काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार बिहान २६ दिनकी बालिका चोरी भयो । चेकजाँच गराउन अस्पताल आएको मौका पारेर वार्डमै पुगेकी एक अपरिचितले ‘आमासँग रहेकी’ बालिकालाई एकैछिन समातिदिन्छु भनेर चोरी गरेकी थिइन् ।
त्यसपछि उनी उक्त बच्चा लिएर अस्पतालबाट बाहिरिइन् । प्रहरीसम्म बच्चा हराएको खबर पुग्यो । प्रहरीले तत्कालै अस्पताल, अस्पताल क्षेत्रमा रहेको सीसीटीभी फुटेज अवलोकन ग¥यो ।
अस्पतालको क्यामेरा चेक गर्दा गेटबाट बाहिरिएको देखियो । त्यसपछि थापाथलीबाट उनी ट्याक्सीमा भक्तपुरतर्फ लागेको देखियो । ट्याक्सी नम्बर लिएर प्रहरीले खोजी गर्दै जाँदा उनी रहेको कोठाको लोकेसन भेटियो ।
त्यसपछि प्रहरीले बच्चा चोरी गरेर लैजाने महिलालाई पक्राउ गर्न सफल भयो ।
–गएको २९ भदौमा तीनकुनेस्थित दिव्य सः मिलमा एकै परिवारका तीनसहित चारजनाको सामूहिक हत्या भयो । सिन्धुपाल्चोक बाह्रबिसेका बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले उनीहरूको हत्या गरेको अभियोग लागेको छ ।
मिलमा मजदुरीका रुपमा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीय अम्बिका भुजेल र कुमारकी आमा ७६ वर्षीय शुभद्रा भुजेल र भोजपुरका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।
उनीहरु चारजनाकै खुकुरी प्रहार गरी हत्या गरिएको थियो । काठमाडौंकै मध्यक्षेत्रमा भएको उक्त सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीलाई चुनौती थपियो । सामान्य मजदुरी गर्ने भुजेल परिवारको दुस्मनी कोही पनि थिएनन् ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थाल्यो । तर, कुनै महत्वपूर्ण ‘क्लुु’ फेला पार्न सकेन । प्रहरीले घटनास्थल नजिक जोडिएका सीसीक्यामरामार्फत शंकास्पद व्यक्तिको खोजी थाल्यो ।
काठमाडौं प्रहरी परिसरको विशेष टोलीले सःमिलको पूर्वीतर्फको गेटबाट एउटा शंकास्पद युवाभित्र छिरेको फुटेज सीसीटीभीबाट फेला पार्यो । त्यही सीसीटिभी फुटेजबाट फेला पारेको शंकास्पद व्यक्तिको हुलिया खोज्न प्रहरीले थप कोटेश्वरतर्फको सीसीटिभीको फुटेज केलायो ।
सःमिलको गेटबाट भित्र छिर्दा देखिएको शंकास्पद युवा कोटेश्वर पुगेर ट्याम्पोमा चढेर जडिबुटीतर्फको बाटो गएको त्यहाँको सीसीटीभी फुटेजमा देखियो ।
त्यही फुटेजबाट अनुसन्धान थालेको प्रहरीले अन्ततः घटनामा सञ्जय भण्डारीको संलग्नता खुलाएको हो । भण्डारीले हत्या स्वीकार गर्दै मृतक विशालले वैशाखमा आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यही रिसइबीका कारण हत्या गरेको बयान दिएका थिए ।
हाल सञ्जय पुर्पक्षका लाथि थुनामा छन् । उनलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरभित्र राखिएको छ । यो एक प्रतिनिधिमूलक घटनामात्रै हो । पछिल्लो समय उपत्यकामा हुने अपराधका घटनाको अनुसन्धान प्रहरीले सीसीटीभी फुटेजमार्फत् नै गर्न थालेको छ ।
अर्थात् सीसीटीभी फुटेज प्रहरीका लागि अनुसन्धान गर्ने महत्वपूर्ण ‘टूल्स’ सावित भएको छ । अपराध अनुसन्धानबाहेक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा संलग्नलाई पहिचान तथा कारबाही गर्न सीसीटीभीकै भर पर्नुपरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल प्रहरीका लागि सीसीटीभी सहयोगी ‘टूल्स’ भएको बताउँछन् । उनका अनुसार, सीसीटीभी मनिटरिङ कक्षबाट दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै जुलुस, सभा र सम्मेलनमा तथा हुलदङ्गा गर्ने समूहलाई निगरानी गर्नेसम्मका काम सीसीटिभीमार्फत हुने गरेको छ ।
प्रहरीले उपत्यकाबाहेक आर्थिक वर्षको सात महिनामा मात्रै देशभर एक हजार २९५ वटा सीसीटीभी जडान गरेको छ । तीमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई सय ६१ क्यामेरा जडान भएका छन् । हालसम्म देशभर प्रहरीले मनिटर गर्ने सीसीटीभीको संख्या १३ हजार ६७५ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै तीन हजार ९९३ वटा सीसीटीभी जडान भएको छ ।
घरदेखि पसलसम्म सीसीक्यामेराको निगरानी
प्रहरीबाहेक पछिल्लो सयम आफ्नो घरदेखि पसलको सुरक्षा निगरानीका लागि उपत्यकाका घर–घरदेखि पसल–पसलसम्मै व्यक्तिगत रुपमा पनि सीसीटीभी जडान गर्ने चलन तीब्र छ । जसका कारण प्रहरीलाई अनुसन्धान गर्न समेत थप बल पुगेको छ ।
तर, पछिल्लो समय सीसीक्यामेरा जडान र त्यसको उचित अनुगमन नहुँदा दुरुपयोगका घटनासमेत बढ्दै गएको छ । आपराधिक गतिविधिमा संलग्न आरोपीहरुको पहिचान प्रहरीले अनुसन्धान गर्नुअघि नै सार्वजनिक हुँदा आरोपी भाग्ने क्रम बढेको हो ।
केही समयअघि काठमाडौंको जोरपाटीस्थित बुद्धराम सुनारको भीमेश्वर सुनचाँदी पसलमा चार जनाको समूहले दिउँसै सुनारलाई खुकुरी देखाउँदै उनको सुनचाँदी पसल लुटेका थिए । उनीहरुले सीसीटीभी फुटेज सुनारले सामाजिक सञ्जालमार्फत आफैँले सार्वजनिक गर्दा प्रहरीलाई पक्राउ गर्न हम्मेहम्मे परेको थियो ।
त्यसबाहेक सुरक्षाका हिसाबले जोडिएका सीसी क्यामेराका कारण कतिपय मानिसको गोप्य तस्बिर समेत सार्वजनिक हुने खतरा बढ्दै गएको प्रहरीले समेत स्वीकार गरेको छ । सीसी क्यामेराजस्ता प्रविधिको गलत प्रयोग गरे अपराध नियन्त्रण हुनुभन्दा अपराध निम्तिने खतरा पनि बढ्ने प्रहरीकै भनाइ छ ।
के छ, सीसी क्योमेरा जडानको कार्यविधि ?
सीसीक्यामेरा जडान र सञ्चालनबारे व्यवस्थित गर्न गृह मन्त्रलायले छुट्टै कार्यविधि बनाएको छ । तर, कार्यान्वयनको पाटो भने शून्य छ ।
गृह मन्त्रालयले २०७२ मा बनाएको कार्यविधि अनुसार सीसी क्यामेरालाई सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने, व्यापारिक प्रयोजनका लागि प्रयोग हुने र निजी प्रयोजनका लागि प्रयोग गर्न पाइने गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
सीसीक्यामेराको सञ्चालनबारे बनेको कार्यविधिमा जडान गरेको १५ दिनभित्र नजिकको प्रहरी कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रूपमा लिखित जानकारी दिनुपर्ने व्यवस्थासमेत छ । त्यसबाहेक सीसीक्यामेराबाट कैद भएका दृश्य गोप्य राख्नुपर्ने, भीभीआईपी तथा भीआईपी व्यक्ति सार्वजनिक हुने गरी सीसीक्यामेरा जडान वा प्रयोग गर्न नहुने भनिएको छ ।
त्यस्तै शौचालय, चेन्जिङ रुम, होटलको बेड रुम, कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रतामा असर नपर्ने गरी मात्र सीसी क्यामेरा जोड्नुपर्ने र सीसी क्यामेराले खिचेका दृश्यहरु कम्तीमा ३ महिनासम्म सुरक्षित राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
के कारबाही हुन्छ कार्यविधि पालना नगरे ?
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भने कार्यविधिअनुरुप कुनै पनि निजी व्यक्तिले सीसीक्यामेरा जोड्नेबारे निवेदन नदिएको जानकारी दिए । “कार्यविधि अनुसार कसैले पनि जडान गर्न निवेदन दिएका छैनन् । तर, सीसीटिभीको उपयोगिता देखेपछि अझ यसलाई राज्यले नै थप जडान गरेर लैजानपर्ने देखियो,” जिल्ला अधिकारी बस्नेतले भने ।
कार्यविधि अनुसार, दर्ताका लागि निवेदन नदिएपनि सीसीटीभीमार्फत खिँचिएका फोटो भिडियो व्यक्तिको गोपनियताविरुद्ध खिचिएको भेटिए भने कारबाहीको दायरामा ल्याइने बताए ।
बस्नेत थप्छन्, “निजी रुपमा प्रयोग भएका क्यामेराले पनि अपराधका घटनामा अनुसन्धान गर्न सहज नै भएका छन् । त्यसैकारणले हामीले दर्ता प्रक्रियामा कडाइ नगरिएको हो । तर, गोपनियताविरुद्धको कार्य देखियो भने कारवाही त हुन्छ ।”
सीसीक्यामेरा जडान गरेको १५ दिनसम्म पनि प्रशासनलाई जानकारी नदिने वा सीसी क्यामेरा जडानसम्बन्धी बनेको कार्यविधिमा तोकिएका सर्त पालना गर्नुपर्ने कार्यविधिमै उल्लेख छ । सीसी क्यामेरा जडान गरिएको बारेमा प्रहरीले आकस्मिक अनुगमन गर्न पाउने र कार्यविधिविपरीत सीसीक्यामेरा जडान गरिएको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही गर्ने व्यवस्या कार्यविधिले तोकेको छ ।