‘तपाईं नरिसाउनु होला, मलाई तपाईं खासै मन पर्दैन । मैले तपाईंको फिल्म पनि हेरेको छैन । तपाईं को हो म चिन्दा पनि चिन्दिनँ । तर, मेरा बुवाआमा एक्लै बसेर मोबाइल हेर्दै घरी मुसुमुसु त घरी खित्का छोडेरै हाँस्नुहुन्थ्यो । मेरा छोराछोरी पनि उहाँहरूसँगै बसेर हाँस्थे । धेरै समय त मैले वास्ता गरिनँ, तर सधैँ त्यसरी हाँसेको र नातिनातिना पनि सँगै रमाएको देखेपछि उहाँहरू के हेरेर यसरी हाँस्नुहुन्छ भनेर हेर्दा तपाईंको प्रस्तुति हेरेर हाँस्नुहुँदो रहेछ । यही बहानामा मेरा छोराछोरीले नेपाली भाषा सिके । नेपाली कल्चर सिके । यो त आफैँमा राम्रो कुरा हो,’ करिब एक वर्षअगाडि बुद्धि (तामाङ) अमेरिका पुगेका बेला एक गैरआवासीय नेपाली उनलाई भेट्न आएर भने, ‘त्यसको सम्मानस्वरूप तपाईं यहाँ आएको थाहा पाएर म तपाईंलाई भेट्न आएको हुँ ।’ खादा र मालासहित बुद्धिलाई ती गैरआवासीय नेपालीले सम्मान गरे ।
बुद्धि आफैँ भावुक भए । आफूले गरेको कामले विदेशमा नेपाली भाषा र संस्कृतिलाई बचाउने काम पो गरिरहेको रहेछ भन्ने उनलाई लाग्यो । विदेशमा बस्ने नेपालीका छोराछोरीले आफ्नो कामबाटै नेपाली भाषा सिकिरहेको सुन्दा उनी अचम्मित भए ।
त्यहाँ रहेका नेपालीका सन्ततिले नेपाली भाषा बिर्सन लागेको उनले अनुभूत गरे । गम्भीर भएर सोच्दा उनै बुद्धिको मातृ अर्थात् तामाङ भाषा नेपालमा अहिले कतिले बोल्छन् ? कतिले बुझ्छन् ? जवाफ खोज्ने हो भने अहिलेको अधिकांश तामाङ युवा पुस्ताले मातृभाषा बोलेको सुनिँदैन । बुझ्न पनि छोडिसके ।
त्यसो हो भने आफ्नै भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि मैले काम गर्नु पर्दैन ? बुद्धिले आफैँलाई प्रश्न गरे । गर्दै नगरेको त होइन, सिनेमामा अलि धेरै तामाङका विषय अटाए पनि नाटकमा निकै कम छ ।
मण्डला थिएटर खोल्दा उनीहरूको कार्ययोजनामै थियो– माटोको कथा भन्ने । नेपाली मौलिक कला–संस्कृति झल्कने नाटक निर्माण र मञ्चन गर्ने । मण्डलाले कार्ययोजनाअनुरूप केही काम नगरेको पनि होइन । तर, मण्डलाका धेरै संस्थापक सिनेमामा व्यस्त भए । पूर्वयोजनाअनुरूप अपेक्षित काम हुन सकेन । अमेरिकामा भएको एक भेटले उनलाई आफ्नै संस्थाको कार्ययोजनालाई सम्झाइदियो । आफ्नै कला–संस्कृति र भाषामा काम गर्न नैतिक दबाब दियो । गरेका पनि छन् । अझै धेरै गर्न सकिन्थ्यो होला, किन भएन ? जवाफ उनी स्वयंसँग थियो ।
त्यसपछि उनले निर्णय गरे– तामाङ भाषा र कल्चरमा एउटा नाटक बनाउँछु । आफैँले देखेभोगको विषय र बोलेको भाषामा नाटक बनाउनु थियो । साथीभाइ र नजिकका शुभचिन्तकसँग कुरा गरे ।
लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबत सहकार्य गर्न तयार भए । उनीहरू तीनजनाले नाटक लेखे । निर्देशन सहकर्मीका रूपमा बुद्धिसँग जोडिए सोनाम लामा ।
नाटकले तामाङ समुदायको संस्कार र संस्कृतिको कथा भन्ने भयो, रुमानी कल्पनाभन्दा पनि यथार्थको जगमा टेकेर ।
आफ्नो संस्कार र संस्कृति यस्तो छ भनेर तामाङ मात्र होइन, त्यसबाहिरको ठूलो समुदायलाई पनि देखाउनुपर्ने थियो । नाटकका नियमित दर्शकलाई त झन् बोलाउनु नै थियो । त्यसैले तामाङ भाषामा नेपाली पनि मिसाए । अझ भनौँ, नेपाली भाषामा तामाङ भाषा मिसाए ।
तामाङ समुदायमा चार खम्बा हुन्छन्, १. लामा २. बोन्पो ३. ताम्बा र ४. चोहो ।
लामा आत्मासँग जोडिएको कुरा गर्छ । बोन्पोले देवीदेउता, प्रकृतिपूजाको प्रतिनिधित्व गर्छ । ताम्बा तामाङको इतिहासको कुरा गर्छ । चोहोले अहिलेको समाजलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा गर्छ ।
यीमध्ये बोन्पो कल्चर अहिले पनि तामाङ समुदायमा छ । प्रकृति र देवीदेउताको पूजा अहिले पनि गरिन्छ । देवीदेवतालाई मान्ने क्रममा आत्मालाई बोलाउने चलन छ । जोखाना हेर्ने कल्चर अहिले पनि छ । ‘आत्मालाई बोलाएर गफ गरे’ पुराना कुरा आउँछ, पुर्खा केमा असन्तुष्ट छन् त्यो थाहा पाए, उनीहरूलाई खुुसी बनाए, पुत्रलाई लाभ हुन्छ भन्ने तामाङ समुदायमा विश्वास छ । पुर्खा बिर्सिए पुत्रलाभ हुँदैन भन्ने कथन तामाङ समुदायमा छँदै छ ।
“तामाङ समुदायमा रहेको यो विश्वाससँग हामीले द्वन्द्वकालीन घटना जोड्यौँ, जसका कारण तामाङ बस्तीहरू विस्तारै विस्थापित हुँदै छन्,” बुद्धि भन्छन्, “राज्यसत्ताको नीति–नियमका कारण मात्रै होइन, अन्य थुप्रै विभेदका शृंखला यसका कारक छन् ।”
तामाङ बस्तीछेउमा निकुञ्ज छन्, त्यहाँ वनस्पति र जनावरलाई संरक्षण छ । तर, सँगै बस्ने मानवलाई संरक्षण छैन भन्ने प्रसंग नाटकमा जोडे । आफूहरू निकुञ्जविरोधी नभई जनावर र वनस्पतिलाई जति महत्त्व तामाङ समुदायलाई नदिएको सन्दर्भ उठाउन खोजेको उनी स्पष्ट पार्छन् । तामाङ समुदाय र आफूहरूको कला–संस्कृति देखाउने प्रयास गरेको र त्यसमा द्वन्द्वकालीन घटना जोडेको बुद्धि सुनाउँछन् ।
कथा भन्न उनलाई एउटा ‘फर्म’ चाहिन्थ्यो । त्यसका निम्ति बुद्धिले बोन्पो कल्चर रोजे । आत्मा र पुर्खा रिसाए पिर्छ भन्ने सन्देशसहित उनले उपेक्षित समुदाय, कल्चर र भाषाको नाटक तयार परे ।
“तामाङहरू भाषा र लबज नमिलेकै कारण धेरै ठाउँमा फसेका छन्, जसरी नाटक ‘मासिन्या’मा भाषाको लबज नमिल्दा तामाङ समुदाय फसेको छ । विस्थापित भएको छ,” बुद्धि भन्छन्, “थुप्रै तामाङ बोल्दा लबज नमिलेका कारण अहिले पनि जेलमा छन् । सजाय भोगिरहेका छन् । त्यसलाई देखाउने मन थियो, देखायौँ ।”
‘मासिन्या’ले समग्र तामाङ कल्चर नै जेगाउँछ भन्ने बुद्धिमा भ्रम छैन । तामाङ समुदायको संस्कृतिमै क्रान्ति ल्याउँछ भनेर पनि उनले बनाएका होइनन् । तर, धेरै सत्य, थोरै काल्पनिक, अलिअलि हाँसो, अलिअलि रोदनको कथा भन्ने प्रयास गरेको उनी बताउँछन् ।
राणाकालीन समयमा एउटा समुदाय थियो, जसलाई काटे वा मारे पनि कानुन लाग्दैन थियो । त्यो जाति थियो, तामाङ । जसलाई मासिन्या भनिन्थ्यो । जनजातिमा पनि मासिन्या तामाङमा मात्र लागु हुन्थ्यो । राणाकालीन त्यही शब्द र नियममा प्रयोग गरिने मासिन्यालाई बुद्धिले आफ्नो नाटकको टाइटल बनाए ।
“कुनै एक जाति वा उसको भाषा मासिनु मात्रै ठूलो कुरा होइन । यो त एउटा प्रतिनिधि जाति वा संस्कृति मात्रै हो,” उनी अगाडि थप्छन्, “संस्कृति र भाषाका हिसाबले हामी विश्वकै धनी हौँ । तर, अहिले जनजाति मात्रै होइन, नेपाली भाषा नै संकटमा पर्ने अवस्था आइसक्यो । एउटा भाषा मात्रै मासिए पनि त्यो हाम्रा ठूलो क्षति हो ।”
एउटा भाषा बन्न लाखौँ वर्ष लाग्छ । अहिले नेपालबाट कतिपय भाषा लोप हुने क्रममा छन्, यसलाई पनि उठाउनु थियो, बुद्धिले उठाए ।
“हामीले तामाङको कल्चर नाटकमार्फत भन्दै गर्दा हामी आफैँले तामाङ भाषामा यो नाटक देखाउन सकेनौँ,” उनी स्पष्ट पार्छन्, “हामी पहिलो त धेरैले बुझ्नु र हेर्नुपर्छ भन्ने कारणले पूरै भाषा तामाङ प्रयोग गर्न सकेनौँ । अर्को कुरा, म, हाम्रा सबै कलाकार स्वयं तामाङ भाषा बोल्न मात्रै होइन, बुझ्न पनि सक्दैनन् ।”
आफ्नो कुरा भन्न अरूको भाषालाई माध्यम बनाउनुपर्ने अवस्था आउनु राम्रो नभएको उनकै निष्कर्ष छ ।
नाटकको उद्देश्य तामाङ कल्चर देखाउनु थियो । त्यसैले सकेसम्म धेरै ठाउँका तामाङ कलाकारलाई समेट्नु थियो । तीनजना नाटकमा देखिइसकेका कलाकार र बाँकी बुद्धि र सोनामले नयाँ लिए ।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौंलगायत जिल्लाका तामाङ समुदायबाट कलाकार लिए । कारण, ठाउँअनुसार तामाङ भाषा र कल्चर फरक छ, त्यो आओस् भन्ने थियो । तर, अधिकांश उनीहरू तामाङ भाषा नै बोल्न जान्दैन थिए ।
“तामाङ कलाकार थुप्रै हुनुहुन्छ, तर उहाँहरूलाई आफ्नो भाषा आउँदैन । यो नाटकमा पनि त्यही भयो । तामाङ भाषा र कल्चरप्रति त उहाँहरूलाई इन्ट्रेस्ट थियो, तर भाषा आउँदैन थियो,” उनी भन्छन्, “त्यही भएर यो नाटकमा धेरै तामाङ भाषा प्रयोग गर्न सकिएन । उहाँहरूले नाटकको रिहर्सलका क्रममा धेरै तामाङ शब्द सिक्नुभयो ।”
द्वन्द्वका उपलब्धि थुप्रै होलान्, नकारात्मक पाटा पनि छन् । त्यसक्रमका हिंसाले परिवार मासिएका छन् । भाषाको लबज नमिलेकै भरमा प्रशासनले गर्ने व्यवहार र गाउँमा कथित टाठाबाठाले भ्रममा राखेर लुटिरहेको प्रसंग नाटकमा छ । बन्न लागेको परिवार गाउँकै हुनेखाने र प्रशासनमा पहुँच हुनेहरूले कसरी भत्काइरहेका छन्, त्यो नाटकमा देखाउन खोजेको बुद्धि बताउँछन् ।