site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोकुल बास्कोटाकै अघि अख्तियार प्रमुखले भने– ७० करोड टेप काण्डको अनुसन्धान भइरहेको छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा एउटा दुर्लभ दृश्य देखियो । 

दुर्लभ यसअर्थमा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले जुन भ्रष्टाचार प्रकरणमा अनुसन्धान भइरहेको छ भन्दै उपलब्धि सुनाउँदै थिए, त्यस प्रकरणका आरोपी सोही बैठकमा उपस्थित थिए । 

ती व्यक्ति सुन्ने हैसियतमा होइन, अख्तियार प्रमुखलाई प्रश्न सोध्ने हैसियतमै उपस्थित थिए ।  ती हुन् नेकपा एमालेका सांसद, सार्वजनिक लेखा समिति सस्दय तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा । 

Prabhu Bank
Agni Group
NIC Asia

लेखा समितिले अख्तियारका प्रमुख आयुक्त राईलाई समितिले दिएका आदेश के कति कार्यान्वयन भए र तिनको अवस्था के छ भन्ने बारेमा जानकारी लिन मंगलबारको बैठकमा बोलाएको थियो । 

बैठकमा अख्तियारले गरेका कार्यका बारेमा जानकारी दिने क्रममा अख्तियारका प्रमुख आयुक्त राईले भने, “सेक्युरिटी प्रेस टेप काण्डको अनुसन्धान भइरहेको छ ।” 

Global Ime bank

प्रेम राईले टेप काण्ड उच्चारण गरेपछि केही पर बसेका बास्कोटाले राईलाई एक टकले हेरिरहे ।  लेखा समितिका केही सदस्य भने उक्त समयमा आफ्नो टाउको बास्कोटातर्फ मोडिरहेका थिए ।  बास्कोटाले पनि राईबाट विस्तारै आँखा दाया–बायाँ डुलाए अनि टेबलमा रहेको कागज पढेझैँ गरे ।

‘टेप काण्ड’ त्यो घटना थियो जसका कारण बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिनु परेको थियो । 

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि बढाउने क्रममा मन्त्रीको जिम्मेवारी सम्हालिरहेका बास्कोटाले बिचौलियासँग ७० करोड कमिसन लेनदेन सम्बन्धी गरेको कुराकानीको टेप रेकर्ड २०७६ फागुनमा सार्वजनिक भएको थियो । त्यसपछि उनले मन्त्रीबाट राजीनामा गर्नु परेको थियो । 

सोही घटनाको छानबिन अघि बढाउन लेखा समितिले अख्तियारलाई भनेको थियो । घटना भएको चार वर्षपछि लेखा समितिमा अख्तियारका प्रमुख आयुक्तले नै ७० करोड टेप प्रकरण उठाएका थिए ।  “अनुसन्धान भइरहेको छ । प्रमाण नभेटिएकोले दोषी कसैलाई भन्न भएन,” अख्तियारका प्रमुख आयुक्त राईले लेखा समितिको बैठकमा भने । उनले यो प्रकरणलाई छिट्टै टुङ्गोमा पुर्‍याउने आश्वासन दिए । 

अख्तियारका प्रमुख आयुक्त राईले टेप काण्डबारे थोरैमात्र बताए तर त्यसबारे थप जान्ने इच्छा लेखा समितिका कुनै सदस्यले व्यक्त गरेनन् ।  बास्कोटा स्वयमले पनि उक्त विषयमा केही बोलेनन् । उनले अन्य विषयमा अख्तियारलाई सुझावमात्रै दिए । 

बैठक चलिरहँदा बास्कोटा नभएको बेला लेखा समितिका सदस्य अर्जुन नरसिंह केसीले एकपटक मात्र सेक्युरिटी प्रेसको नाम उच्चारण गरेका थिए ।  उनले सेक्युरिटी प्रेसको नाम उच्चारण गरिरहँदा बास्कोटा बैठकमा कक्षमा प्रवेश गरेका थिए । त्यसपछि केसीले सेक्युरिटी प्रेसको नाम दोहोर्‍याएनन् । 

समितिको बैठकमा आफ्नै सदस्यको नाम जोडिएको काण्डका विषयमा अख्तियारका प्रमुख आयुक्तले अनुसन्धान भइरहेको जनाउँदा उक्त काण्डका विषयमा सबै सदस्य मौन देखिएका थिए ।

सदस्यहरुले अन्य काण्ड र प्रकरणका नाम बारम्बार दोहोर्‍याउँदा ७० करोडको टेप काण्डका विषयमा भने सहमति नै गरेझै मौन बसेका थिए । बास्कोटा भने बैठकको आधा समयतिर निस्केर हिँडेका थिए । त्यसपछि उनी बैठकमा आएनन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय