विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका भनाइमा राष्ट्रियसभा निर्वाचनको उमेदवार चयन दुईवटा समूहभित्र राखेर गरियो । कृष्णप्रसाद सिटौलाको नाम सर्वसम्मतिले नै टुंगो लागेको थियो ।
“हाम्रो दलको मात्र बनाएर हुँदैन थियो । अरूको मत पनि चाहिने । उहाँ (कृष्ण सिटौला) अध्यक्षको उमेदवार हुँदामात्र कांग्रेसले प्राप्त गर्ने अवस्था हो,” महामन्त्री थापाले बाह्रखरीसँग भने, “त्यसकारण छलफल गर्दा नै पहिले सर्वसम्मतिले नाम टुंगो लगाएर मात्र अन्य विषयमा हामी पुगेका थियौँ ।”
कांग्रेस सभापति शेरबहादुर देउवा, शेखर कोइरालासहित आफूहरू दुई महामन्त्रीसमेतको सर्वसम्मत निर्णयले सिटौला सबैको साझा उमेदवार बनेको थापाले सुनाए ।
राष्ट्रियसभा अध्यक्ष संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले परिपक्व नेतृत्व सिटौलाबाटै पूरा हुने थापाको विश्वास छ ।
“एउटा सन्दर्भमा संघर्ष र भिन्न मत अनि लडाइँ पनि छ । तर, जब पार्टीले निर्णय गर्यो, सबैले मान्नैपर्छ,” उनले भने ।
थापाले पार्टीमा उमेदवार बनाउँदै गर्दा राष्ट्रियसभाको नेतृत्वको कुरा भएकाले सबै एउटै कित्तामा उभिएको सुनाए ।
कांग्रेस नेता डा. मिनेन्द्र रिजालले कांग्रेसमा महाधिवेशन र अन्यबेला प्रतिस्पर्धा हुने गरेको तर एक ढिक्का हुने बेलामा सबै एकै ठाउँ हुने संस्कार रहेको बताए । उनले पनि सिटौलालाई राष्ट्रियसभाको नेतृत्व दिन सहमति भएको बताए । “उहाँ उमेदवार हुँदा नै पार्टीमा त्यही सहमति भएको हो,” बाह्रखरीसँग रिजालले भने ।
सिटौला काठमाडौंबाट विराटनगर झर्दा राष्ट्रियसभाका लागि अरू उमेदवारको टुंगो नै लागेको थिएन । त्यसबेलै उनले आफूले संसदीय अभ्यासका क्रममा प्राप्त गरेको अनुभवलाई राष्ट्रियसभामार्फत थप अघि बढाउने बताएका थिए । विजयी भएपछि पनि सिटौलाले आफ्नो अनुभवलाई अझ सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
चुनाव प्रचारप्रसारकै क्रममा विराटनगरमै कांग्रेस नेता शेखर कोइरालाले सिटौलाले शान्ति प्रक्रियामा गहन जिम्मेवारी निर्वाह गरेकाले राष्ट्रियसभामा उमेदवार बनेको बताएका थिए ।
“उहाँ विजयी थप जिम्मेवारीसाथ अघि बढ्नु हुने छ,” कोइरालाले कांग्रेस प्रदेश कार्यालयमा गठबन्धनका नेतामाझ भनेका थिए ।
प्रतिनिधिसभामा दोस्रोपटक पराजित भई संसदीय प्रक्रियाबाट बाहिर रहेका सिटौला बिहीबार राष्ट्रियसभामा निर्वाचित भएसँगै नयाँ यात्रा सुरु भएको छ । तर, कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा रहन्छ अथवा सत्तायात्रामा लाग्छन् भन्ने तय हुन बाँकी नै छ ।
चुनाव प्रचारप्रसारकै क्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेता सिटौलालाई ‘राष्ट्रियसभाको नेतृत्वदायी भूमिकाकै लागि सबै नेता एकमत भई उमेदवार बनाएको’ बताएका थिए ।
सिटौला आफूले राष्ट्रियसभा अध्यक्षकै जिम्मेवारीमा रहने भन्ने स्पष्ट पारिसकेका छैनन् । उनका निकटवर्तीहरू भने अहिल्यै केही भन्न सक्ने अवस्था नरहेको सुनाउँछन् ।
कांग्रेसका एकजना कोसी प्रदेशसभा सदस्यले भने, “उहाँले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने चर्चा पनि उत्तिकै छ ।”
उमेरका कारण राष्ट्रियसभा अध्यक्ष भई राजनीतिबाट विश्राम लिने सम्भावना पनि उत्तिकै भएको ती सांसदले बताए ।
सिटौला माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर १२ बुँदे सम्झौता गराउन भूमिका खेल्नेमध्येका एक महत्त्वपूर्ण पात्र मानिन्छन् ।
उनी झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हराएका थिए । २०७० को दोस्रो संविधानसभामा लिङ्देनलाई सिटौलाले पराजित गरेका थिए ।
लिङ्देनले एमालेसँग तालमेल गरेर प्रतिनिधिसभामा चुनाव लड्दै आएका छन् । राष्ट्रियसभा निर्वाचनमा पनि राप्रपाका उद्धव थापालाई एमालेले साथ दिएको थियो । तर, गठबन्धन मतको बलमा सिटौला विजयी भए ।