site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतका नेपाली श्रमिकलाई वैदेशिक रोजगारीको मान्यता दिन माग
दाङस्थित नेपाल–भारत सीमाक्षेत्र ।

काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघसंस्थाले भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चमार्फत यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

आप्रवासनमा देखिएका विभिन्न समस्यामाथि गहन छलफल र विश्लेषणपछि काठमाडौं घोषणापत्र जारी गर्दै यी संघसंस्थाले सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनीहरूले गरिबी, जलवायु परिवर्तनका कारण हुने आप्रवासन तथा मौसमी आप्रवासनलाई पनि एउटै मापदण्ड बनाएर व्यवस्थित, सुरक्षित, मर्यादित बनाउन माग गरेका छन् ।

Argakhachi Cement Island Ad

सुदूरपश्चिम प्रदेशमा सुरक्षित आप्रवासनमा काम गर्दै आएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले भारतमा रोजगारी गर्न जानेलाई पनि वैदेशिक रोजगारीको मान्यता दिएर सरकारले उनीहरूका सबै किसिमको अधिकार र जोखिमपूर्ण अवस्थामा क्षतिपूर्तिको सुविधा प्रत्याभूति गर्नुपर्ने धारणा राखे ।

“...भारतमा काम गर्ने आप्रवासी कामदारलाई नेपाल सरकारले वैदेशिक रोजगारी मानेको छैन । भारत जाने कामदारको अधिकार सुनिश्चित गरी मर्यादित बनाउन आवश्यक छ,” उनले भने, “मृत्यु हुँदा वा जोखिममा परेको बेला उनीहरूलाई पनि वैदेशिक रोजगारीको मान्यता दिएर अधिकार सुनिश्चित गरी मर्यादित बनाउन आवश्यक छ ।”

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बरालले श्रमिकको सम्पूर्ण समस्या र समाधानका उपायलाई समेट्ने गरी काठमाडौं घोषणापत्र तयार गरिएको बताए । दक्षिण एसियाबाट श्रमका निम्ति अरू मुलुकमा जाने श्रमिकको हक, अधिकार सुनिश्चित गर्न सबै देशहरूले एकै किसिमको आप्रवासन नीति बनाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

“...वर्करहरूको वैदेशिक रोजगारी र विदेशबाट प्राप्त रेमिट्यान्स मात्रै नभएर उहाँहरूले प्राप्त गर्नुभएको सीप, अनुभव, ज्ञानको कुरा पूर्ण सम्मान गर्दै परिवार, देश, समाज र समुदायको विकासका लागि भरपुर उपयोग गर्नुपर्छ,” उनले भने, “देशहरूले त्यस्तो वातावरण सिर्जना गर्नुपर्छ । दुईपक्षीय श्रम, सम्झौता र समझदारीहरूबाट श्रमिकका अधिकार, सामाजिक सुरक्षा प्रत्याभूत हुनुपर्छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्