site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सुन्दरका कथा र नेपाली सिनेमालाई विदेश देखाउने ‘खांग्री’
Sarbottam CementSarbottam Cement

सुन्दर (जोशी) कथा लेखिरहेका थिए । पत्रपत्रिकाले छापिरहेका थिए । सायद पाठकले पढिरहेका थिए । त्यसैले त थोरबहुत उनी नोटिस हुन थालेका थिए । कथाकार भनेर केहीले सुन्दरलाई चिन्न थालेका थिए ।

फोटोग्राफीमा पनि रुचि भएका सुन्दर स्कुले जीवनमा गाइडको काम गर्थे । त्यसैक्रममा हिमाली क्षेत्र पुग्दा कैद गरेका तस्बिर धुलाउन उनी एक दिन न्युरोडको दमकल चोकनजिकै एउटा फोटो स्टुडियोमा पुगे ।

फोटो स्टुडियोको मान्छेले रसिदमा नाम लेख्नलाई सोध्यो– तपाईंको नाम ? 

Prabhu Bank
Agni Group
NIC Asia

‘सुन्दर जोशी ।’ 

सुन्दरतिर हेर्दै उसले सोध्यो– त्यो कथा लेख्ने सुन्दर जोशी तपाईं नै हो ? 

Global Ime bank

‘हो ।’ 

सुन्दरसँग उनले भने– तपाईंसँग केही समय छ ? 

‘भन्नुस् न ।’ 

‘केही दिनअगाडि मात्रै घटेको एकदमै मार्मिक घटना छ, त्यो सुन्नुहुन्छ ?’

‘कस्तो घटना, भन्नुस् न ।’ 

‘म फोटो खिच्न विभिन्न ठाउँमा जान्छु । कालीमाटीतिर पनि गइरहेको हुन्छु । त्यहीक्रममा मैले यो घटना सुनेको हुँ– दक्षिणकालीतिरका मान्छे दाउरा बेच्न कालीमाटीतिर आउँछन् । र, त्यही पैसाले उनीहरू साँझ–बिहानको छाक टार्छन् । त्यसरी दाउरा बेच्न आउनेमध्ये एकजनालाई प्रहरीले के कारणले हो पक्राउ गरेछ । उसलाई प्रहरीले समातेर थुन्यो । त्यो मान्छेले प्रहरीलाई ‘मेरो घरमा दुईजना स–साना छोराछोरी मात्रै छन्, श्रीमती मरिसकिन्, घरभित्र थुनेर बाहिरबाट साँचो लगाएर आएको छु, मलाई छोड्दिनुस्, मेरा केटाकेटीको बिल्लीबाठ हुन्छ’ भनेर हजार अनुनय विनय गरेछन् । तर, प्रहरीले उसको विलाप सुनेन । जब प्रहरीले उसलाई छोड्यो, घर जाँदा दुईजनै बच्चा मरिसकेका थिए ।’

सुन्दर भन्छन्– उसले यो घटना सत्य हो भन्यो । हो/होइन थाहा छैन । तर, मैले यही घटनाको जगमा बसेर कथा लेखेँ ।

घटनाले उनको मस्तिष्क हल्लायो । कथाकार न परे, केही फिक्सनाइज गरे । कथा लेखे– एक्लो बर ।

कथा तयार थियो । छापिएको थिएन । पञ्चायत शासनको विरोध हुन थालेको थियो । काठमाडौंमा सभा र गोष्ठीहरू हुन थालिसकेका थिए । पद्योदय स्कुलको हलमा समकालीन कथाकारको कथावाचन कायक्रम थियो । त्यहाँ सुन्दरले त्यही कथा पढे । कथा पढ्दा उनी भक्कानिएर पटकपटक रोकिए ।

धेरै वर्षपछि उनले एउटा पत्रिकामा समाचार पढे । समाचार थियो– धेरै वर्ष पहिला सुन्दर श्रेष्ठ नाम गरेका कथाकार आफ्नो कथावाचन गर्दा यसैगरी रोएको देखेका थिए । आज त्यस्तै भइरहेको छ ।

यो कथा खुब हिट भएको सुन्दरलाई सम्झना छ । धेरैले मन पराए । धेरैले मन पराउनु भनेको अर्को कथा लेखनका लागि बाटो खुल्नु पनि हो । 

त्यसअघि, आईकम पढ्दै सुन्दर कथा लेख्थे । किन लेख्थे ? आत्मसन्तुष्टिका लागि । पैसा अहिले त उतिधेरै आउँछ भनेर सेलिब्रिटी राइटरहरू नै भन्दैनन्, त्यो बेलाको के कुरा ! समाजमा देखेको विषय कथामार्फत भन्नु आत्मसन्तुष्टिबाहेक अर्को कारण थिए ।

आधा दर्जनभन्दा धेरै पत्रिकामा उनका कथा छापिन्थे । धेरैजसो कथा ती छाप्ने पत्रिका उनको मानसपटलबाट विस्मृतिमा गइसके । ‘संकल्प’ र ‘झिसमिसे’ उनी सम्झिन्छन्, जसले उनको कथा छाप्थे । आफ्नै कथा पनि धेरै त उनले बिर्सिसके ।

सम्झिऊन् पनि कसरी !

०३४ सालमा आइपुग्दा उनले कथा लेखनलाई विश्राम दिइसकेका थिए । ०३१ देखि ०३४ सम्म १७ कथा लेखे । ती सबै छापिए । त्यसपछि उनले कथातिर आफूलाई डोर्‍याएनन् । 

त्योभन्दा अघि, पहिलो कथाको शीर्षक भने उनलाई याद रहेछ– मेरो कलाकार बहिनी ।

सुन्दर लागे उनको दोस्रो कथा ‘मकै बेच्ने केटाकेटी’को रचनागर्भतिर । कलेजको छुट्टी थियो । घर जाँदै थिए । हेटौँडामा बस जाम भयो । के भएछ ? एउटा बसको ठक्करबाट बच्चाको मृत्यु भएपछि गाडी रोकिएका रहेछन् ।

बसमा बस्दाबस्दै सुन्दरले आफू दाजु र गाडीको ठक्करबाट मृत्यु हुने आफ्नै बहिनी भएको महसुस गरे । उनको दिमागमा कथाको प्लट बन्यो । त्यसलाई अक्षमा रूपान्तरण गरे । कथा तयार भयो ।

अक्सर यस्तै घटना, दृश्य र कसैले सुनाएका सन्दर्भलाई सुन्दर आफ्नो कथाको विषय बनाउँछन् । त्यसलाई कथाको शैली दिन्छन् । र, पाठकसम्म पुर्‍याउँछन् । कल्पनाको संसारमा हराएर लेख्नु त कथाकारको विशेषता भइहाल्यो । पंक्तिकारसँगको पहिलो भेटमा सुन्दरले कथा लेख्ने आफ्नो शैलीबारे सुनाए । पुराना कुरा गरे । र, नोस्टाल्जिक भए ।  

० ० ०

सुन्दर अक्सर सेता हिमालको छेउछाउ रमाउने मान्छे । फुर्सद मिल्यो कि उनी हिमालको छेउ पुग्छन् र आफूलाई भुलाउँछन् । केही दिनको फुर्सद निस्कियो । उनी ओखलढुंगाबाट सोलुखुम्बु जाँदै थिए । बाटोमा बटुवा भेटिए । जंगलको बाटो, एक्लै हिँड्न डर हुन्थ्यो । सँगै बाटो काट्ने भए । कुराकानी सुरु भयो । सुन्दरको सहयात्री जेलबाट छुटेर घर फर्कंदै रहेछन् ।

किन जेल परे उनी ? सुन्दरले जिज्ञासा राखे । मनोदशा कोट्ट्याए । कति त अनुहार पढे । त्यसैलाई आधार बनाएर उनले कथा लेखे– मेरो सहयात्रीको कथा ।

कथा छापियो । रंगकर्मी सुनील पोखरेललाई कथा औधी मन परेछ । नेपाल टेलिभिजन भर्खर सुरु भएको थियो । सुनीलले उक्त कथामा टेलिचलचित्र बनाउँछु भने । सुन्दरले अनुमति दिए । पछि टेलिभिजनले बजेट दिएन, ‘मेरो सहयात्री’को कथामा टेलिचलचित्र बनेन । 

० ० ०

‘प्रतिशोध’ पनि उनले नबिर्सिएको कथा हो । सुन्दरका साथीका बुवा राणाकालमा विचारी रहेछन् । उनी उदयपुरमा थिए । उनले सुन्दरका कथा त पढेका थिएनन्, तर लेख्छ भन्ने थाहा पाएका रहेछन् । 

उनले सुन्दरलाई भने– ए सुन्दर, तँ कथा लेख्छस् रे ! हो ? 

‘अलिअलि ।’

‘मसँग एउटा कथा छ, सुन्छस् ?’ 

नसुन्नु पर्ने कारण थिएन, भने– सुनाउनु न, सुन्छु । 

उनले अचम्मको कथा सुनाए । 

कस्तो अचम्मको ? 

उनकै गाउँको कोही एक व्यक्ति कामका निम्ति भारत गएका थिए । त्यो बेला पैसा कमाउन भारत जानेलाई लाहुर जाने भन्ने चलन थियो । केन्द्रका भन्दा गाउँका शासक तानासाह हुन्थे । गाउँका सोझासिधा निमुखामाथि हैकम जमाउँथे । त्यस्तै एक जिम्वालले छोरो भारत गएका बेला उसको घरजग्गा लिएर बाउआमाको बिल्लीबाठ पारिदिए । भारतबाट फर्किएर आउँदा उसको घर सामन्तको भइसकेको थियो । बाउआमा कहाँ गए ? मरे वा जिउँदै छन्, केही थाहा पाएनन् । उनले आफन्तको नाममा कोही पनि भेटेनन् । 

अनि ? 

त्यसपछि उनले ती सामन्तको परिवारसँग बदला लिए । 

कसरी ? 

ती विचारीले सुन्दरलाई सुनाए । सुन्दरले कथाका लागि गतिलो विषय फेला पारे । त्यसलाई थप ड्रामाटाइज गरे । र, कथा लेखे– प्रतिशोध । 

अनि खांग्री 
सुन्दर अमेरिकी शैक्षिक संस्था फुलब्राइट कमिसनको अफिसमा काम गरिरहेका थिए । एक दिन उनलाई स्टाफले भने– सर, तपाईंलाई भेट्न दुईजना गेस्ट आउनुभएको छ ।

सुनील पोखरेलले नवीन सुब्बालाई लिएर आएका रहेछन् । सुनील चिनजानकै मान्छे भइगए । उनले सँगै लिएर आएका नवीनसँग चिनजान गराइदिए ।

सुनीलले भने– सोलुका स्थानीय शेर्पाको कल्चर र रहनसहनमा केन्द्रित रहेर एउटा सिनेमा बनाउने मन छ । दाइ तपाईं सोलुको स्थानीय परिवेश र शेर्पा कल्चर बुझेको मान्छे भएकाले तपाईंभन्दा उपयुक्त पात्र अर्को हुँदैन । एउटा कथा लेखिदिनुपर्‍यो ।

कथा लेखन त सुन्दरले छोडेको वर्षौँ भइसकेको थियो, पहाड जान भने छोडेका थिएनन् । मात्र उनलाई कुनै बहाना चाहिन्थ्यो । सुनीलको आग्रह उनका निम्ति बहाना बन्यो । दुई हप्ता नबित्दै सुन्दर खुम्बु क्षेत्रतर्फ लागे ।

नाम्चे पुग्दा कुन्द र कनकमणि दीक्षित भेटिए । उनीहरूलाई सुन्दरले आफ्नो उद्देश्य सुनाए । सुन्दरलाई कुन्द र कनकमणिले केही सुझाव दिए ।

खुम्बुबाट फर्किएको १०/१५ दिनमा सुनील र नवीनलाई सुन्दरले कथा दिए । त्यसलाई स्क्रिप्टमा ढाल्ने काम नवीनले गरे ।

एक दिन नवीन सुन्दरको अफिस आइपुगे । उनले समस्या सुनाए । 

कस्तो समस्या ? 

‘दाइ, कथा त एकदम राम्रो छ, तर मैले प्रोडुसर नै पाइनँ । पैसा हाल्ने मान्छे नहुँदा यति राम्रो कथामा सिनेमा नै नबन्ने भयो,’ नवीनले सुन्दरलाई भने ।

‘कति पैसा लाग्छ ?,’ सुन्दरले सोधे ।

‘आठ/दश लाग्छ ।’

बच्चैदेखि सिनेमामा दिलचस्पी भएका सुन्दरले भने, ‘त्यति भए त म आफैँ हाल्छु नि !’

सन् १९९४ को १० लाख पनि सानो रकम थिएन । तर, सुन्दरले फाइनान्स गरे ।

खुम्बु क्षेत्र व्यावसायिक अहिले भएको होइन, त्यही बेलादेखि हो । त्यहाँका स्थानीय आफ्नो घरको पर्खालमा बसेर हिमाललाई पृष्ठभूमि बनाएर फोटो खिचेको पनि पैसा लिन्थे । सिनेमाका लागि लोकल ड्रेसदेखि गरगहना समेत चाहिन्थ्यो । त्यसको चाँजोपाँजो मिलाउने उपयुक्त पात्र चाहिएको थियो ।

त्यसैले छायांकनमा पनि सुन्दर सँगै गए । छायांकनमा थप सहजता प्रदान गर्न को–प्रोडुसरमा स्थानीय एपी शेर्पालाई राखे । पैसा लगानी नगरे पनि उनले लजिस्टिकको जिम्मा लिएका थिए ।

सिनेमा बन्यो, खांग्री । अहिले त आर्ट मुभी खासै चल्दैन, १९९५ मा हलमा चलेर लगानी उठाउने सम्भावना थिएन । त्यसमाथि यो सिनेमा आफैँमा छोटो थियो, ७७ मिनेटको ।

एक शेर्पा साथीले सुन्दर र नवीनलाई सुझाए– यस्तो खालको सिनेमा विदेशका फिल्म फेस्टिभलमा छनोट हुन्छन्, किन ट्राई गर्दैनौ ?

नभन्दै इटालीको ट्रिन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा सिनेमा पठाए ।

केही समयपछि नोमिनेसनमा पर्‍यो भन्ने खबर आयो । नवीन, सुन्दर र एपी उक्त फिल्म फेस्टिभलमा गए । नेपालबाट विदेशी फिल्म फेस्टिभलमा गएको त्यो पहिलोपटक थियो । अर्थात्, ‘खांग्री’ नेपालबाट विदेशी फिल्म फेस्टिभलमा जाने पहिलो चलचित्र थियो । त्यो सिनेमा सुन्दर जोशीले लेखेका थिए । ‘खांग्री’ले उक्त फेस्टिभलमा स्पेसल जुरी अवार्ड पनि जित्यो । इटालियन फिल्म कम्पनीले त्यसको कपिराइट किन्यो । यो नेपालका निम्ति निकै ठूलो उपलब्धि थियो ।

स्लोभाकिया, अमेरिका, क्यानडाको फिल्म फेस्टिभलमा पनि ‘खांग्री’ नोमिनेसन भयो । त्यसयता हो, नेपाली सिनेमाले विदेशी फिल्म फेस्टिभलका ढोका ढक्ढक्याउन थालेको । 

        ०  ०  ०

कति पाठलाई सुन्दरका कथाका पात्रसँग मोह बसेछ । बिर्सिन नसेका पात्रहरूको खबर के छ भनेर सुन्दरलाई सोध्ने धेरै छन् । केही यस्ता पाठक तथा समकालीन र अग्रज पनि छन्, जसले सुन्दरसँग उनका कथाका पात्रबारे मात्रै सोधखोज गर्छन् । सुन्दरभन्दा उनका पात्रको खबर र मनोदशाबारे जिज्ञासा राख्छन् । 

यस्तैयस्तै पाठक र तिनको आगह्रलाई नकार्न सकेनन् र सुन्दरले छोडिसकेको कलम समाए । आफ्नै कथाका केही अजर पात्रलाई अगाडि बढाए । केही नयाँ पात्रलाई जन्म दिए । त्यसपछि जन्मिए दुई कथा संग्रह– १, क्यासल रककी अप्सरा २, अर्मानी लगाउने भाइ । 

    ० ० ०

साहित्यकार गोविन्द भट्ट सधैँ भन्थे– सुन्दर तिम्रा कथामा यस्तो पावर हुन्छ, अब त्यस्तै आख्यान लेख । 

तर, सुन्दरमा एउटा ठूलो समस्या थियो । 

कस्तो समस्या ? 

लेख्न थालेपछि सकेर मात्र विश्राम लिने । त्यो उपन्यास लेखनमा सम्भव थिएन । त्यसैले उनले आँटै गरेनन् ।

‘क्यासल रककी अप्सरा’ लेखेपछि सुन्दरले सोचेका थिए– यसलाई पार्टपार्टमा लेख्छु, त्यसलाई पछि एकीकृत गर्दा उपन्यास नै पो हुन्छ कि ! 

‘क्यासल रककी अप्सरा’ पनि धेरै पाठकले मन पराएको कथा हो । त्यसको सिक्वेल उनले लेखिरहेका छन् ।

सुन्दरले प्रयास नै नगरेका भने होइनन्, उनले आख्यान लेख्न थालेका थिए । पुस्तकका निम्ति आधाभन्दा धेरै टेस्क्ट तयार भइसकेको थियो । “एक दिन हामी घरबाट केही टाढा गएका थियौँ, घुम्न । गाडी पार्किङमा थियो,” सुन्दर भन्छन्, “फर्कंदा त गाडीको सिसा फोडेर ल्यापटपलगायत सबै सामग्री चोरी भएको थियो ।”

त्यो चोरीसँगै उनको आख्यान लेखनमा ब्रेक लाग्यो । “सायद म बिलिनियर हुन्थेँ र मेरो बिलियन रकम हराएको हुन्थ्यो भने पनि म त्यति धेरै चिन्तित हुन्न थेँ होला,” उनी भन्छन्, “म केही समय डिप्रेसनमै गएँ । मलाई त्यो तनावबाट पछि फर्कन निकै समय लाग्यो ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement