काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालले नवौँ विकेट लिएको छ ।
शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका दीपेश कँडेलले अफगानिस्तानका नासिर खानलाई पभेलियनको दिशा देखाए । जारी खेलमा दीपेशको यो दोस्रो विकेट हो ।
नासिर खानले नवौँ विकेटका लागि फरिदुन दावुदजाईसँग ५५ रनको साझेदारी गर्दै अफगानिस्तानलाई सम्मानजनक योगफलसम्म डोहोर्याएका थिए । त्यसअघि अफगानिस्तानले ८८ रनमा आठौं विकेट गुमाएको थियो ।
जारी खेलको ३९ ओभर समाप्त हुँदा अफगानिस्तानले नौ विकेट गुमाएर १४५ रन जोडेको छ ।
नेपालबाट यसअघि आकाश चन्दले पाँच विकेट लिँदा गुल्सन झा र तिलक भण्डारीले समान एक विकेट लिएका थिए ।
यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।
आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।
यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।