site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानको प्रहरी चौकीमा आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु 

पेशावर । उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौँ लडाकुले आक्रमण गर्दा कम्तीमा १० सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् ।

पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उमेदवार र पार्टीका समर्थकमाथि दर्जनौँ आक्रमण भइसकेका छन् ।

“चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेका थिए । खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले एएफपीसँग भने, “साढे दुई घण्टाभन्दा बढी सशस्त्र झडप भएको उक्त घटनामा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले डेरा इस्माइल खान जिल्लाको चौधवान प्रहरी चौकीमा भएको आक्रमणमा अन्य चार सुरक्षाकर्मी घाइते भएको जानकारी दिए ।

खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा वर्षौंदेखि पाकिस्तानी तालिवान, इस्लामिक स्टेट र अन्य समूहले सरकार र सुरक्षा लक्ष्यमा आक्रमण गर्नुका साथै सर्वसाधारणलाई लक्षित गर्नेगरेका छन् । 

गण्डापुरको स्थानीय प्रशासनले एएफपीलाई बताएअनुसार आक्रमणकारीहरूले सोमबार बिहान आक्रमणको क्रममा केही समयका लागि प्रहरी चौकीलाई नियन्त्रणमा लिएका थिए ।

गत हप्ता पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा रहेको एक सरकारी भवन परिसरमा बलोच पृथकतावादी समूहले लुकीछिपी आक्रमण गरेपछि भएको घटनामा २४ जना लडाकु मारिएको सेनाले जनाएको थियो ।

आक्रमण र त्यसपछिको खोजी कारबाहीमा चार सुरक्षाकर्मी र दुई सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रतिबन्धित बलोच पृथकतावादी समूह बलुचिस्तान लिबरेशन आर्मी (बीएलए)ले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले गत हप्ता खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतदान हुने बताएको थियो । हिंसा भड्किएपछि सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक गरी निर्वाचन कार्यक्रम यथावत् रहने बताएको थियो । 

मतदाताको सुरक्षाका लागि देशभर हजारौँ सुरक्षाकर्मी परिचालन गरिने सरकारले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्