काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालबाट ओपन कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट कुशलले ४४ बलमा आठ चौका र एक छक्कासहित ५० रन पूरा गरे ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो सातौँ अर्धशतक हो ।
जारी खेलको १४ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ७१ रन बनाएको छ ।
नेपालबाट हाल क्रिजमा रहेको कुशल भुर्तेल ५१ र कप्तान रोहितकुमार पौडेल आठ रनमा खेलिरहेका छन् । त्यसअघि, नेपालले अर्का ओपनर आसिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमाएको थियो ।
यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।