site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

नेपाल सानो देश होइन, तर लघुताभासले गर्दा हामी सधैँ आफूलाई सानो र कमजोर देश भनेर चित्रण गर्न रुचाउँछौँ । यस्तो सोचका कारण हाम्रो आत्मविश्वास कमजोर भएर गएको छ । जसले गर्दा नेपालीले उत्तर र दक्षिण दुवैतर्फ सीमानाकामा हेपिने वा दुःख पाउने अवस्था सिर्जना भएको छ ।

विश्वका २०९ देशमध्ये जनसंख्याका आधारमा हामी ४५औँ र क्षेत्रफलका आधारमा ९३औँ स्थानमा छौँ । तथापि, हामीमा सानो देश भएको लघुताबोधका कारण हाम्रो सिमाना जोडिएका दुवै देशका सीमानाकाहरूमा नेपालको उपस्थिति कमजोर र अव्यवस्थित देखिएको छ ।

पूर्व, पश्चिम र दक्षिणमा करिब १,८०० किमि भारतको सिमाना छ भने उत्तरमा चीनसँग करिब १,४०० किमि लामो सीमा छ । भारतसँग नेपालको खुला सिमानाको लाभ र समस्या दुवै छ भने चीनसँग हाम्रा सीमानाका भूगोलका कारण नियन्त्रित छन् । तर, दुवैतर्फका स्थानीयलाई केही राहत दिइएको छ, त्यो अहिले केही विवादमा परेको छ ।

नेपालको भौगोलिक सिमानाको विषयमा भारतसँग लामो समयदेखि विभिन्न स्थानमा केही विवाद र छलफल चल्दै आएको छ । चीनसँग भने नेपालको भौगोलिक सिमानामा खासै विवाद देखिएको थिएन । हुम्लाको केही क्षेत्रमा चीनले नेपालको सीमाभित्र केही निर्माण गरेको भन्ने आरोप लगाए तापनि प्रमाणित भएको छैन । तर, करिब नौ वर्ष पहिले भारत र चीनले महाकाली नदीवारि रहेको लिपुलेक क्षेत्रलाई आपसी व्यापारको नाका बनाउने निर्णय गरेकाले नेपालले चीनसँग पनि चित्त दुखाएको छ ।

यहाँ उठाउन खोजिएको विषय भौगोलिक सीमा विवादको होइन । सर्वसाधारण नेपालीले दुवैतिरका सीमानाकामा भेदभावपूर्ण व्यवहार भोगेका सूचना बारम्बार आउन थालेको विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्‍यो र यथाशीघ्र समस्या समाधान गर्नुपर्‍यो भन्ने हो ।

आफ्ना देशका जनताको अधिकारको विषय उठाउन संसद् प्रमुख थलो हो । तर, संसद्‌मा पनि हाम्रो लघुताभास स्पष्ट देखिन्छ । भारतसँग नजिक भनिएको दलका नेताले चीनतर्फ देखिएको समस्या उठाउनु र चीनसँग नजिक भनिएका दलका नेताले भारततर्फको सीमानाकाको कुरो उठाउनुले यही कुरालाई स्पष्ट पार्दछ । तथापि, दुवैतर्फका सांसदले उठाएका नेपाली जनताका समस्या सम्बोधन गर्न सकेको खण्डमा मात्र सरकारले ठिक ढंगले काम गर्न सकेको भन्न सकिन्छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले चीनको सीमा क्षेत्रमा स्थानीय जनताले आवतजावत गर्ने कार्यमा चीनले रोक लगाएको विषय उठाएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले तिंकर नाकामा चीनले मानसरोवर जाने तीर्थयात्रीलाई रोक्न थालेको बताउँदै पहिले पास लिएर आवतजावत हुने गरेको स्मरण गराएका छन् ।

सोही समितिको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतले नेपालबाट भारत प्रवेश गर्ने नागरिकलाई निकै कडाइ गर्न थालेको भन्दै भारततर्फको सीमानाका व्यवस्थित गर्न माग गरेका छन् । भारत हुँदै नेपालमा तेस्रो देशका शरणार्थी प्रवेश गरेको विषय उठाउँदै उनले प्रश्न गरेका छन्, “यो देशमा जो आएर जे पनि गर्न हुने हो ?”

संसद्‌मा उठाइएका प्रश्न जायज, नाजायज कति हुन् ? के नेपालीले दुवैतर्फका सिमानामा दुःख पाएका हुन् ? यस विषयमा सरकारले तुरुन्तै खोजी गरी नेपालीलाई परेको समस्या समाधान गरोस् ।

सरकार आफैँ पनि लघुताभासमा परेर जनतालाई सहज पार्नुभन्दा छिमेकीलाई दुख्ला कि झैँ बोल्ने अवस्था छ, त्यस्तो नहोस् । नेपालीका लागि बोल्ने नेपालको सरकार छ भन्ने प्रमाण देओस्, समस्या समाधान गरोस् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro