site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभामा विपक्षी दलहरूको एउटै माग– मन्त्री ज्वालाको बर्खास्ती 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्र्दै आइतबारको प्रतिनिधिसभा बैठकमा गर्मागर्मी बहस भएको छ । सत्ताको विपक्षमा रहेका दलहरूले मन्त्री ज्वाला बालकुमारी घटनामा दोषी ठहर भएको भन्दै बर्खास्तीको माग गरेका हुन् ।

बैठक सुरु भएसँगै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुख देवराज घिमिरेले समय उपलब्ध  गराएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी भएको जनाउँदै उनलाई पदमा बस्ने नैतिकता नभएको उल्लेख गरे ।

सरकार आफँैले बनाएको छानबिन समितिले यही फागुन ४ गते बुझाएको प्रतिवेदनमा घटनाको दोषी मन्त्री ज्वाला भएको देखाएको उनले जनाए । सरकार आफैँले बनाएको समितिले दिएको प्रतिवेदन लागु गर्ने कि नगर्ने भन्दै उनले प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

“सरकार आफैँले बनाएको छानबिन समितिले मन्त्री ज्वालालाई दोषी ठहर गरेको छ । तर, यत्रो दिन बित्दा प्रमले मन्त्री बर्खास्त गरेको सूचना पाएनौँ । सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,” उनले भने ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछानेले छानबिन समतिले मन्त्री ज्वालालाई दोषी भनेर किटान गर्दा पनि प्रधानमन्त्री चुइँक्क बोल्न नसकेको बताए । उनले पनि मन्त्री ज्वालाको राजीनामा माग गर्दै नैतिकता देखाउन सरकारसँग अनुरोध गरे ।

“बालकुमारी घटनामा यो देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भन्ने युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो,” लामिछानेले भने, “यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिँदै आएको थियो । अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ । यसबारे न प्रधानमन्त्री चुइँक्क बोल्नुहुन्छ न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले पनि मन्त्री ज्वालाको बर्खास्तीको माग गरे । उनले देशमा न्याय मरेको छैन भन्ने सन्देश दिने हो भने मन्त्रीलाई तत्काल कारबाही गर्नुपर्ने धारणा राखे ।

गएको पुस १३ गते ललितपुर महानगरपालिका–८, बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा प्रदर्शन गरिएको थियो । मन्त्री ज्वाला अचानक प्रदर्शन भइरहेको स्थानमा पुगेका थिए ।

मन्त्री ज्वाला प्रदर्शनस्थलमा पुगेपछि उनी चढेको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका थिए । मन्त्री ज्वाला बालकुमारी पुगेपछि प्रदर्शन थप भड्किएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि गोली समेत चलाएको थियो ।

गोली लागेर र प्रहरीको कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो ।

त्यसपछि पुस १६ गतेको मन्त्रिपरिषद् बैठकबाट घटनाबारे जाँचबुझ गरी राय–सुझाव र सिफारिससहितको प्रतिवेदन एक महिनाभित्र पेस गर्ने गरी जाँचबुझ आयोग गठन गरिएको थियो ।

आयोगले पुस २० गतेदेखि कार्य प्रारम्भ गरेको थियो । तोकिएको समयमा कार्य सम्पन्न हुन नसकेकाले मन्त्रिपरिषद्को माघ १८ गतेको निर्णयानुसार फागुन ५ गतेसम्म म्याद थप गरिएको थियो ।

बालकुमारी घटनाको सम्बन्धमा आयोगका पदाधिकारीले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शी, त्यति बेला घटनास्थलमा रहेका सञ्चारकर्मी, पीडितका परिवार, घाइते, विशेषज्ञ डाक्टर र घटनासँग सम्बन्धित अरू मानिससहित १६ जनासँग जानकारी लिएका थिए । आयोगले घटनासँग सम्बन्धित २९ जनाको बयान लिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro