site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीमा पार्टीको नाम, चुनाव चिह्न फेर्नेदेखि प्रत्यक्ष निर्वाचित गर्नेसम्मका सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा पार्टीको नाम, चुनाव चिह्न फेर्नेदेखि प्रत्यक्ष निर्वाचन प्रणालीसम्मका विषयमा बहस भइरहेको छ ।

मंगलबारबाट सुरु भएको प्रथम विधान अधिवेशनमा विधान मस्यौदा प्रस्तावमाथिको छलफलका क्रममा नेताहरूले कमिटी प्रणाली सानो बनाउनुपर्ने, आयोगलाई सानो र अधिकारसम्पन्न बनाउनुपर्ने सहितका सुझाव पनि दिएका छन् ।

बैठकमा बुधबार १३ वटा समूहको निष्कर्ष प्रस्तुत गरिएको छ । एक समूहका नेतालाई निष्कर्ष सुनाउन १० मिनेटको समय तोकिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिलीपकुमार प्रजापतिले पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उल्लेख गर्दै जातीय छुवाछुतलाई गम्भीर अपराधको रूपमा राख्नुपर्ने सुझाव पेस गरे ।

केन्द्रीय सदस्यको संख्या सकेसम्म कम गर्नुपर्ने सुझाव रहेको उल्लेख गर्दै उनले पूर्णकालीन पार्टी सदस्यको व्यवस्था स्पष्टरूपमा व्यवस्था गर्न सुझाव दिए ।

पार्टीको नाम फेर्न सुझाव

माओवादी केन्द्रको नाम नै फेर्नुपर्ने बहस माओवादीमा छ । पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले जानकारी दिए ।

“पार्टीको नाम फेर्नुर्पछ भन्ने सुझाव आएका छन् । कसैले हाम्रो कम्युनिस्ट पार्टी, कसैले नेपाली कम्युनिस्ट पार्टी राख्नुपर्ने सुझाव दिएका छन्,” उनले भने ।

सहरी राजनीतिलाई मध्यनजर गर्दै पार्टीको नाम फेनुपर्ने उनीहरूको तर्क छ । रुकुम–रोल्पा मात्रै केन्द्रित भएर पार्टी नबन्ने भन्दै नताहरूले सहरी क्षेत्रलाई मध्यनजर गरेर पार्टीको नाम फेर्नुपर्ने सुझाव दिएका हुन् ।

अधिवेशनमा टोलीको निष्कर्ष सुनाउँदै ओम शर्माले पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको जानकारी गराए । पार्टीको नाम फेर्ने विषयमा समूहगत छलफलबाट मिश्रित प्रतिक्रिया आएको छ ।

पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने कि केन्द्रीय समितिबाट ?

माओवादीमा प्रत्यक्ष निर्वाचन विधिबाट जाने प्रस्ताव राखिएको छ । निर्वाचनमा जाँदा महाधिवेशन हलले केन्द्रीय समिति चुन्ने र केन्द्रीय समितिले पदाधिकारी निर्वाचित गर्नुपर्ने एक खालको मत छ । महाधिवेशन हलले नै पदाधिकारी चुन्नुपर्ने मत अर्को खालको छ ।

आफ्नो समूहबाट सुझाव पेस गर्ने क्रममा नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने सुझाव दिए ।

ओम शर्माले पनि प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

अर्को समूहबाट कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने बताए ।

युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने धारणा आएको सुनाए । 

चुनाव चिह्न फेर्न प्रस्ताव

विधान अधिवेशनमा चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव पनि आएको छ । परशुराम रम्तेलले चुनाव चिह्न फेर्नुपर्ने सुझाव प्राप्त भएको ब्रिफिङ बैठकमा गरे ।

त्यस्तै, हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको बताए । उनले सबै पार्टी समितिलाई साना र छरितो बनाउनुपर्ने सुझाव दिए ।

सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको जानकारी गराए ।

प्रज्ञा प्रतिष्ठानमा मंगलबारबाट सुरु भएको विधान अधिवेशनमा विधानको मस्यौदामा छलफलका लागि २० समूह बनाइएको थियो । बाँकी सात समूहको निष्कर्ष बिहीबार प्रस्तुत हुने छ ।

माओवादीले विधानमा विवादित विषयमा भोलि नै टुंगो लगाउने तयारी गरेको छ । “विवादित विषयमा टुंगोमा पुग्न बिहान पदाधिकारी बैठक बस्ने छ । सम्भव भएसम्म भोलि नै केन्द्रीय समिति बैठक बस्ने तयारी पनि छ,” एक नेताले भने ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्