site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झुक्याएर समुदायकै मिर्गौला बेचबिखन, प्रहरीमा उजुरी दिनसमेत डराउँछन् पीडित

काठमाडौं । काठमाडौंको सामाखुसी चोकबाट २४ किलोमिटरको टोखा–नुवाकोट सडक खण्ड पार गरेपछि पुगिन्छ, नुवाकोटको शिवपुरी गाउँपालिका । 

संघीय राजधानी काठमाडौं आडैको जिल्ला नुवाकोटको जिल्लारम्भ त्यही शिवपुरी पालिकाबाट हुन्छ । राजधानीबाट दुरीको हिसाबले २४ किलोमिटर पिच रोडको बाटो यात्रा गर्दा पुगिने शिवपुरी प्राकृतिक रुपमा सुन्दर छ । 

विकासका रुपमा पनि सबै वडातहसम्मै सडक सञ्जालले जोडिएको छ । तर, त्यही गाउँपालिकाको दलित समुदायको कथा भने कारुणिक छ ।

शिवपुरी गाउँपालिकाको वडा–७ सुनखानी र वडा–६ खोलेगाउँका दलित समुदायका अधिकांश युवाहरु मिर्गौला(किड्नी) तस्करी र बेचबिखनमा लागेको तथ्य खुलेको हो । 

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले मिर्गौला तस्करीको आरोपमा एक वर्षयता शिवपुरी गाउँपालिकाका चार युवालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । अझै केही आरोपी फरार छन् ।

ब्यूरोको टोलीले १६ पुसमा मात्रै थप एक आरोपीलाई पक्राउ गरेको थियो ।  उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन् । ब्यूरोको टोलीले पछिल्लोपटक पक्राउ गरेका आरोपी भने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ४३ वर्षीय हरि नेपाली हुन् ।

यसअघि ब्युरोको टोलीले २१ साउन २०७९ मा शिवपुरी गाउँपालिका–७ सुनखानीका मुरली दमाई, राजु नेपालीलाई पक्राउ गरेको थियो ।  उनीहरू पक्राउ परेको एक दिनपछि २२ साउनमा थप दुई शिवपुरी गाउँपालिका–६ खोलेगाउँका राजेश परियार र सुवास नेपालीलाई पक्राउ गरेको थियो ।

मिर्गौला तस्करीकै अरोप लागेका शिवपुरीकै रमेश नेपालीसहित थप दुई अझै फरार छन् ।  यसरी पक्राउ परेका र फरार सबै दलित समुदायका युवाहरू हुन् ।   उनीहरूले शिवपुरी गाउँपालिका–६ खोलेगाउँका २२ वर्षीय (कुमार परियार) नाम परिवर्तनको झुक्याएर मिर्गौला बिक्री गरेको आरोपमा पक्राउ परेका हुन् ।

कुमारलाई २०७९ वैशाखमा काकडभिट्टा नाकाबाट भारतको कलकत्तास्थित मुकुन्पुरको रविन्द्रनाथ टेगोर अस्पतालमा पु¥याएर मिर्गौला झिक्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Sivapuri-Police-1708331180.jpg
 

यसरी पुगेका थिए कुमार कलकत्ता

चार दिदीपछि जन्मिएका कुमार एक्ला भाइ हुन् । उनी सानै छँदा बुबाको मृत्य भयो । कुमारको लालनपालनको जिम्मा आमाको काँधमा पुग्यो । पढाई लेखाइ गर्ने घरको आर्थिक अवस्था थिएन ।

गाउँघरतिर पुर्खाले अपनाएको पेशा विवाह–ब्रतबन्धमा बाजा बजाउने काम गर्थे, कुमार । त्यसै सिलसिलामा ०७९ सालको वैशाखमा नुवाकोटको छहरे पुगे ।  त्यहाँ शिवपुरी गाउँपालिका–७ सुनखानीका मुरली दमाई पनि थिए । मुरली पक्राउ परेका खोलेगाउँका राजेश परियारका सुसुरासमेत हुन् भने राजेश पीडित कुमारका आफ्नै भतिजा  ।

त्यही भेटमा मुरलीले कुमारलाई गाउँमा बाजा बजाउनुभन्दा भारतमा काम गर्न गए राम्रो कमाई हुने आकर्षण देखाए । कुमार भारतमा काम गर्न जाने मनिस्थितामा पुगे । 

भेटपछि मुरलीले आफ्नै ज्वाइँ राजेशको मोबाइलमा पटक–पटक सम्पर्न गरेर कुमारलाई भारत जाने वातावरण बनाइ राखेका हुन्थे । त्यही क्रममा वैशाखमा मुरलीले कुमारलाई भेट्न सुनखानी बोलाए ।  मुरलीले त्यो दिन सुनखानीकै राजु नेपालीको घरमा बोलाएनन् मात्रै त्यही दिन काठमाडौं समेत पठाए ।

मुरलीले भारतको कलकत्तामा मःमः पसलका लागि काम गर्ने मानिस चाहिएको र मासिक ३० हजार भारु कमाई हुने आसवासन दिएका थिए । ३० हजार पाउने आशामा कुमार सुनखानीबाट राजु नेपालीसँगै काठमाडौं हानिए ।

काठमाडौं पुगेका कुमारलाई राजुले नयाँ बसपार्कस्थित गेस्ट हाउसमा पु¥याए । त्यहाँ एक अपरिचित युवा थिए । ती युवाले कुमारलाई कोरोना टेस्ट गर्ने भन्दै एक निजी मेडिकल पुर्‍याए । रगत परीक्षणपछि भने ती युवाले रिपोर्ट ठीक आएको भन्दै त्यही दिन साँझ ७ बजेको यात्रीबसमा झापाको काकडभित्ताको बस चढाए । कुमार ती अपरिचित युवासँगै झापाको काकडभिट्टा हुँदै कलकत्ता पुगे ।

कलकत्ता पुगेपछि भने ती अपरिचित युवाले मःमः साहुका छोरा भन्दै अनिस खड्का नाम गरेका युवालाई भेटाए । कुमार अनिसको जिम्मामा पुगे । हाल अनिस को हुन् ? भन्नेबारे प्रहरीले समेत पत्ता लगाउन सकेको छैन ।

कुमारलाई अनिसको नामबाहेक बाँकी केही जानकारी छैन । अनिसले भने कुमारलाई आफ्नो बुबाको दुवै मिर्गौला फेल भएका कारण बोलाएको भन्दै मिर्गौला झिकेपछि ६ लाख रुपैयाँ दिने प्रलोभन देखाए ।

कुमारले प्रहरीको बयानमा भनेका छन्, “म मिर्गौला दिन तयार नहुँदासमेत अनिस खड्काले अस्पतालमा लगेर अचेत पारेर मिर्गौला झिके । अस्पतालमा दुई हप्ता तथा खड्का परिवारले लिएको अपार्टमेन्टमा थप दिन हप्ता राखेर मलाई नेपाल पुर्‍याए ।”

वैशाखमै कलकत्ता पुगेका कुमारलाई अनिसले ७ असार २०७९ मा काठमाडौंको गौशाला पु¥याएर ६ लाख रुपैयाँ दिँदै छाडेका थिए । काठमाडौं पुगेका कुमार घर जान माछापोरीस्थित शान्तियामा घलानको होटल पुगेका थिए ।

त्यहाँ उनकै भतिजा राजेश परियार पनि पुगे । राजेश र उनका ससुरा मुरलीकै योजनामा कलकत्ता पुगेका कुमारलाई नेपाल फर्किएपछि पनि राजेशले घटनाबारे कसैलाई जानकारी नदिनू प्रहरीले थाहा पाए पक्राउ गर्छ भनेर त्रासमा राखेको खुलेको छ ।

बायाँ तर्फको मिर्गौला बिक्रीबाट आएको ६ लाख मध्येबाट समेत एक लाख ५० हजार राजेशकी श्रीमतीलाई दिएको कुमारको भनाइ छ । त्यो रकम समेत उनले फिर्ता पाएका छैनन् । प्रहरीको अनुसन्धानबाट कुमारलाई काठमाडौंबाट कलकत्ता पुर्‍याउने सुवास नेपाली रहेको खुलेपछि उनी पक्राउ परेका हुन् ।

Sivapuri1-1708331180.jpg
 

समुदाय नै मिर्गौला बेचबिखनमा

मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धानका क्रममा शिवपुरी गाउँपालिका र आसपासका पालिकामा रहेका दलित समुदायका केही व्यक्तिहरू मिर्गौला कारोबारमा लागेको खुलाएको हो । यद्यपि कुमारबाहेक अन्यको उजुरी प्रहरीमा नआएका कारण अनुसन्धान गर्न नसकिएको ब्युरोका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

“कुमारबाहेक अन्य दलित युवाहरुको समेत मिर्गौलाझिकिएको सूचना हामीले पाएका छौं । हाम्रो टोली अनुसन्धानमा समेत पुगेको थियो । तर, पीडितले उजुरी नदिँदा पक्राउ गर्न नसकिएको हो,” एसपी पंगेनीले भने ।

आर्थिक विपन्न र जनचेतनाको अभावका कारण दलित युवाहरु आफैँ मिर्गौला बेच्नेदेखि तस्करीमा लाग्न बाध्य भएको उनको भनाइ छ । अनुसन्धानमा संलग्न ब्यूरोको डीएसपी ज्ञानबहादुर बिष्टले पनि शिवपुरीका अधिकांश दलित युवाहरुले सहमतिमै मिर्गौला बिक्री गरेको दाबी गरे । 

उनले भने, “पीडित सम्पर्कमा नआउँदा प्रहरी आफैँले अनुसन्धान गरेर मुद्दा लिने अवस्था छैन ।”

प्रहरीको सूचनापछि बाह्रखरी टीमसमेत शिवपुरी गाउँपालिका–६ खोलेगाउँस्थित पीडित कुमारको घरसम्मै पुगेको थियो । पीडित कुमारको घर भने हाल बन्द छ । कुमारको मिर्गौला तस्करीमा पक्राउ परेका उनकै भतिजा राजेश परियारसहितको परिवार भने खोलेगाउँमै भेटिए । 

नौ वटा घर रहेको कुमारको गाउँमा सबै आफन्त मात्रै बस्छन् । नयाँ अनुहार देख्नासाथ प्रहरी नै हो कि भन्ने त्रास उनीहरूमा छ ।  बाह्रखरीले भने आफूहरु प्रहरी नभएको र मिर्गौला बेचविखन घटनाबारे बुझ्न मात्रै आएको भन्दै घुमाउरो शैलीमा कुमारको मिर्गौला बिक्रीबारे चासो राखेको थियो ।

मिर्गौला तस्करीमै पक्राउ परेका राजेश परियारका बुबासँग हाम्रो भेट भएको थियो । राजेशका बुबा राजु परियारले हामीसँगको कुरामा भने, “पीडित पनि हाम्रै आफन्त हो । उसैले पोलेको आधारमा छोरा पक्राउ परेको हो । सुनखानीतिर त सबैले मिर्गौला बेचेको छ भन्ने सुनिन्छ । त्यहाँकै मान्छेहरूसँगको संगतले राजेश पनि फस्यो ।”

प्रहरीले दिएको सूचना जस्तै उनले पनि सहमतिमै मिर्गौला बेचबिखन हुने हुँदा कोही पनि उजुरी दिन प्रहरीमा नपुग्ने बताए । उनीबाहेक खोलेगाउँ नजिकैको चिया पसलका अधिकांशको भनाई पनि राजुकै जस्तो थियो ।

मिर्गौला बेच्न हिँडेका माछापोखरीबाट फर्किएका थिए रघु

शिवपुरी खोलेगाऊँ खाजा पसलमै भेटिएका त्यहीका रघु कामीले आफू पनि मिर्गौला बिक्री गर्न माछापोखरी पुगेर फर्किएको बताए । उनले हामीलाई बताएअनुसार, हाल पक्राउ परेकाहरूकै समूहले किड्नी बेच्दा १२÷१३ लाख रूपैयाँ आउने प्रलोभन देखाएर काठमाडौं माछापोखरी पुर्‍याएका थिए ।

उनले भने, “हाल पक्राउ परेकै समूहले मलाई पनि माछापोखरी पुर्‍याएको हो । मलाई माछापोखरीको एक होटलमा राखे । पछि रगत जाँच गर्न लगाए । यहाँबाट ठीक भयो भने मात्रै भारत लैजाँदा रहेछन् ।”

आफूलेसमेत मेडिकल टेस्ट गरेर भारत लैजान खोज्दा होटलबाट भागेर सितापाइलामा दिदीको घर पुगेको बताए । 

फेदीखोला तिरका धेरै मानिसले किड्नी बेचेको दाबी उनले पनि गरे । मिर्गौला बेच्न लैजाने समूहले विभिन्न प्रलोभन देखाएर लैजाने गरेका छन् । रघु कामीका अनुसार, मिर्गौला तस्करी गर्ने समूहले होटलमा बस्दा युवतीदेखि मदिराको समेत व्यवस्थापन गरेर प्रलोभन पार्ने गरेको जानकारी दिए ।

kholegau-1708331242.JPG
 

आफ्नै मिर्गौला बेचेर तस्करीमा

कुमारको मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका मुरली दमाईले आफ्नै मिर्गौलासमेत बिक्री गरेको खुलेको छ ।  उनले सहमतिमै भारतको कलकत्ता पुगेर मिर्गौला बिक्री गरेका हुन् ।

उनले प्रहरीसँगको बयानमा भनेका छन्, “म १३ वर्षको उमेरदेखि काठमाडौंको लाजिम्पाट बस्दै आएको छु । पञ्जेबाजा बजाउने ब्याण्डमा झुर्मा बजाउने काम गर्छु । कृष्ण दमाई भन्ने व्यक्तिमार्फत एक लाख ५० हजार रुपैयाँमा मैले दायाँ मिर्गौला बिक्री गरेको हुँ ।”

मिर्गौला बेच्ने मान्छे खोजेवापत एक लाख रुपैयाँ कमिसन आउने लोभमा परेर कुमार खोजेको उनले बताएका छन् । कुमारसँगै हाल पक्राउ परेका राजेश र राजुले समेत मिर्गौला बेच्न खोज्दा उनीहरूले रगत नमिलेपछि बिक्री गर्न नसकेको मुरलीले प्रहरीसँगको बयानमा भनेका छन् ।

प्रहरीले पक्राउ गरेलगत्तै पीडित कुमारले समेत सहमतिमै मिर्गौला बिक्री गरेको बयान प्रहरीलाई दिएका थिए ।

के भन्छन् पालिका अध्यक्ष ?

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद थपलियाले पनि अशिक्षा र आर्थिक अभावका कारण दलित समुदायका युवाहरु मिर्गौला बेचबिखनमा लागेको बताए । उनले भने, “केही समय अघिदेखि नै मिर्गौला बेच्ने धन्दामा लागेका रहेछन् । मुख्य कारण नै अशिक्षा देखियो । हामीले एकीकृत घुम्ती शिविरमार्फत जनचेतना जगाउने काम गरिराखेका छौं ।”

तस्करीमा लागेका मानिसले आर्थिक प्रभावमा पारेर नै मिर्गौला बेच्न लगाउने उनको भनाइ छ । अध्यक्ष थपलियाले पनि सहमतिमै बेचविखनको काममा लागेकाले पालिकामासमेत कुनै गुनासो नआएको जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro