काठमाडौं । मिलन चाम्सले २० वर्षअगाडि एउटा सपना देखे, बेलायतको सिनेवर्ल्ड लेस्टर स्क्वायर आईम्याक्स हलमा प्रिमियर गर्ने । जसरी गोर्खालीले विदेशी भूमिमा लडाइँ लडे, त्यस्तै अथक प्रयासपछि २० वर्ष पुरानो उनको सपना पूरा भयो । गोर्खालीको कथा ‘गोर्खा वारियर’मार्फत मिलनले पर्दामा उतारे र २० वर्षअगाडि आईम्याक्समा प्रिमियर गर्ने सपना पूरा गरे ।
यो चलचित्रमा गोरखा सैनिकले सन् १९४९ मा मलाया जंगलमा लडेको लडाइँको कथा समेटिएको छ ।
मिलन वार जानराको सिनेमा पहिलोपटक बनाउँदै थिए । सुरुमा त त्यो मलायाको कथा हुबहु कसरी लेख्ने भन्ने तनाव थियो । बजेट र छायांकन तपसिलका कुरा थिए । कथा त्यस्तो चाहिएको थियो, सकेसम्म हुबहु होस्, ताकि अनुभव गर्नेदेखि अध्ययन गरेको अहिलेको पुस्ताले पनि खोट लगाउन नसकोस् ।
वार जानराको सिनेमाको कथाका निम्ति उनी आफैँ कस्सिए । पारिवारिक पृष्ठभूमि गोरखा सैनिक भएकाले उनी आफैँले कथा लेख्ने आँट गरे । साथमा गिरिराज घिमिरेलाई लिए । रिसर्चमा जुटे ।
मलायाको जंगलमा युद्ध लडेका गोर्खालीका आफन्तलाई भेटे । उनीहरूका परिवारलाई भेटे । सकेसम्म त्यो बेलाको यथार्थ जानकारी लिए । कथा तयार भयो ।
बजेट जुटाउँदा...
वार जानराको सिनेमा सानो बजेटले बनाउन सकिँदैन । त्यसैले अहिले चलचित्र बनाइरहेका मेकरले पैसा निकाल्न सक्ने अवस्था थिएन । जसले यसको इतिहास बुझेका छन्, उनीहरूलाई लगानीका निम्ति आग्रह गरे ।
“एकातिर, वार जानराको सिनेमा बन्दै थियो, त्यो पनि पहिलोपटक । रिस्क थियो । दोस्रो, नयाँ कलाकार लिएर काम गर्ने भएपछि सिनेमाका वितरकहरूले विश्वास नगर्ने भए,” मिलन भन्छन्, “त्यसैले वार बुझेका व्यक्तिहरूलाई लगानीका लागि अफर गरियो । कसैलाई सिधै भनियो, कसैलाई डिप्लोम्याटिक तरिकाले अप्रोच गरियो ।”
जसरी प्रस्ताव गरे पनि कसैले नपत्याएपछि सबै आर्थिक भार आफैँले लिनुपर्ने आवस्थामा पुगे मिलन । सुरुआती दिन कठिन थियो । “जसले वार बुझेका र भोगेका थिए, उनीहरूले नै इकुप्मेन्ट र प्रप्समा सहयोग नगर्दा फ्रस्टेसनमा जाने आवस्थामा पुगेँ,” उनी सम्झिन्छन्, “बीचमै यो सिनेमा छोड्ने अवस्थामा पुगेँ ।”
सुरु भयो ‘गोर्खा वारियर’
बजेट अभावकै कारण चरण–१ देखि ६ सम्म पुगेपछि बल्ल सिनेमा निर्माण सम्पन्न भयो । “क्यारेक्टर र टेक्निकल इन्भल्भमेन्ट सबैभन्दा धेरै भएको सायद नेपाली सिनेमा नै यही हुनुपर्छ,” मिलन दाबी गर्छन्, “जस्तै, फेज–१ मा गाउँमा सिनेमा खिचियो । एउटा वार खिचेपछि अर्को वार । त्यसपछि फेरि अर्को वार । एउटा वारको एउटा इफेक्ट खिच्न करिब एक दिन पूरै लाग्थ्यो ।”
एक सट खिच्न एक दिन लाग्थ्यो । सिनेमा छायांकन डेज जति लम्बिँदै थियो, त्यति नै बजेटको पारो उकालो चढ्दै थियो । बजेट जति बढ्दै थियो, त्यति नै लगानी रिटर्न्सको सम्भावनाको जोखिम पनि बढ्दै थियो ।
नेपाल र मलेसियामा १२० दिन लगाएर सिनेमा खिचे । नेपालका सोलु र सिन्धुली तथा मलेसियाको जंगलमा सिनेमा छायांकन गरे ।
अनि प्रिमियर
सिनेमा बनाउनु मात्र उनको ध्येय थिएन । बेलायतमा प्रिमियर गर्ने उनको उद्देश्य थियो । २० वर्षअगाडिको सपना पूरा गर्नु थियो । लेस्टर स्क्वायरमा सिनेमा देखाउनु थियो । हरतरहले पैसा त जुटाए, तर सजिलो थिएन ।
“पैसा त जुट्यो, तर सुरक्षाका कारण सहज थिएन । एकपछि अर्को चुनौती थपिरहेका थिए । हामी जहाँ प्रिमियर गरिरहेका थियौँ, त्यहाँ एकजनाका लागि २५ देखि ३० हजार खर्च हुन्थ्यो । दर्शक नआए त्यो खर्च बालुवामा पानी हुने थियो,” मिलन भन्छन्, “हल बुकिङ त सुरु भयो, तर तीन हप्ताअगाडिसम्म हलमा दर्शकले बुकिङ गरेका थिएनन् । जब बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सिनेमाको प्रिमियरका लागि शुभकामना दिएको समाचार आयो, त्यसपछि टिकट काट्ने क्रम बढ्यो ।”
टिकट बेचेर संकलित पैसाले मात्र प्रिमियरको खर्च नजुटेको मिलन स्मरण गर्छन् । उक्त प्रिमियरमा सवा करोड रुपैयाँ खर्च लागेको मिलन सुनाउँछन् ।
“यो सिनेमामा कति खर्च लाग्यो भनेर मैले हिसाबकिताब गरेको भए सायद यो सिनेमा नै बन्ने थिएन,” मिलन भन्छन्, “त्यसैले अहिलेसम्म कति खर्च लाग्यो भनेर म भन्न सक्तिनँ । तर, यतिचाहिँ ढुक्कले भन्न सक्छु, अहिलेसम्म बनेका नेपाली सिनेमाभन्दा यो महँगोमा बनेको छ ।”
जब हिरोको घाँटीमा डोरी कसियो...
इफेक्ट र रियल ब्लास्टले सिनेमालाई जति सुन्दर बनाएको छ, मिलनकै शब्दमा छायांकनमा त्यति नै दुःख पनि झेल्नुपर्यो । हिरो रितेश चाम्स छायांकनका क्रममा मृत्युको मुखमा पुगेको मिलनलाई आजैजस्तो लाग्छ ।
डाँडाबाट लड्दै लड्दै सिपाही तल झर्नुपर्ने सिन थियो । रितेश त्यही सिन दिइरहेका थिए । “वारमा लड्दा थाकेर एउटा डाँडामा पुगेर थकाइ मारिरहेको समयमा त्यहाँबाट रोलिङ हुँदै तल खस्दा रुखको टुप्पाबाट झर्दै तल रहेको दलदलमा फस्नुपर्ने थियो,” मिलन छायांकनका कठिन दिन सुनाउँछन्, “टेक्निसियनले डोरी उल्टै लगाइदिएछन् । डाँडाबाट तल खस्दा डोरी घाँटीमा बेरिएर घटेसी लाग्यो । भाग्यवश डोरी रुद्रघण्टीको आधा इन्च तल परेछ, रुद्रघण्टीमा परेको भए स्पट डेथ हुने थियो । त्यो सिन खिच्न मात्रै हामीलाई नौ दिन लागेको थियो ।”
कुनै अप्रिय घटना घटेको भए सिनेमा नै पूरा हुने थिएन । त्यति बेलासम्म प्रि–क्लाइमेक्सको २१ दिनको छायांकन सकिइसकेको थियो । सिनेमाको ओभरअल ७० प्रतिशत छायांकन गरिएको थियो ।
क्रेनसहित थुप्रै हेभी इकुप्मेन्ट चाहिने भएकाले यो सिन मलेसियाको भए पनि ‘चिट’ गरेर सिन्धुलीको जंगलमा सेट लगाएर खिचिएको थियो ।
नयाँ अनुहार लिँदा...
मिलनकै शब्द फेरि सापट लिऊँ, उनले भनेजस्तो सिनेमा बनाए । तर, चलेका अनुहार सिनेमामा नहुँदाको पीडा उनले भोगे/भोग्दै छन् ।
निर्देशकको नाताले सिंगो सिनेमा ‘क्यारी’ गरेर हिँडिरहेका छन् । “हुन त म नयाँ कलाकारसँग काम गर्ने मान्छे हुँ, तर ठूलो लगानी भएको सिनेमामा ठूलै रिस्क भएकाले स्थिति दर्दनाक नै हुँदो रहेछ,” उनी भन्छन्, “नयाँ कलाकारलाई प्राथमिकता नदिने मेकिङदेखि रिलिजसम्मै हुन्छ/हुँदै छ, त्यो भोगिरहेको छु ।”
सात महिना सैनिक ट्रेनिङ
रितेश चाम्स नै किन लिए ? उनलाई एक्सनमा ‘वेल ट्रेन्ड’ व्यक्ति चाहिएको थियो । वर्षौँदेखि पर्दामा देखिएका पुराना अनुहारले त्यो भूमिका गर्न सक्छन्/सक्दैनन् भन्नेमा उनलाई शंका थियो ।
त्योभन्दा महत्त्वपूर्ण कुरा, वारको कथा हरेक महिना हलमा देखिने कलाकारमार्फत भन्दा दर्शकले कति विश्वास गर्छन् भन्ने थियो । त्यसैले उनले रितेशलाई लिए । उनी मार्सल आर्टका खेलाडी पनि भएकाले विश्वास गर्न सक्ने अवस्था थियो ।
रितेशले अडिसन दिएपछि लन्डनको पायोनियर स्टुडियोबाट एक्टिङमा मास्टर्स गरे । नेपालमा आएर सुनील पोखरेलसँग अभिनयको क्लास लिए । बडी स्ट्रक्टचर पनि मार्सल आर्टको खेलाडी भएकाले आर्मीको जस्तै देखिने हुँदा उनलाई लिएको मिलन सुनाउँछन् ।
ब्रिटिस आर्मीको पृष्ठभूमि नभएको भए आफूले ‘गोर्खा वारियर’ बनाउन नसक्ने मिलनको भनाइ छ । एक व्यक्ति एउटाबाट अर्को ठाउँमा मुभ गर्दाको मुभमेन्ट हेर्दा नै ऊ आर्मीसँग कति नजिक वा टाढा छ भन्ने थाहा हुने उनी बताउँछन् । त्यसैले त उनले आर्मीको भूमिकाका निम्ति थिएटर आर्टिस्टका अडिसन लिए । सात महिना सैनिकले लिनेजस्तै तालिम दिए ।
“म आफैँले नगरकोटमा सात महिना सैनिक ट्रेनिङ दिएको थिएँ । सात महिना ट्रेनिङ गर्दा उनीहरू साँच्चै आर्मीजस्तै भएका थिए,” उनी भन्छन्, “उनीहरू त्यो तालिमका कारण बोल्दा पनि अनुशासित भए बोल्थे । तालिम १२ जनाले लिएका थिए ।”
भाषा र मुभमेन्टको डर
ब्रिटिस आर्मीकै भीभीआईपीले लन्डनमा सिनेमा हेर्छन् भन्ने उनलाई थाहा थियो । त्यसैले त्यो बेलाका इन्स्ट्रुमेन्ट र भाषा जस्ताको तस्तै हुनुपर्छ भन्ने थियो । कोही एकजनाले मात्र ‘अथेन्टिक’ भएन भनेको खण्डमा त्यसले ‘होल’ सिनेमालाई असर गर्ने वाला थियो । उनले लामो समय लगाएर रिसर्च गरे । “पछि जनरलहरू आएर सिनेमा हेरेर अथेन्टिक छ भन्दा खुसीले मन नै ढक्क फुल्यो,” उनी भन्छन्, “मलाया वारसँग सम्बन्धित व्यक्तिले यस्तै भएको हो भनेर भन्नु हाम्रो सफल पक्ष हो ।”
विदेशी बजार खोज्न नेपाली ब्रान्ड
मूलतः नेपाल सगरमाथा, बुद्ध र गोर्खालीको देश भनेर चिनिन्छ । हिमाल र बुद्धका विषयका सिनेमा निःसन्देह नेपालबाटै बनाइनुपर्थ्यो । वार जानराको सिनेमा पनि सबैभन्दा धेरै नेपालबाटै बनाइनुपर्ने थियो । तर, बनाइएको थिएन ।
“त्यसैले सुरु गरौँ न भनेर मैले गोर्खालीको कथा भनेको हुँ,” मिलन भन्छन्, “अब मलाई शेर्पाको विषयमा सिनेमा बनाउने मन छ ।”
यद्यपि, विषय उठान गरेर मात्र नहुनेमा उनी प्रस्ट छन् । त्यहीअनुसारको गुणस्तर चलचित्रमा हुनुपर्नेमा उनी जोड दिन्छन् । “तर, यसलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने हो । गोर्खालीको विषयमा सिनेमा रहेछ, कस्तो बनेछ भनेर दर्शकले हेरिदिनुभयो भने भोलि बुद्ध, शेर्पा र गोर्खालीकै विषयमा सिनेमा बनाउन सकिन्छ,” उनी भन्छन्, “दर्शकले चासो देखाउनु भएन भने यो नै अन्तिम सिनेमा हुनेछ । सिनेमा कलासँगै बिजनेस पनि हो । एउटा सिनेमा चलेन भने मेकरले बनाउन सक्दैन ।”
विश्वबजारमा सिनेमा लैजान ढिलो भइसकेको मिलन बताउँछन् । विश्वबजारमा नेपाली सिनेमा लैजान ब्रान्ड नै चाहिने उनको तर्क छ । गोर्खाली, बुद्ध, हिमालयकै विषय नेपाली ब्रान्ड हुने उनको भनाइ छ ।
“ब्रान्डले पनि ठूलो काम गर्दो रहेछ । हाम्रो सिनेमा कोरियन कम्पनीले गोरखा वारको भन्नेबित्तिकै हेर्दै नहेरी सात वर्षका लागि किन्यो,” उनी भन्छन्, “अमेरिकन सेल्स एजेन्टले पनि गोर्खा वारको सिनेमा भएकाले वर्ल्डवाइड वितरण गर्ने बताएको छ ।”
नेपाली ब्रान्डबाहेकका सिनेमा विदेशी बजारमा लगेर बेच्न कठिन रहेको मिलन बताउँछन् । दुई दशकभन्दा लामो समयदेखि विभिन्न इन्टरनेसनल फेस्टिभलमा सिनेमा लगिए पनि बजार विस्तारका हिसाबले ठूलो उपलब्धि अझै हासिल हुन नसकेको उनी सुनाउँछन् । सुरुमा ब्रान्ड नै बेच्नुपर्नेमा उनको जोड छ । ‘गोर्खा वारियर’ विदेशमा बजार खोज्ने प्रयास पनि भएको उनी स्पष्ट पार्छन् ।