site stats
बाह्रखरी :: Baahrakhari
कला
भक्तराज आचार्य रेस्टुराँको पहिलो गजल गायक थिए ?

काठमाडौं । गायक सत्यराज आचार्यले आफ्ना पिता भक्तराज आचार्य नेपालमा रेस्टुराँमा गजल गाउने पहिलो गायक भएको बताएका छन् । अरू गायकले पनि रेस्टुराँमा गीत गाउने गरेका थिए । त्यहाँ उनीहरूले हिन्दी गीत गाउने गरेको भन्दै सत्यराज विशुद्ध गजल गाउने पहिलो गायक भक्तराज नै भएको दाबी गर्छन् ।

भक्तराजले ०४३ सालदेखि गजल गाउन सुरु गरेका थिए । दरबारमार्गस्थित अमर रेस्टुराँबाट उनले गजल गाउन थालेका थिए । “अरू पनि त्यो समय रेस्टुराँमा गीत नगाउने होइन, गाउनुहुन्थ्यो । अधिकांश हिन्दी गीत गाउनुहुन्थ्यो । तर, रेस्टुराँमा प्रोपर गजल गाउने हाम्रो बुबा (भक्तराज आचार्य) नै पहिलो हो,” केही समयअघि सत्यराजले बाह्रखरीसँग भनेका थिए, “गुलाम अली, जगजीत सिंह, मेहदी हसन, तलत महमुद, पंकज उधास, अनुप जलोटाहरूका विशुद्ध गजल गाउनुहुन्थ्यो ।”

४० को दशकमा काठमाडौंमा गजल साँझ भनेर भारतीय हिन्दी चलचित्रका क्लासिक गीत गाउने गरिएको जानकार बताउँछन् । भक्तराजले भने विशुद्ध गजल गाउने गरेको सत्यराजको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गायक निशान भट्टराईलाई अमर रेस्टुराँमा लैजाने भक्तराज नै हुन् । (०७६ मा काठमाडौंको तीनकुनेमा कार दुर्घटनामा निशानको ज्यान गइसकेको छ ।)

भट्टराई त्यो समय उक्त रेस्टुराँमा गितार बजाउँथे । भट्टराई रेडियो नेपालको जागिर छाडेर सोही रेस्टुराँमा गीत गाउन थालेका थिए । दुर्घटना हुनुभन्दा अगाडिसम्म उनी रेस्टुराँमा गीत गाउँथे ।

“बुबा (भक्तराज)ले पछि होटेल याक एन्ड यतीमा पनि गजल गाउने कुरा भएको थियो । पछि त्यो बीचमै रोकियो,” सत्यराज भन्छन् ।

भक्तराज रेडियो नेपालमा गायन शाखामा काम गर्नुका साथै रेस्टुराँमा गाउँथे, विद्यालयमा पढाउँथे । र, घरमै संगीत सिक्न आउनेलाई सिकाउँथे । भक्तराजलाई भजन शिरोमणि भनेर चिनिन्छ । उनलाई ०५४ सालमा ठिमीको डबली परिवारले भजन शिरोमणि उपाधिबाट सम्मान गरेको थियो ।

०४६ मंसिर १९ गतेदेखि उनी राम्रोसँग बोल्न सक्तैन थिए । उनले बोलेको परिवारले मात्र स्पष्टसँग बुझ्थ्यो । पहिलोपटक भेट्नेलाई उनले बोलेको बुझ्न निकै कठिन हुन्थ्यो ।

जिब्रोमा समस्या देखिएपछि उनी गायनबाट टाढिएका थिए । सोमबार (हिजो) दिउँसो ८१ वर्षको उमेरमा भक्तराजको निधन भयो । आज दिउँसो उनको अन्तिम संस्कार गरिँदै छ । उनका दुई छोरा सत्यराज र स्वरूपराज अहिले सुगम संगीतमा सक्रिय छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्