर प्रजावत्सल कहलिने पौराणिककालको राजा म परिनँ । म त आफ्नै युगको मास्टर । मलाई त खबरकागतको बिटमा थोरै लेखिदिए पनि पुग्थ्यो । कसलाई गुहार मागौँ ?

एउटा अनुहार सम्झेँ, अर्को अनुहार सम्झेँ । जुरुक्क उठेँ, थचक्क बसेँ । बाहिर गएँ, अनि फेरि भित्र फर्किएँ । सहयोगी भाइले ढोकाबाट चियाउँदै सोधे, ‘सर, चिया टक्र्याऊँ कि ?’

मैले भनेँ, ‘विष्णु, भोलि मलाई भाषण गर्न जानु छ । म होचाहोचा अनुहारतिर आफ्नो अग्लो अनुहार फर्काएर भन्ने छु–
आदरणीय महिला तथा सज्जनवृन्द,
...  ... ...  ...
...  ... ...  ...

धन्यवाद !’

ढोकाबाट चियाउने एकजना स्रोता पनि खै कता हराएछन् !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro