site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओपनर अनिल र भीमले शतक बनाउँदा क्यानडाविरुद्धको शृंखलामा नेपालको ‘क्लिन स्विप’
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । ओपनर अनिलकुमार साह र भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्ध नौ विकेटको सानदार जित निकाल्दै एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओपनर र तेस्रो क्रमका ब्याटरले शतक बनाएपछि क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीम दुवैको यो पहिलो शतक हो । 

Anil-1707734350.jpg
 

Dabur Nepal
NIC Asia

एक वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका अनिलले अविजित ११२ रन बनाए । हालसम्मकै सबैभन्दा उच्च व्यक्तिगत स्कोर बनाएका अनिलले १२४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।

धैर्यपूर्ण ब्याटिङ गरेका अनिलको सुरुआत भने आक्रामक थियो । उनले दोस्रो ओभरमा लगातार चार चौका प्रहार गरेका थिए । अनिलले क्यानडाका उदय भगवानले बलिङमा  दोस्रो ओभरको पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरेका थिए ।  

४४.३ ओभरमा नेपालले एक विकेट गुमाएर २२८ रन बनाएको थियो । जितका लागि पाँच रन आवश्यक हुँदा सोही ओभरको चौथो बलमा छक्का प्रहार गर्दै अनिलले ‘क्लिन स्विप’ निश्चित गरेका हुन् ।

५१ बलमा आठ चौकासहित ५० रन पूरा गरेका अनिलले अर्धशतकपछि पनि ‘सेलिब्रेसन’ भने गरेका थिएनन् । ५७ रनमा खेलिरहँदा जीवनदान पाएका अनिलले त्यसको राम्रो सदुपयोग गर्न सफल भए । क्यानडाको निखिल दत्तले गरेको २०औँ ओभरको दोस्रो बलमा नवनित धलिवाल अनिलको क्याच मिस गरे । क्याचबाट बचेपछि उनले टिमको खातामा ५५ रन थपे ।

Bhim-1707734350.jpg
 

तेस्रो क्रममा ब्याटिङमा लागि आएका भीमले पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत उच्च स्कोर बनाउँदै नेपालको जितमा अविजित १०१ रन थपे । समय लिएर ब्याटिङ गरेको भीमले १२९ बलमा ११ चौका र एक छक्का प्रहार गरे । 

अनिल र भीमले नेपालबाट कीर्तिमानी ब्याटिङ गर्दै १८९ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि गत वर्ष एकदिवसीय विश्वकप छनोटमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले जिम्बाब्वेविरुद्ध १७१ रनको साझेदारी गर्दै यो कीर्तिमान तोडेका थिए । 

Cricket_Nepal_5-1707734160.jpg
 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट दुई ब्याटरले शतक बनाएको पनि यो पहिलो पटक हो ।

भीम पनि २१औँ ओभरको पहिलो बलमा आउट हुनबाट बचेका थिए । साहिद अहमदजाईले गरेको उक्त ओभरको पहिलो बलमा स्ट्राइकमा रहेका अनिलले बल ‘डिफेन्ड’ गर्दा ननस्ट्राइकका भीम रनका लागि दौडिएका थिए । तर, बल नजिकै रहेकाले अनिलले रनका लागि इन्कार गर्दा भीम बीच क्रिजबाट पुनः नन स्ट्राइक एन्डमा फर्किनु परेको थियो । विकेटअघि रहेका साहिदीसम्म बल पुग्नुअगावै भीम लाइन पार पुगेपछि रनआउट हुनबाट मुश्किलले जोगिएका थिए ।

त्यसअघि अनिलले पहिलो विकेटका लागि अर्का ओपनर कुशल भुर्तेलसँग पाँच ओभरमा ४५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । भुर्तेलले टिमको स्कोरबोर्डमा १३ रन थपे ।

पाँचौँ ओभरको चौथो बलमा भुर्तेलले जीवनदान पाएका थिए । दिलोन हाइलिजरले गरेको उक्त ओभरको चौथो बलमा क्यानडाका फिल्डरले भुर्तेलको क्याच मिस गरेका थिए । तर, भुर्तेलले उक्त जीवनदानको सदुपयोग गर्न भने सकेनन् । सोही ओभरको पाँचौँ बलमा चौका प्रहार गरे पनि अन्तिम बलमा बोल्ड भएपछि भुर्तेल १४ बलमा तीन चौकासहित १३ रन थपेर आउट भए ।

क्यानडाका लागि एकमात्र विकेट दिलोन हाइलिजरले लिए । ६ ओभर बलिङ गरेका उनले ३१ रन थपे ।

पहिलो इनिङ : क्यानडाका ओपनरको धैर्यपूर्ण अर्धशतक, ‘डेब्युट्यान्ट’ हेमन्तलाई तीन विकेट

त्यसअघि ओपनर नवनित धलिवालले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रनको योगफल खडा गरेको थियो । 

क्यानडाबाट धैर्यपूर्ण ब्याटिङ गरेका ओपनर धलिवालले सबैभन्दा धेरै ५० रन बनाए । ललितनारायण राजवंशीको बलमा आकाश चन्दबाट क्याच हुनुअघि उनले धलिवालले ८२ बलमा पाँच चौका प्रहार गरेका थिए ।

निखिल दत्तले ६२ बलमा दुई चौका र एक छक्कासहित ४५ रन थपे । आक्रमक रूपमा प्रस्तुत भएका कप्तान साद बिन जफरले १५ बलमा तीन चौका र दुई छक्कासहित अविजित ३१ रन जोडे । हर्ष थाकेरले ५७ बलमा दुई चौकासहित २९ रन बनाए । श्रेयस मोभ्वाले २५ र श्रीमन्था विजयरत्नेले २२ रन थपे । 

Cricket_Nepal_-1707734134.jpg
 

पहिलो इनिङमा नेपालका ‘डेब्युट्यान्ट’ हेमन्त धामीले पनि तीन विकेट लिए । आठ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चिदै क्यानडाका ओपनर आरोन जोन्सन, दिलोन हाइलिजर र श्रेयान्स मोभ्वालाई पभेलियनको दिशा देखाएका हुन् । चोटका कारण दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा मौका नपाएका हेमन्तलाई पूर्व–कप्तान राजु बस्न्यातले ‘डेब्यु’ क्याप दिएका थिए ।

नेपालका कुशल मल्लले दुई विकेट लिए । किफायती बलिङ गरेका मल्लले १० ओभरमा एक मेडन फ्याक्दै ३८ रनमात्र खर्चिए । 

यसबाहेक, ललितनारायण राजवंशी र आकाश चन्दले समान एक विकेट लिए ।

Cricket_Nepal_10-1707734161.jpg
 

यो जितसँगै नेपालले तीन खेलको शृंखला ३–० ले जितेको हो । यसअघि नेपालले पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको क्यानडाविरुद्ध पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro