site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डीडीसीमा ठूलो परिमाणमा पाउडर दूध र मख्खन थन्कियो

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)मा ठूलो परिमाणमा पाउडर दूध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ ।

डीडीसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दूध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्री हुँदा समस्या देखिएको हो । संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीमा ठूलो मात्रामा पाउडर दूध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले मासिक ४२ लाख लिटर दूध विभिन्न किसानमार्फत खरिद गछौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,” उनले भने । 

दैनिक ५० हजार लिटर दूधको मख्खन र पाउडर दूध बनाएर भण्डारण गर्दै आइरहेको उनको भनाइ छ । डीडीसीले गर्मी बढेपछि दहीको बिक्री बढ्ने अपेक्षा लिएको छ । 

डीडीसीमा हाल सवा एक अर्ब बराबरको पाउडर दूध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए । उनका अनुसार हाल संस्थानमा नौ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात रहेको छ ।
    
संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दूध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आम उपभोक्तामाझ पुर्याउँदै आएको छ । दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन् । रासस
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्