काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालबीच जुहारी चलेको छ । केन्द्रीय परिषद्को बैठक समापन कार्यक्रममा सोमबार नेताद्वयबीच जनताको बहुदलीय जनवाद (जबज) को विषयमा सवाल–जवाफ भएको हो ।
खनालले जबज मान्ने भए एमालेमा नै किन नजाने भन्ने प्रश्न उठ्ने बताए ।
“कहिले हामी जबज पनि भन्छौँ, कहिले समाजवाद पनि भन्छौँ । कता जाने त ? जबजै तपाईं भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ त मान्छेले । ठूलो जबजवाला त एमाले छ । हामीले जबज भन्यौँ भने त हामील भनको सुन्ने भन्दा केपीले भनेको बढ्ता सुन्ने खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ,” खनालले भने ।
जवाफमा अध्यक्ष नेपालले जबज छाडे पार्टीको पहिचाच समाप्त हुने बताए ।
“जनताको बहुदलीय जनवादले हाम्रो पार्टीलाई नयाँ उचाइमा पुर्याएको छ । यसलाई हामीले छाड्यौँ भने यो पार्टीले आफ्नो इतिहास गुमाउने छ । यो पार्टीको पहिचान समाप्त हुने छ,” बैठकमा उठेको प्रश्नको जवाफ दिँदै नेपालले भने ।
प्रस्तावनाको पहिलो वाक्य नै सच्याउन माग
त्यसो त सम्मानित नेता खनालले पार्टीको प्रस्तावित विधानको प्रस्तावनामा नै प्रश्न उठाए । उनले केन्द्रीय परिषद्को बैठकमा विधानको प्रस्तावनाको पहिलो वाक्यमा नै प्रश्न गरे ।
‘नेपाल कम्युनिस्ट पार्टी आम नेपाली जनता तथा सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो,’ प्रस्तावित विधानको पहिलो वाक्यमा भनिएको छ ।
कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको प्रतिनिधि पार्टी भएकाले आमजनता राख्न नहुने भनाइ खनालको छ ।
“नेपाल कम्युनिस्ट पार्टी भनेको श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । यो एउटा वर्गको पार्टी हो । सबै वर्गको हुँदैन,” उनले भने, “आम जनताभन्दा श्रमजीवी, किसान, निम्न पुँजीपति वर्ग र निश्चित हदसम्म राष्ट्रिय पुँजीपति वर्ग पनि बुझ्छौँ ।”
खनालले प्रतिनिधित्व गर्नु र प्रतिनिधि हुन फरक कुरा भएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।
त्यस्तै, उनले प्रस्तावित विधानमा 'लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवाद' भनेको विषयमा पनि प्रश्न तेर्साए ।
“के अहिलेसम्मका समाजहरू लोकतान्त्रिक मूल्यमान्यताविहीन थिए ? समाजवादी व्यवस्था अलोकतान्त्रिक हुन् ? हामी के अर्थमा लोकतान्त्रिक समाजवादको कुरा गर्छौं । यस्ता कुरालाई विनाव्याख्या हाम्रो विधानमा राख्नु हुँदैन,” खनालले भने ।
सम्मानित नेता खनालले जबजको औचित्य नरहेकाले त्यसलाई अघि बढ्न नसकिने बताउँदै आएका छन् । पार्टीको महाधिवेशनअघि नै एकैमत बनाएर जानुपर्नेमा नेताहरूको जोड छ ।
यस्तो छ दुई नेताको जबजबारेको सवाल–जवाफ
झलनाथ खनाल
तपाईंहरूमध्येले नै भनिहाल्नुभयो । जबजको कुरा यसबाट हटाऔँ । जबजको रक्षा यसमा गर्ने कुरा गर्यौँ भने हामीले जनवादी क्रान्तिको रक्षा गर्ने कुरा गरेको हो नि हैन ? जनवादी क्रान्तिका हामीले तीन चारवटा कार्यक्रम अघि सार्यौँ । पहिले कमरेड पुष्पलालले अगाडि सार्नुभएको कार्यक्रम नयाँ जनवादी कार्यक्रम थियो, २००८ सालमा अगाडि सारेको कार्यक्रम । त्यसपछि २०१९ सालमा तुल्सिलाल कमरेडले राष्ट्रिय जनवादको कार्यक्रम अघि सार्नुभयो । त्यसपछि हामीले फेरि जनवादी कार्यक्रम नै अघि सार्यौँ । कसैकसैले यसलाई जनताको जनवादी कार्यक्रम पनि भने । पछिल्लो अवधिमा हामीले जनताको बहुदलीय जनवाद भन्यौँ । यी जनावादी क्रान्तिका कार्यक्रम हुन् ।
कि रक्षा गर्दा सबैको रक्षा गर्नुपर्यो, यदि औचित्य छ भने । होइन भने ती कार्यक्रमहरू हिजोको क्रान्तिका कार्यक्रम हुन् । अब हामी सबैले समाजवादी क्रान्तिको पक्षमा उभिनुपर्छ । हिजो कुनै कामहरू गर्न सकिएको छैन । अधुरो छ भने के गर्ने त ? ती अधुरा कार्यक्रमलाई हामीले आजको कार्यक्रमका अंग बनाएर जानुपर्छ । जस्तो कमरेड पुष्पलालले नयाँ जनावादी कार्यक्रम अघि सार्नुभयो । नयाँ जनवादी कार्यक्रमले केलाई प्रहार गर्थ्यो ? सामन्तवादलाई, दलाल नोकरशाह पुँजीवादलाई र साम्राज्यवादलाई ।
अहिले हामीले सामन्तवादलाई समाप्त गर्यौँ । पुँजीवाद र साम्राज्यवादलाई समाप्त गरेको छैन । त्यसो हुनाले समाप्त गर्न नसकेको कार्यक्रम अब के हुन्छ ? यो कार्यक्रम सकिएको छैन, त्यसो हुनाले नयाँ जनवादको उपादेयता अझै छ भन्न मिल्दैन । किनभने हामी क्रान्तिको नयाँ चरणमा आइसक्यौँ । दलाल पुँजीवाद अथवा दलाल नोकरशाह पुँजीवादको विरोध गर्ने कुरा, साम्राज्यवादको विरोध गर्ने कुरा अब हाम्रो समाजवादी क्रान्तिका अभिन्न अंग हुन्छन् । त्यसरी जानुपर्ने हुन्छ । त्यसैले प्रस्तावना नै हामीले समग्ररूपमा नयाँ प्रस्तावना लेख्नुपर्ने छ । यसमा हामीले सच्याउनुपर्ने छ । महाधिवेशनमा पारित गर्ने विधान बनाउन बाँकी छ ।
महाधिवेशनमा जाँदा नीति, कार्यक्रममा स्पष्ट हुनुपर्दछ । कहिले हामी जबज पनि भन्छौँ, कहिले समाजवाद पनि भन्छौँ । कता जाने त ? जबजै तपाईं भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ त मान्छेले । ठूलो जबजवाला त एमाले छ । हामीले जबज भन्यौ भने त हामील भनको सुन्ने भन्दा केपीले भनेको बढ्ता सुन्ने खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ । समाजवादमा जाने हो भने समाजवाद र पुँजीवादबीचको भिन्नता के हो ? यो कुराको बारेमा शीरदेखि तीरसम्म छ्याङ हुनुपर्यो । अनि मात्रै हामी समाजवादको बाटोमा जान्छौँ । पुँजीवाद र समाजवादमा त आधारभूत होइन कि गुणात्मक भिन्नता छ । यो गुणात्मक भिन्नताबारे हाम्रो पंक्ति प्रस्ट छैन । प्रस्ट पार्नका लागि व्यापक बहस, अध्ययन जरुरी छ ।
जबजको बारेमा किन लेनिनले किन जबज मान्नुभएन ? बहुदलीय जनवाद त रुसमा पनि थियो किन मान्नुभएन ?
माधव नेपालको जवाफ
जनताको बहुदलीय जनवादले हाम्रो पार्टीलाई नयाँ उचाइँमा पुर्याएको छ । यसलाई हामीले छोड्यौँ भने यो पार्टीले आफ्नो इतिहास गुमाउने छ । यो पार्टीको पहिचान समाप्त हुने छ ।
२०४९ सालमा पनि पाँचौँ महाधिवेशन गर्दा निकै बहस गरेका थियौँ । यसको आवश्यकता र महत्त्वको बारेमा परिचर्चा भएको थियो । यो काम नलाग्ने कुरा हो भनेर पनि बहस भएको थियो ।
व्यवहारले देखायो, जनताको बहुदलीय जनवादलाई अवलम्बन गरेपछि हाम्रो पार्टीले विश्वको कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश लियो । नयाँ विचार अगाडि सार्यो । कम्युनिस्ट पार्टीले बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट जनताको बीचमा जाने र अनुमोदित हुने काम गर्नुपदर्छ भन्ने नयाँ विचार अगाडि सार्यो ।
त्यसो हुनाले समाजवादमा जाँदा समाजवादी क्रान्ति अवलम्बन गर्दाखेरि जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो । एकातर्फ हामीले व्याख्या गर्ने कि साम्राज्यवादको आक्रामक चरित्र देखिँदै छ । कम्युनिस्ट विरोधी उनीहरूका गतिविधि र अभियान चलिरहेका छन् ।
अनि कम्युनिस्ट पार्टीहरूलाई एकाधिकारवादी, एकल अनि अधिनायकवादी पार्टीको आरोप लागिरहेको स्थिति छ । त्यस्तो स्थितिको सामना गर्नका लागि हामीले नै हाम्रो मुलुकमा आन्दोलनमा विकास गरेको यो विचारलाई त्याग्न सकिँदैन ।
त्यसो हुनाले जनताको बहुदलीय जनवादी क्रान्तिको सन्दर्भका कुराहरू हामीले एकचरणमा पूरा गरेका छौँ । तर, त्यसमा बहुदलीय प्रतिष्पर्धाका मान्यता जुन छन्, त्यसलाई छाड्न सकिँदैन ।
बहुदलीय प्रतिष्पर्धाको मान्यतालाई छोडेर एक दलीय तानाशाही व्यवस्थामा जान सकिँदैन । त्यसो हुनाले हामी बहुदलीय प्रतिष्पर्धाको वकालत गर्छौं । त्यसको प्याटेन्ट राइट हामीसँग छ ।
त्यसको नेता मदन भण्डारी कम्युनिस्ट आन्दोलनका त्यस्तो विचारक हुनुहुन्थ्यो । जसले यो विचार अगाडि सार्नुभयो । त्यसो हुनाले जनताको बहुदलीय जनवादको उपादेयता सकियो यसको कुनै काम छैन, यसलाई मिल्काइदिऊँ भन्ने खालको मान्यता त्यो आत्मघाति, आत्मसमर्पणवादी मान्यता हो ।
ठिक माओत्सेतुङ विचार धारा अब सकियो भनेर चिनियाँ कम्युनिस्ट पार्टीले भनेको भए के हुन्थ्यो होला ? त्यसो हुनाले यस्ता खालका विचारमा हामी बहस गरौँला । त्यसको उपादेयता छ । त्यसको मान्यता, मूल्यहरू किन आवश्यक छन् भन्ने कुरामा हामी बहस गरौँला ।