site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा तीन क्लस्टरका लागि मतदान हुँदै, कस्तो छ मतभार ?

पोखरा । गण्डकीमा राष्ट्रियसभाको रिक्त तीन क्लस्टरका लागि आज मतदान हुँदै छ । अन्य, अपाङ्गता/अल्पसंख्यक र महिला क्लस्टरबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरूको कार्यकाल सकिने भएकाले मतदान हुन लागेको हो ।

राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, महिला क्लस्टरमा निर्वाचित दीपा गुरुङ र अपाङ्गता/अल्पसंख्यकतर्फ प्रकाश पन्थ २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका थिए । ०७४ को राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित यी तीनैजनाले गोलाप्रथा गर्दा ६ वर्षको कार्यकाल पाएका थिए ।

एमालेबाट निर्वाचित भएका तिमिल्सिना र गुरुङ तथा कांग्रेसबाट नियुक्त भएका पन्थको स्थानमा अहिले गठबन्धन दल एमाले र राप्रपाले गरी आठजना उमेदवार उठाएका छन् ।

केन्द्रका सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसले अन्य क्लस्टरमा गण्डकी कांग्रेसका महामन्त्री किरणबाबु श्रेष्ठ र अपाङ्गगता/अल्पसंख्यक क्लस्टरमा पदम परियारलाई उमेदवार बनाएको छ । महिला क्लस्टर पाएको माओवादी केन्द्रले मनरूपा शर्मा ‘विमला’ लाई उमेदवार बनाएको छ ।

एक्लै निर्वाचनमा होमिएको एमालेले अन्य क्लस्टरमा चक्रबहादुर पराजुली, महिला क्लस्टरमा सम्झना देवकोटा र अपाङ्गता/अल्पसंख्यक क्लस्टरमा हेमन्द्र शेरचनलाई उमेदवार बनाएको छ ।

प्रदेशसभामा दुई सिटमात्र रहेको राप्रपाले अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठलाई उमेदवार बनाएको छ ।

तीन क्लस्टरमा हुने निर्वाचनका लागि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि मतदान हुने छ । दुइटा मतदान केन्द्र बनाइएको छ भने दिउँसो तीन बजेसम्म मतदान चल्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

मतदान सकिएलगत्तै बिहीबार नै मतगणना हुनेछ भने साँझ नै अन्तिम मतपरिणाम आउने छ । 

गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १७० गरी कुल २३० जना मतदाता छन् । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली भने सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार छन् ।

कस्तो छ मतभार ?

सरसर्ती हेर्दा तीनै क्लस्टरमा गठबन्धनको जित निश्चित देखिन्छ । गण्डकीमा ६० प्रदेशसभा सदस्य, १७० स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष छन् । राष्ट्रियसभा निर्वाचनका निम्ति मतदाता यिनै हुन् । जसको कुल मतभार ६ हजार १४० हुन आउँछ ।

०७८ को जनगणनापछि प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढाएर ५३ कायम गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ पुर्‍याइएको छ । यसलाई आधार मान्दा गण्डकीमा एक्लाएक्लै प्रतिस्पर्धा गरे तीनै सिटमा कांग्रेस विजयी हुने देखिन्छ ।

कांग्रेसका तर्फबाट प्रदेशसभामा २७, स्थानीय तहमा नगरप्रमुख १५, उपप्रमुख ११, गाउँपालिकाका अध्यक्ष २१, उपाध्यक्ष २० जना निर्वाचित भएका छन् । ती २७ प्रदेशसभा सदस्यको मतभार एक हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार एक हजार २७३ हुन आउँछ । दुवै जोड्दा राष्ट्रियसभामा कांग्रेसको मतभार दुई हजार ७०४ हुन्छ ।

सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका तर्फबाट गण्डकीमा आठ प्रदेशसभा सदस्य छन् । उनीहरूको मतभार ४२४ हुन आउँछ । माओवादीबाट गण्डकीमा दुई नगरप्रमुख, सात उपप्रमुख, नौ गाउँपालिकाका अध्यक्ष र १२ उपाध्यक्ष छन् । उनीहरूको मतभार ५७० हुन आउँछ । प्रदेश र स्थानीय तह गरी माओवादीसँग कुल ९९४ मतभार छ ।

गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी)सँग ५३ मतभार छ । यो मतभार निर्विरोध निर्वाचित भई सो पार्टीमा प्रवेश गरेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)को हो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट एक नगरप्रमुख, गाउँपालिका अध्यक्ष एक र उपाध्यक्ष पनि एक छन् । यी तीन जनप्रतिनिधिको मतभार ५७ हुन आउँछ ।

गठबन्धनमा आबद्ध यी दलहरूको मतभार जोड्दा तीन हजार ८०८ हुन आउँछ । यो मतभारलाई आधार मान्दा गण्डकीका तीनै सिटमा गठबन्धनका उमेदवारको जित निश्चित छ ।

अर्कोतर्फ, एमाले गण्डकी प्रदेशसभाको दोस्रो ठूलो दल हो । एमालेका तर्फबाट २२ प्रदेशसभा सदस्य छन् । आठ नगरप्रमुख, नौ उपप्रमुख, २७ गाउँपालिकाका अध्यक्ष र २४ उपाध्यक्ष एमालेका तर्फबाट छन् ।

एमालेसँग प्रदेशसभा सदस्यको मात्र एकहजार १६६ र स्थानीय तहका जनप्रतिनिधिको एक हजार २९२ मतभार छ । प्रदेशसभा सदस्य र स्थानीय तहको गरी एमालेसँग कुल दुई हजार ४५८ मतभार छ । तर, एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली निलम्बित छन् । उनको १९ घटाउँदा एमालेसँग दुई हजार ४३९ मतभार रहन्छ ।

अर्को प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दुई प्रदेशसभा सदस्य छन् । उनीहरूको मतभार १०६ हुन आउँछ । गण्डकीमा मनाङ निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङ स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

कोसी प्रदेशमा एमालेसँग मिलेको राप्रपाले गण्डकीमा भने आफ्ना उमेदवार कायमै रहेको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro