
काठमाडौं । नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य कुमार दसौँदीले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बिदा हुनुपर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
सरकारले एकथोक भनेर अर्कै काम गर्ने गरेको उनले उल्लेख गरे । उनले जनताका काम पूरा गर्न नसके पदबाट बिदा लिएर बस्नुपर्नेमा जोड दिए ।
“...जनताको हितमा काम गर्न नसके किन सरकारमा बस्ने ? मेरो जिम्मेवारी पूरा गर्न नसके म किन बस्ने, बिदा लिनुपर्छ । अर्को आएर बस्छ । अर्कोले काम सुरु गर्छ,” उनले भने ।
सांसदहरूले संसद्मा उठाएका विषय सम्बोधन नहुने हो भने बोल्नुको कुनै औचित्य नहुने उनले बताए । जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितलाई सरकारले आवश्यक राहत दिन नसकेको उनको भनाइ छ ।
सरकारले अस्थायी आवास नबनाइदिँदा चिसोका कारण ४५ भन्दा बढी भूकम्पपीडितको मृत्यु भएको उनले बताए । न्युज एजेन्सी नेपाल