काठमाडौं । ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन् ।
बैतडीको पुर्चौडी नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४, नैकापमा डेरा गरी बस्ने २४ वर्षीया अमिलाकुमारी साउदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
साउदले आफू नेपाल प्रहरीको ‘प्रहरी नायव निरीक्षक हुँ’ भन्दै एक महिलालाई प्रलोभनमा पारेर नगद ठगेको प्रहरीले जनाएको छ । उनले दैलेखको नारायण नगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारेकी थिइन् । उनीबाट नगद एक लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
साथै, उनको साथबाट नेपाल प्रहरीको पोसाक एक जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न एक थान, नेमप्लेट एक थान, बुट एक जोर, बेल्ट एक थान र मोबाइल एक थान समेत बरामद गरिएको जनाइएको छ ।