site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३० वर्षदेखि एउटै दैनिकीमा थिए भक्तराज 
SkywellSkywell

काठमाडौं । गायक भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । बिरामी आचार्यलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा आज दिउँसो बाटोमा निधन भएको हो । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य लामो समयदेखि बिरामी थिए । 

उपचारका लागि आज मेडिसिटी लैजाँदै गर्दा बाटोमा निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । उनका अनुसार लामो समयदेखि उनको उपचार भइरहे पनि डेढ महिना अघिदेखि भने उनलाई रोगले च्यापेको थियो । “अस्पतालमा मात्रै होइन घरमा पनि उहाँको उपचार भइरहेको थियो । घरमै नर्स राखेर उहाँको उपचार भइरहेको थियो,” सापकोटाले भने, “स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज दिउँसो अस्पतालै लैजानेक्रममा बाटैमा निधन भयो ।”  

आचार्यको शव भोलि बिहान अन्तिम श्रद्धान्जलीका लागि ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी रहेको सापकोटाले जानकारी दिए । 

KFC Island Ad
NIC Asia

रेडियो नेपालका जागिरे आचार्य ३० वर्ष अगाडिको दुर्घटनापछि गाउन नसक्ने अवस्थामा पुगेका थिए । जिव्रोमा समस्या देखिएपछि उनको स्वर नबुझिने भएको थियो । स्वरमा समस्या देखिएपछि उनको गायनयात्रा टुंगिएको थियो । त्यसपछि लामो समय उनी गीतसंगीतबाट टाढै रहेका थिए । उनले वर्षौंसम्म गीत समेत सुनेनन् । 

आफ्नो स्वर नफर्किने निश्चित भएपछि उनले बजाउने हार्मोनियम दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई हस्तान्तरण गरेका थिए । सत्य र स्वरुप नेपाली सुगम संगीतका स्थापित गायक हुन् । 

Royal Enfield Island Ad

तीन वर्ष अगाडि बाह्रखरीले भक्तराज आचार्यका बारेमा तयार पारेर प्रकाशित गरेको सामग्री अर्काइभबाट । 

० ० ०

जीवन भनुँ त घात छ, मृत्यु भनुँ त सास छ
दोधारमा बाचुँ कति हर गीतमा चित्कार छ ।

भक्तराज आचार्यको यो गीतको यी दुई हरफको अर्थ आफैंसँग तुलना गर्ने हो भने सायद धेरै हदसम्म मेल खान्छ । किनकि उनले जिन्दगीमा थुप्रै घात अनुभूत गरे । र चित्कारबीच बाँचे । 

हजार सपनाहरूको माया लागेर आउँछ 
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ ।

अनि यो गीतको यी दुई हरफले भनेजस्तै भक्तराज अहिले आफ्ना सपनाहरू सम्झिएर बाँचिरहेका छन् । सपना पूरा गर्दा हृदयमा कैद गरेर राखेका स्वर्णिम क्षणहरूलाई मनमै कल्पिएर बसिरहेका छन् । 

० ० ०

०४६ पछिका केही वर्षदेखि भक्तराज आचार्यले जिब्रोमा खटिरा आएको महसुस गरे । विस्तारै खटिराहरूले फँणा फिजाउँदै गए । बोल्न असहज हुँदै गयो । अस्पतालका ढोकाहरू ढकढक्याउन थाले । तर रोग के हो ? पहिचान भएन । भक्तराज स्वयंले भने क्यान्सरको आशंका गरेका थिए । नेपालमा केही सीप चलेन । र उनी लागे उपचारका लागि दिल्लीतर्फ । नेपालमा चिकित्साशास्त्र हुँदै नभएको त होइन । तर सोचे जस्तो थिएन । सायद आज जस्तै । त्यसको परिणाम के ? जे आज भक्तराज भोगिरहेका छन् । 

भक्तराज आफैंले क्यान्सर पक्कापक्की गरेर उपचारका लागि श्रीमतीलाई लिएर दिल्ली गए । उनले गरेको आशंका सही भयो । तर आफ्नै अनुमान सही हुँदा पनि खुसी हुन सकेनन् । सकुन् पनि कसरी ? कारण त्यसपछिका दिन उनका आँखाअगाडि घुमिरहे । डाक्टरले जिब्रो काट्नुपर्छ भने । बोली बुझिँदैन भने । परिणामः उनी अब गाउन नसक्ने हुने भए । स्वरको खेती गर्ने व्यक्तिसँग स्वर नै स्पष्ट नभएपछिको अवस्था के हुन्छ ? यसको अनुभूत सायद व्यक्ति स्वयंबाहेक अरूले कमैले महसुस गर्न सक्ला । 

नेपालका अस्पताल धाउँदा नै कन्तुर खाली हुँदै गएको थियो । दिल्लीमा अप्रेसन गर्दा थप मोटो रकम चाहिने भयो । नभई’भको छैन । तर आफूसँग छैन । के गर्ने ? 

विसं. २०५० मा सत्यराज आचार्य १६ वर्षका अल्लारे थिए । स्वरूपराज मात्रै १४ वर्षका । बालवय थियो । न उनीहरू बुवाको दर्द महसुस गर्न सक्थे । न त्यो पीडामा मलमपट्टी लगाउन नै सक्षम थिए । 

तर पनि पैसा त जुटाउनु नै थियो । सत्य–स्वरूपका मामा रमेशचन्द्र पाँडे र उनका साथी प्रेम महर्जनले भक्तराजको उपचारार्थ सहयोगका लागि राष्ट्रियसभा गृहमा ‘भक्तराज आचार्य सहयोगार्थ सांस्कृतिक साँझ’ आयोजना गरे । ०५० सालको सुरुवातको समय थियो । “म र स्वरूप पहिलोपटक स्टेज चढेको दिन त्यही हो,” सत्य नोस्टाल्जिक हुन्छन्, “अग्रज दिग्गज कलाकारहरू मञ्चमा हुनुहुन्थ्यो । सानो उमेरका कारण त्यो कार्यक्रममा को–को हुनुहुन्थ्यो त्यो त त्यति धेरै सम्झना आज मलाई छैन । तर नेपाली सांगीतिक क्षेत्रका धेरै कलाकारको उपस्थिति थियो । सन्तोष पन्तले पनि ठूलो सहयोग गर्नुभएको सम्झना छ ।” सन्तोष पन्तलगायत केही हास्य कलाकारहरूले प्रहसन गरेका थिए । 

त्यो साँझमा सत्य र स्वरूपले बुवा (भक्तराज आचार्य) को एक/एकवटा गीत गाए । कुन–कुन गीत ? सम्झनाको तरेलीबाट गीत ओझेल परेकै छैन । सत्यले ‘जति चोट दिन्छौं...’ र स्वरूपले ‘हजार आँखा हेर्ने...’ गीत गाएका थिए । 

त्यो बेला पपगायक दीपक वज्राचार्यको 'लिटलन्स' ब्यान्ड हिट थियो । स्टेजमा त्यही ब्यान्डले ब्याकअप दिएको थियो । आज पनि आचार्य परिवार दीपकप्रति कृतज्ञ छ । 

०५० मा पहिलोपटक सांगीतिक साँझको अनुभव लिए पनि सत्य–स्वरूप पहिलादेखि नै गाउँथे । मात्रै स्टेज चढेका थिएनन् । र गीत रेकर्ड गरेका थिएनन् । त्यो साँझमा उनीहरू दुवैको खुब तारिफ भयो । उपस्थितहरूले भक्तराजले गाउन सक्ने छोरा जन्माएको रहेछ भने । ‘मजाले गाउन त सक्दारहेछन् नि, बुवाको ठाउँमा छोराहरू आउने भए । मिहिनेत गरे भने यिनीहरूको पनि सांगीतिक भविष्य उज्ज्वल छ’ भनेको आज पनि सत्यको कानमा गुनगुनाइरहन्छ । कतिले धाप मारेर आर्शीवाद दिए । कतिले तारिफ गरे । बुवाको गीत गाउँदा दर्शकबाट ताली बजिरहेको थियो । त्यो साँझले उनीहरूमा हौसला त भर्यो नै भक्तराजको उपचारका लागि केही सहयोग रकम जम्मा पनि भयो । 

“त्यही साल (०५०) बाट हो हामी डटेर संगीत कर्ममा लागेको । ०५० असोजमा बुवाको अप्रेसन भयो । गीत गाउन नसक्ने हुनुभयो । र हामीलाई यही क्षेत्रमा डटेर संघर्ष गर्नुपर्छ भन्ने फिल भयो,” सत्य भन्छन्, “०५२ सालमा मैले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेँ । त्यसको दुई वर्षपछि स्वरूपले पनि स्वर परीक्षा उत्तीर्ण गरेपछि हाम्रो सांगीतिक संघर्षका दिन सुरु भएका हुन् ।”

० ० ०

ज्यान त बच्यो । तर आफ्नो समयका उम्दा गायक तथा संगीतकार भजन शिरोमणि भक्तराजसँग जिब्रो भने बाँकी रहेन । अर्थात् अब गायनमा बाध्यात्मक विश्राम लाग्यो । आलो घाउको पीडामा थिए भक्तराज । त्योभन्दा ठूलो पीडा गायन छुटेकामा थियो । बुवाको जिब्रोमा लागेको घाउभन्दा ठूलो मनमा लागेको चोट सत्य–स्वरूपले महसुस गरे र गायनमा आफूहरूलाई समर्पित गर्न थालेका थिए । कारण उनीहरूलाई बुवाले हिँडेको पथ समाएर बुवाको घाउमा लागेको नुनचुक थोरै भए पनि कम गराउनु थियो । 

भक्तराज आफूले देखेको र हिँडिरहेको सपनाको संसारमा राज गरिरहेका बेला अचानक बाटो टुङ्गियो । त्यसको दर्दमा रहेकै बेला समकालीन र समकक्षीहरूले नै भने, ‘अब भक्तराज गाउन त के बोल्न पनि सक्दैन ।’ 

बोल्न सक्दैन भनेको ‘लाटो’ हुनु हो । जबकि भक्तराज बोल्नै नसक्ने होइन स्वर मात्रै नबुझिने अवस्थामा पुगेका थिए । समकालीनहरूले भक्तराज बोल्न सक्दैन भनेर हल्ला फैलाए । सञ्चारमाध्यमहरूले बुझ्दै नबुझी त्यही हल्लाका भरमा ठुल्ठूला हेडलाइन बनाएर समाचार लेखे । यसमा भक्तराजले चित्त दुखाए । २७ वर्ष भयो । आफ्नो उँचो कद गिर्ने गरी समाचार आएका । तर उनले अझै पनि बिर्सिएका छैनन् । 

“बुवाले बोल्नै नसक्ने कहाँ हो र ? स्पष्ट नबुझिने मात्रै त हो । अहिले पनि १५ मिनेट कुरा गर्ने हो भने भक्तराजले बोलेको जोकोहीले बुझ्छ । आज पनि बुवा आलाप लिन सक्नुहुन्छ । तर बुझ्दै नबुझी गरिएका कुरा र आएका समाचारप्रति बुवाको अझै पनि असन्तुष्टि छ,” सत्य स्पष्ट पार्छन् । 

भक्तराज गीत–संगीतका उस्ताद थिए । तर एक्कासि परेको वज्रपातले अवस्था पुरानै रहेन । त्यही बाटोमा हिँड्न खोज्दै गरेका उनकै छोराहरूले बुवा म यस्तो गीत वा संगीत गर्दै छु कस्तो हुन्छ, राम्रो छ कि छैन ? भनेर पनि सोध्न सकेनन् । 

कारण ? संसार गुमाएर एक्लो भएर बसेका बेला त्यही विषयलाई कोट्याउन जाँदा आलो घाउमा नुनचुक छरे जस्तो हुन्छ भन्ने सत्य–स्वरूपले महसुस गरे । र कहिल्यै चलाएनन् । बरु आफ्नै सुरमा हिँडिरहे । 

“उचाइको माथिल्लो तहमा पुगेको व्यक्तिले जिब्रो नै गुमाएर गायनबाटै अलग हुनुपरेपछि त्यस विषयमा कुरा गर्दा के राम्रो लाग्ला र ? भन्ने लाग्यो । उहाँले हार्मोनियम लैजाओ भनेर आफ्नो कोठाबाट निकालेर हामीलाई दिनुभयो,” स्वरूप भन्छन्, “गाउने व्यक्तिले गाउनै नपाएपछि बाजा मात्रै बजाएर कहाँ चित्त बुझाउन सक्छ र ?”

त्यो बेला त स्वरूप सानै थिए । अन्तर्य के हो केलाउन उमेर सानै थियो । तर पछि स्वरूपले महसुस गरे, “एउटा अब म गाउन सक्दिनँ यो हार्मोनियमको काम छैन भन्ने आशय थियो होला । अर्को अब मैले हिँडेको बाटो तिमीहरू पनि हिँड र मेरा अधुरा सपना तिमीहरूले पूरा गर्नुपर्छ भन्ने हुनसक्छ । जुन कुरा सीधै नभनेर प्रतिकात्मक रूपमा भनेको हुनुपर्छ ।”

हार्मोनियम भक्तराजको प्रिय बाजा । अरूले जस्तो जोपायो त्यसैलाई बजाउन दिँदैन थिए । हरेकपटक हार्मोनियम खोल्दा हात धोएर मात्रै खोल्थे । नगरुन् पनि किन ? जसले उनलाई नाम, दाम र इज्जत दियो । 

साधना गर्नुपर्ने थियो आफूलाई सुर साधक बनाउन । तर हार्मोनियमको धुन सुन्दा पनि बुवालाई नराम्रो लाग्ला कि भनेर सत्य–स्वरूप घरमा हार्मोनियम बजाउँदैन थिए । रियाज गर्दैन थिए । बाहिरबाहिर गएर रियाज गर्थे र हार्मोनियम बजाउँथे । यद्यपि भक्तराजले कहिल्यै घरमा हार्मोनियम नबजोस् र रियाजको स्वर सुन्न नपरोस् भनेका थिएनन् । मात्रै छोराहरूले उनको आँखा पढेर थप नगिजोलौं भनेर बुझिदिएका थिए । 

० ० ०

घरमा रियाजको स्वर सुनिन छाड्यो । हार्मोनियमको धुन गुञ्जिन छाड्यो । रेडियोको भोल्युम बन्द भयो । घरको वातावरण यसरी बदलियो, मन्दिरको घण्टको आवाज पनि संगीतको एउटा सुरसरह हो भनेर बज्न छाड्यो । घर शून्यतामा परिणत भयो । करिब १० वर्ष भक्तराजको घरमा हार्मोनियमको धुन सुनिएन । 

बुवाको बिँडो थाम्न सकिन्छ कि सकिँदैन ? थाहा थिएन । तर सत्य–स्वरूप अनवरत प्रयासरत रहे । कसैले रेकर्ड गराउन बोलाउला कि भन्ने फोनको पर्खाइमा बस्न थाले । रेडियो नेपालका प्रतियोगितामा भाग लिन थाले । कति कम्पोजर र गीतकारकोमा पुगे । त्यो बेलाका तीतामीठा अनुुभवको पोको सत्य–स्वरूपको हृदयभरी आज पनि टम्म छ ।

सानैबाट सत्य–स्वरूप म्युजिकल थिए । भक्तराजले कहिल्यै पनि उनीहरूलाई गायनमा लाग वा नलाग निर्देश गरेनन् । तर सानोमा सोधेको कुरा भने भन्दिन्थे । तालको टाइमिङ र १२ सुर भने सानैमा भ    क्तराजले छोराहरूलाई सिकाएका थिए ।

भक्तराजको स्वाभाव हकी । सत्य–स्वरूप अहिले पनि ठाडो शिर गरेर सवाल–जवाफ गर्न सक्दैनन् । भक्तराज थोरै बोल्छन्, के हो त्यो चाहिने मात्रै कुरा गर्छन् । त्यसैले दोहोरो बात गर्न अझै पनि उनीहरूलाई धक लाग्छ । 

बिस्तारै सत्य–स्वरूपले गीतमै भविष्य खोज्न थालेको भक्तराजले थाहा पाए । सांगीतिक क्षेत्रमा नलाग भनेनन् । तर उनले सांगीतिक क्षेत्रको प्रवृत्तिबारे भने सुनाए । उनको उद्देश्य थियो–यो प्रवृत्तिप्रति सधैं सचेत रहनू । मानसिक रूपमा तयार हुनू । 

कस्तो प्रवृत्ति ?

भक्तराज पिकमा थिए । रेडियोमा जागिर थियो । स्कुलमा संगीत पढाउँथे । गायनमा दौडधुप थियो । उनीसँग भेट्न पनि महिनौं कुर्नुपर्ने समय थियो । त्यही समय जिन्दगी १८० डिग्रीमा परिणत भयो । गाउने जिब्रै रहेन । बोली बुझिन छाड्यो । तरल पदार्थ मात्रै खाएर जीवन बचाउनुपर्ने भयो । 

शरीरको घाऊभन्दा मनको घाउले पोलिरहेको थियो । भक्तराजलाई त्योबेला सान्त्वनाका शब्दहरूको खाँचो थियो । साथी र समकालीनहरूको साथको आवश्यकता थियो । तर विडम्बना भक्तराजसँग कुम जोडेर हिँड्नेहरूले थाहा नपाए झैं गरे । सधैँ अघिपछि लागेर हिँड्नेहरू कस्तो छ भनेर एकवचन सोध्न आएनन् । प्रशंसा गरेर नथाक्नेहरूले नजरअन्दाज गरेर हिँडे । रेडियो नेपालकै स्टाफ भेट्न आएनन् । यसले भक्तराजको मन रोयो । दिल दुख्यो । “बुवाले यो कुरामा अहिले पनि चित्त दुखाउनु हुन्छ । बुवा कामको लायक रहनु भएन । गाउन र कम्पोज गर्न नसक्ने हुनुभयो । त्यसपछि दैनिक हाम्रो घरमा आउनेहरू एकपटक पनि फर्किएर आएनन् । यसमा बुवाको सधैँ चित्त दुखाइ रह्यो,” सत्यराज भन्छन्, “यो कारणले संगीतप्रति बुवाको मोह रहेन । र यही प्रवृत्ति रहेको क्षेत्रमा छोरोहरू पनि लाग्दै छन् भन्ने थाहा हुँदा यो क्षेत्र नै छोड त भन्नुभएन तर उहाँको आँखामा त्यो भाव भने देखिन्थ्यो । छोराहरू गायक हुँदै छन् भन्ने खुसी एकातिर बुवाको आँखामा देखिन्थ्यो भने अर्कोतर्फ बलेको आगो ताप्ने कुरितिबाट कसरी बच्छन् भन्ने चिन्ता संयुक्त रूपमा देखिन्थ्यो ।”

पर्दा कसैले नहेर्ने, सहयोगी भावनाको आभाव भएको क्षेत्र हो यो भन्ने अप्रत्यक्ष रूपमा उनी भनिरहन्थे । 

हिजो कुम जोडेर हिँड्नेहरू बोलाउन आएको भए के बिग्रिन्थ्यो ? सान्त्वना मात्रैले पनि बुवाको मुहारमा हाँसो र हौसला थपिन्थ्यो । हिजो बुवालाई भेट्न आउनेहरू आज कहाँ गए ? भक्तराजले सीधै नभने पनि मतलवी दुनियाँमा आज बुवाको यो हालत छ, भोलि हामीलाई पनि यस्तै पो हुने हो कि भन्ने सत्य–स्वरूपलाई लागिरहन्थ्यो । 

तर, त्यसलाई नजरअन्दाज गरेर उनीहरूले संघर्ष गरिरहे । गीत–संगीतमा डुबेका भक्तराज बाहिर आउन बाध्य भए । छोराहरू त्यसमै लीन हुन थाले ।

० ० ०

भक्तराज आफैं उत्साही भएर छोराहरूलाई न सानो छँदा सिकाए न ०५० पछि नै । तर सत्य–स्वरूपले कम्पोज गर्दै गर्दा मेलोडीले तान्यो भने तानिएर आउँछन् । सुन्छन् र अझ राम्रो गर्न सक्ने ठाउँमा यसो गर भन्दिछन् । तर हम्मेसी उनी तानिँदैनन् । 

सत्यको ‘तिम्रो नशालु आँखाले मार्‍यो’ को मेलोडीले भक्तराजलाई तान्यो । मेलोडीले तानेपछि यो गजलको अन्तरा नै भक्तराजले बनाइदिए । यो सुर यहाँ गएर बस्छ, यो नोट होइन, यहाँ यो नोट लाग्छ भन्छन् । तर यसका लागि उनलाई मुड चाहिन्छ । 

आफ्ना कम्पोजिसनहरू सत्य–स्वरूप कहिलेकाहीँ कस्तो छ ? बुवालाई सोध्छन् । तर मुड हेरेर । उनलाई मुड छैन भने मलाई फुर्सद छैन भन्छन् । “हरेक कम्पोज सुनाउन मन लाग्छ । तर आफूलाई चित्त बुझेको कम्पोज मात्रै सुनाउने आँट आउँछ । हामीले व्यावसायिक रूपमा काम गर्दा कति आफूलाई चित्त नबुझ्दा नबुझ्दै सम्झौता गरेर गाउनुपर्छ । त्यसैले उहाँलाई सबै गीत सुनाउन आँटै आउँदैन,” सत्य भन्छन्, “जिब्रो नभएकाले थुक कन्ट्रोल हुँदैन । युरिनमा पनि कन्ट्रोल छैन । त्यसैले आफूलाई असहज भएको अवस्थामा मलाई दुःख नदेन है भन्नुहुन्छ । त्यसैले बुवाको स्वास्थ्य अवस्थाका कारण हामी आफैं बुझेर पनि सबै कम्पोज सुनाउँदैनौं ।”

द्विविधा भएको ठाउँमा अहिले पनि मुड हेरेर सत्य–स्वरूप बेलाबेला बुवा मलाई यहाँ द्विविधा भयो हार्मोनियम लिएर आउँ भनेर भक्तराजको कोठामा पस्छन् । कम्पोज र शब्द दुवै मिलाइदिन्छन् । मन लागेन भने उनकै अगाडि गाए पनि वास्तै गर्दैनन् । आफ्नै काम गरिरहन्छन् । 

‘मधुशाला’ एल्बम आफ्नै कम्पोज र शब्दमा सत्यले तयार पारे । त्यसका सबै गजल उनले भक्तराजलाई सुनाए । यसका आठवटै गीतमा भक्तराज सिग्नेचर ट्युन अनुभूत गर्न पाइन्छ । कारण उनले आठवटै गजल चलाएका छन् । 

स्वरूपको ‘मनमोहिनी’मा पनि भक्तराजले ट्युन छ । यसमा पनि भक्तराजले शब्दसँगै सुर, नोट र ताल सच्याइदिएका छन् । 

‘आज एउटा खाम देखेँ, त्यहाँ तिम्रो नाम लेखेँ’ गजलबाट सत्यले बुवाको आर्शीवाद पाए । ‘मधुशाला’का आठवटै गीत भक्तराजले मन पराए । तर सत्यले यसमध्ये पनि हजुरलाई कुन गीत मनपर्छ भनेर सोधे । जवाफमा भक्तराजले भने– आज एउटा खाम देखेँ...। 

गीत गाउन छोडेको तीन दशक भयो । तर के भयो त ? उनका गीत÷कम्पोज अहिले पनि दिनकै दर्जनौंपटक रेडियो टेलिभिजनबाट बजेकै छन् । उनको स्वर र संगीतको प्रशंसा गरेर नथाक्ने संगीतप्रेमीहरू बढेकै छन् । 

तर आफ्नै गीत भक्तराज सुन्दैनन् । ०५० यता सत्य–स्वरूपले आजसम्म भक्तराजले सुनेको चाल पाएका छैनन् । न आफ्नो सुन्छन्, न अरूको । सत्य–स्वरूपले कहिलेकाहीँ आफ्नो गीत कस्तो छ सुनिदिनुस् न भनेको बाहेक अरू गीत भक्तराजले सुनेका छैनन् । आक्कल–झुक्कल श्रीमतीले हेर्दै गरेको इन्डियन आइडल वा म्युजिकल रियालिटी शो मुस्किलले ५ मिनेट हेर्नु अलग पाटो । तर त्यसबाहेक भक्तराज न गीत सुन्छन् न पत्रपत्रिका नै पढ्छन् । घरको काम गर्छन् र समय भए सुत्छन् । 

“सायद गाउन नपाउँदाको फ्रस्टेसनले होला गीत सुन्न छाड्नुभएको,” सत्य भन्छन्, “पत्रपत्रिका नपढ्नुको कारण फेक न्युज नै हो । आफ्नैबारे आएका गलत समाचारपछि बुवाले पत्रपत्रिका पढ्नै छोड्दिनुभयो ।”

०४६ मा बौद्धमा भक्तराजमाथि सांघातिक आक्रमण भयो । उनको टाउकोमा चोट लाग्यो । त्यो घटनामा पत्रपत्रिकाले भक्तराजले रक्सी खाएर झगडा गरेका कारण उनीमाथि हमला भयो भनेर समाचार लेखे । भक्तराज आज पनि भन्छन्, “समाचार लेख्ने पत्रकार घटना हुँदा त्यहाँ थिए ? थिएनन् भने समाचार लेख्दा त्यहाँ के भएको हो मलाई सोध्नु पर्दैन ? यतिकै समाचार लेखेर अरूमाथि निराधार आरोप लगाउन पाइन्छ ?”

भक्तराज आफैं गीत सुन्दैनन् । सत्य–स्वरूप उस्ताद रासिद खान, हरिहरण, गुलाम अली, कौशिकी, शंकर महादेवनहरूका गीत र गजल जुन उनीहरूलाई मन पर्छ । लगेर बुवा यो सुन्नुस् न राम्रो छ भनेर सुनाइदिन्छन् । राम्रो रछ भनेर तारिफ गर्छन् । 

स्वास्थ्यले साथ दिएन । भक्तराज रेडियो नेपाल दैनिक जान नसक्ने भए । जिन्दगीको ऊर्जाशील समय बिताएको रेडियो । सयौं गीत गाएको रेडियोले महिनाको एकदिन हाजिर गर्ने व्यवस्था मिलाइदियो । भलै ०६१ मा वैशाखदेखि दिनकै आउनुपर्छ भन्ने षड्यन्त्र भयो । जुन सम्भवै थिएन । ६ महिनाको तलब आएन । पछि अनिवार्य अवकाशका लागि एक वर्ष चार महिना बाँकी हुँदा उनले राजीनामा दिए । अहिले पेन्सन आउँछ भक्तराजको । 

० ० ० 

केही असल साथीभाइहरू भने अहिले भक्तराजलाई भेट्न आइरहन्छन् । जस्तै गीतकार वीरेन्द्र पाठक, द्वारिकानाथ खनाल, रवि प्राञ्जल, मनमोहन थपलिया बेलाबेला उनलाई भेट्न आउँछन् । भारतीय शाही भजनका अब्बल गायक रविराज नेपाल आएर भक्तराजलाई भेटे । उनका गीत गाए । तर आफ्नै समकालीन साथीभाइहरू, नाचघर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कतैबाट कोही आएनन् । बरु पछिल्लो पुस्ता माया गरेर भेट्न आउँछ । त्यो बेला भक्तराज उत्साही भएर बस्छन् । गफ गर्छन् । थुक कन्ट्रोल नहुने भएकाले एकछिन सफा भएर आउँछु भन्छन् । तर खुसीले बोल्छन् । पुराना कुरा गरेर नोस्टाल्जिक हुन्छन् । सायद पुराना कुराहरू गर्दा कति व्यक्तिगत कुराहरू होलान् भनेर छोराहरू एक्लै छाडिदिन्छन् । त्यो दिन भक्तराजको चेहरामा बेग्लै कान्ति देखिन्छ । 

भक्तराजलाई भेट्न आउनेहरूलाई अक्सर उनी सुझाउँछन्– सुर ज्ञान लिनुपर्छ । शब्द उच्चारण राम्रो हुनुपर्छ । ‘स’ एउटै हुनुपर्छ भन्ने संशोधनमा उनी विरोध गर्छन् । कालजयी गीत गाउनुपर्छ । संगीतमा डुब्न आउनुपर्छ डुबाउन होइन भन्ने उनी सुझाव दिन्छन् । 

० ० ०

स्वरले साथ दिएन । उमेर पाको हुँदै गयो । शारीरिक अवस्थाले बाहिर हम्मेसी निस्किँदैनन् । तर घरको काम अहिले पनि भक्तराज आफैं गर्छन् । फूल गोडमेल गर्छन् । झार उखेल्छन् । रङ आफैं लगाउँछन् । आँगन र छतको लेउ खुर्किन्छन् । प्लास्टर फुटे आफैं प्लास्टर गर्छन् । सबै सरसफाइ आफैं गर्छन् । इन्जिनियर नलगाई आफू बसेको घर उनी आफैंले डिजाइन गरेका हुन् । सायद आफ्नै पसिना र मिहिनेतले बनाएकाले पनि होला कुचो लगाउनेदेखि फोहोर फाल्नेसम्म आफैं गर्छन् । दिनभर आफूलाई व्यस्त राख्छन् । 

० ० ०

भक्तराज बिहान ७ बजे उठ्छन् । नित्यकर्म गर्छन् । थुक कन्ट्रोल हुँदैन । दाँत छोइनन् । त्यसैलै ब्रस गर्न मिल्दैन । हातले नै सफा गर्नुपर्छ । यति गर्न उनलाई लामै समय लाग्छ । सफासुग्घर रहनुपर्ने उनको बानी नै हो । हात धोइरहन्छन् । पङ्चुअल छन् । जुन समयमा जे गर्ने त्यही गर्छन् । अल्छी कहिल्यै गर्दैनन् । 

कुनै पत्रकारले यो समयमा आउँछु भनेपछि उनी ठीक त्यही समयमा तयार भएर बस्थे । तर समयमा विरलै पत्रकार आउँथे । हार्न नसकेर कष्टले अन्तर्वार्ता दिन्थे । प्रकाशन तथा प्रशारण भएपछि म पत्रिका वा क्यासेट लिएर आउँछु है भनेर गएको पत्रकारले खबरै गर्दैनन् । पत्रकारको यो स्वाभाव उनलाई फिटिक्कै मन पर्दैन । 

“सबै आउँछन् । आफ्नो दुनो सोझ्याउँछन् जान्छन् । घरमै पत्रिका पुर्याउन आउनु पर्दैन । तर तपाईंको अन्तर्वार्ता वा समाचार आज प्रकाशित भयो वा प्रशारण हुँदै छ भन्न त सकिन्छ नि हामी आफैं गएर ल्याउँछौं । अर्काइभ गर्छौं भन्नुहुन्छ,” सत्य भन्छन्, “यस्तै कारणले अहिले बुवा पत्रकार भनेपछि सीधै नो भन्नुहुन्छ ।”

पत्रकार नरुचाउनुको अर्को कारण पनि छ भक्तराजसँग । १५ वर्षअगाडि ल्यान्ड लाइनमा फोन गरेर एकजना पत्रकार भक्तराजको घरमा आए । सत्य–स्वरूप दुवै थिएनन् । भक्तराज एकछिन है भनेर बाथरुम गए । आउँदा ती पत्रकार थिएनन् । पत्रकार मात्रै होइन त्यहाँ उनले जीवनभर कलेक्सन गरेर राखेको तस्बिरहरूको संगालो फोटो एल्बम र गजलहरू लेखेर संग्रह गरेको मोटो डायरी पनि थिएन । त्यो घटनापछि उनलाई पत्रकारप्रति झन दूरी बढाए । 

“यो घटनापछि बुवा पत्रकार भनेपछि सीधै नो भन्नुहुन्छ । तँ आफैं भन्दे भन्नुहुन्छ,” सत्य भन्छन्, “त्यो फोटो एल्बममा नारायण गोपाललगायत थुप्रै त्यो बेलाका समकालीन तथा अग्रजहरूसँगका फोटाहरू थिए । ती सबै तस्बिरहरू हराएपछि हामीसँग बुवाका तस्बिरहरू पनि छैनन् ।”

यी र यस्तै कारणले भक्तराज अहिले पत्रकारसँग तर्किन्छन् । फोटो खिच्न पनि रुचाउँदैनन् । 

० ० ० 

जिब्रो नभएकाले बसेर खान मिल्दैन । त्यसैले उनी पानी पनि सुतेर पिउँछन् । ११ बजेपछि गाईको दूध पिउँछन् । साह्रो कुरा खान हुँदैन । त्यसैले खिर पकाएर मिक्सर ग्राइन्डरमा हालेर पातलो बनाएर खुवाउनुपर्छ । दिउँसो २ बजे पाउरोटी र दूध मिक्सर ग्राइन्डरमा हालेर तरल बनाएर पिउँछन् । साँझ ५ बजे जाउलो पनि खिरजस्तै पातलो बनाएर पिउँछन् ।

दिउँसो काम छ भने गर्छन् हैन भने ओछ्यानमा पल्टिरहन्छन् । साँझ उनलाई युरिनले निकै समस्या दिन्छ । राति ११–१२ बजे मात्रै सुत्छन् । पिसाब कन्ट्रोल नहुने भएकाले राति पटकपटक उठिरहन्छन् । ०५० सालदेखिको दैनिकी हो यो भक्तराजको । 

० ० ०

स्वरूपलाई अपेक्षा त छैन तर भक्तराजले अझै पनि केही कम्पोजहरू गरिदिए हुन्थ्यो भन्ने लोभ लाग्छ । उनको निष्क्रियतासँगै उनको सिग्नेचरका कम्पोजको नेपाली संगीतमा खडेरी लाग्यो । भक्तराजले जुन रागमा भजन गाएका थिए, त्यस्ता भजनको अभाव खड्कियो । 

“पहिला नै स्टक रहेको आगोको राप र पछि भक्तराजले चलचित्र आचार्यका लागि कम्पोज गरेको पर्खपर्ख... बोलका गीतको कम्पोज कति सशक्त छ आज पनि संगीतको ज्ञान भएका व्यक्तिले बुझ्नुहुन्छ । जबकि पर्खपर्ख...मा उहाँले हामीलाई अगाडि बसेर यो नोट, सुर र तालमा काम गर भनेर भन्नुभएको मात्रै हो । यी गीत हामीले गाएका गीत मध्येकै उत्कृष्ट हुन्,” स्वरूप भन्छन्, “हामीले आफ्ना एल्बममा बुवालाई देखाएका गीतमा जति नै उहाँको सिग्नेचर ट्युन खोजे पनि १०–१५ प्रतिशत मात्रै हुने हो । तर कम्तिमा उहाँको ८०–८५ प्रतिशत ट्युन आयो भने त्यो नेपाली संगीतकै लागि फाइदा हो ।”

तर सबै अपेक्षा कहाँ पूरा हुन्छन् र ? देखेका सपनाहरू पूरा हुन्छन् र हुनैपर्छ भन्ने कहाँ छन् र ? सायद हुँदैनन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:२६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro