site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्चले बुझायो वार्षिक प्रतिवेदन, समयमै न्याय पाउने अवस्था सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पीडितले समयमै न्याय पाउन सके मात्र न्यायपालिकाप्रतिको जनआस्था वृद्धि हुने बताएका छन् । न्यायपालिकाको उद्देश्य हासिल हुन जनआस्था नै प्रमुख माध्यम भएको भन्दै त्यसका लागि पीडितले समयमै न्याय पाउनुपर्ने उनको भनाइ छ ।

बुधबार सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको २०७९/०८० को वार्षिक प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति पौडेलले जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिका भएकाले उसको सबलता जनआस्थामा अडिने बताए ।

“न्याय छिटोछरितो, पीडितमैत्री भएमा न्यायालयको स्वतन्त्रता, अखण्डता र सक्षमता कायम रही रहने छ भन्ने विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले भने, “न्याय क्षेत्र सुधारका नीति, योजना, प्रतिवेदनहरूलाई पूर्णरूपमा कार्यान्वयनमा लैजान सकेमा कानुनी शासनको प्रत्याभूति हुने कुरा सुनिश्चित गर्न सहज हुने छ ।”

राष्ट्रपति पौडेलले न्यायिक प्रक्रियामा सूचना प्रविधिको विकासलाई सुदृढ गर्दै प्रविधिमैत्री बनाएर तारेख व्यवस्थापन, फैसला कार्यान्वयन प्रभावकारी बनाउने, दण्ड जरिवाना असुलीको अभियानको प्रशंसा गरेका थिए ।

“न्यायिक कार्यमा शुद्धता, पवित्रता, निष्ठा, इमान्दारिता र जवाफदेहिता कायम गर्ने सन्दर्भमा सर्वोच्च अदालत तदारुकताका साथ लागेको छ भन्ने विश्वास लिएको छु,” पौडेलले भने । 

उनले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र गतिशील एवं न्यायको मर्मलाई दरिलो बनाएर जनविश्वास थप मजबुत बनाउन आग्रह गरे ।

“मुद्दाको चाप र मुद्दा फर्छ्योटको हालको अवस्था नै सर्वोच्च अदालतको गहन चुनौती र यसको सहज अवतरणको खोजी गर्नु हो भन्ने मलाई लाग्छ,” पौडेलले भने, “जसको निराकरणका लागि कानुनमा आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।”

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro