काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालका आकाश चन्दले घातक बलिङ गरेपछि अफगानिस्तानले ५० रन नजोड्दै ६ विकेट गुमाएको छ ।
शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका आकाशले नै नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।
आकाशले ११.३ ओभरमा अफगानिस्तानका हसन एइसाखिललाई दीपेश कँडेललमार्फत क्याच गराए । जारी खेलमा आकाशले लिएको यो पाँचौँ विकेट हो । यसअघि आकाशले दोस्रो ओभर, छैटौँ ओभर, आठौँ र १०औँ ओभरमा विकेट लिएका थिए । नेपालबाट अर्को एक विकेट भने गुल्सनकुमार झाले लिएका थिए ।
जारी खेलको १२ ओभर समाप्त हुँदा अफगानिस्तानले ६ विकेट गुमाएर ४७ रन जोडेको छ । नेपालबाट घातक बलिङ गरिरहेका आकाशले ६ ओभरमा पाँच विकेट लिँदा नौ रनमात्र खर्चिएका छन् ।
यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।
आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।
यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।