site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐँठन छ, सुध्रनुपर्छ’

पोखरा । माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेत्री शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा उपस्थित भए ।

नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा पर्यटनमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता सुदन किराँती, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्य एवं रास्वपा नेत्री सुमना श्रेष्ठ र नेकपा (एमाले)बाट निर्वाचित बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए ।

सहजकर्ता वसन्त बस्नेतले भर्खर खुलेको नयाँ पार्टीकी नेत्री सुमनालाई सोधे– तपाईं किन राजनीतिमा आउनुभयो ?

Dabur Nepal
NIC Asia

गठबन्धन अनि सधैँ एउटै व्यक्तिले शासन गर्ने प्रवृत्तिसँग रिस उठेर आफू राजनीतिमा आएको उनले सुनाइन् । “गठबन्धन गर्छु भन्ने भएपछि पैतालादेखि रिस उठ्यो । सधैँ एउटै मान्छे हुँदैन भनेर म राजनीतिमा आएँ,” उनले भनिन्, “म जब राष्ट्रिय स्वतन्त्र पार्टीमा गएँ, रविजी एकजनाले जिते पनि म्यासेज दिनुपर्छ भन्ने भयो ।”

राजनीति समाजसेवा भएको र देश विकासका निम्ति चाहिने नीति बनाउन आफू रजनीतिमा आएको उनले बताइन् ।

जता गए पनि भनसुन गर्ने प्रवृत्ति अन्त्य गरेर ‘सिस्टम’ बसाइनुपर्नेमा उनले जोड दिइन् । “जता गए पनि भनसुन गर्नुपर्ने अवस्था छ । लोकतन्त्र भन्छौँ, तर के हामी फ्री छौँ ? केही गर्छु भन्नेलाई थकाएको थकाइ गर्छ । जता गयो त्यतै दाम चढाउनुपर्छ,” सांसद सुमनाले भनिन्, “परिवर्तन गर्नुपर्ने एकजना नेपाली, नेपाली भएर काम सक्न पाउनपर्छ । दलमा आबद्ध हुनु नपर्ने, ठूलो नेतालाई चिन्नु नपर्ने स्वतन्त्रता चाहियो ।”

पर्यटनमन्त्री किराँतीले क्षमता भएकालाई राजनीतिमा आउन आह्वान गरे । नभए क्षमताहीनले शासन गर्ने र देशले दुःख पाउने उनको भनाइ थियो ।

उनले आफ्नो हालै ‘भाइरल’ भएको मन्त्रालयमा ‘पोछा’ लगाएको भिडियोको प्रसंग पनि झिके । कोही सानो नहुने र उपल्लो तहका कर्मचारीले तलकालाई हेप्ने प्रवृत्तिविरुद्ध आफूले सन्देश दिन खोजेको मन्त्री किराँतीले बताए ।

“नगर्नु पर्थ्यो । मलाई पनि हाकिम हुन मन छ, सुविधामै बस्न मन छ । तर, हामीले प्रतीकात्मक रूपमा सन्देश के दिने ?,” मन्त्री किराँतीले भने, “अमेरिकाको राष्ट्रपति ओबामा पाउरोटी बेच्न हुने, सुदन किराँतीले पोछा लगाउन नहुने ? ठूलो मान्छेले कामै गर्न नहुने सामन्ती संस्कृति म खारेज गर्छु । मैले सक्ने र भ्याउने काम म गरिरहन्छु ।”’

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य पौडेलले नयाँ आएकालाई अवसर दिइए मात्र आकर्षण बढ्ने बताए । उनले राजनीति निरन्तरतामा नभई ‘भिजन’का आधारमा गरिनुपर्ने उल्लेख गरे ।

“राजनीति निरन्तरताको आधारमा होइन, कन्टेन्टको आधारमा हुनपर्छ । देश कसरी बनाउने हो भनेर त्यसको फेहरिस्तको आधारमा हुनपर्छ । कांग्रेसमा यस्तो व्यवस्था गर्नुपर्छ कि ३५ वर्ष भएको प्रदीपसँग ३५ दिनअघि आएको मान्छेले जित्यो भने जित्न दिनपर्छ,” उनले भने ।

गठबन्धन गरेर लोकतन्त्रलाई साँघुरो बनाइएको, विचारको राजनीतिको ‘स्पेस’लाई घटाउने काम भइरहेको पौडेलले टिप्पणी गरे । सत्तामुखी नभई जनमुखी भएर काम गर्ने गतिविधि किन हुन सकेको छैन भन्ने आफैँले बुझ्न नसकेको उनले बताए । पार्टी सिस्टममा आफूले नचाहेका विषयमा पनि सहमति जनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

“सत्य र सही कुराको पार्टीको सीमाबाहिर गएर वकालत गर्नुपर्छ कि ? पार्टीभन्दा बाहिर कुरा मिले भने सँगै भएर त्यसलाई लिएर जान सक्छौँ कि ? गलत र सही के हो छुट्ट्याउने अनि सही छ भने सही ठान्ने, सबै एक ठाउँमा जाने । पार्टी नियन्त्रणको प्रक्रिया बढी भयो कि भन्ने लाग्छ ।”

बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले क्षमता भएकालाई अवसर दिने परिपाटी दलहरूले बनाउन आवश्यक रहेको बताइन् । “क्षमता भएका र केही नयाँ गर्छु भनेर राजनीतिमा आएकालाई नेतृत्वमा ल्याउन ऐँठन (थिचाइ) छ । यो पद्धति र प्रणालीको कुरा हो,” उनले भनिन् ।

व्यक्तिको असक्षमता हेरेर राजनीतिक र लोकतान्त्रिक व्यवस्थामाथि आलोचना गर्ने काम गलत रहेको पनि उनले बताइन् । राजनीति सफा गर्न स्वच्छ व्यक्ति आवश्यक रहेको उनको भनाइ थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro