गुरु रिम्पोछे भनेर पनि चिनिने गुरु पद्मसम्भव नेपालको बौद्ध परम्परा र बृहत् हिमाली क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्व हुन् । तिब्बत, भुटान, नेपाल र अन्य हिमाली क्षेत्रहरूमा प्रचलित बौद्ध धर्मको प्रमुख रूप बज्रयान बौद्ध धर्मको सन्दर्भमा उनको योगदान विशेष रूपमा उल्लेखनीय छन् ।
गुरु पद्मसम्भवले बज्रयान बौद्ध धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको योगदानलाई हीरक वाहन वा तान्त्रिक बौद्ध धर्म पनि भनिन्छ । उनले सिकाएका गूढ अभ्यासहरू, अनुष्ठानहरू र ध्यान प्रविधिहरूको प्रयोगलाई द्रुत रूपमा ज्ञान प्राप्त गर्न जोड दिएका छन् ।
गुरु पद्मसम्भवले नेपालमा धेरै गुम्बा, विहार र ध्यान केन्द्रहरू स्थापना गरेको विश्वास गरिन्छ । यी संस्थाहरूले बौद्ध शिक्षा, ध्यान र बौद्ध ग्रन्थहरूको संरक्षणका लागि केन्द्रका रूपमा सेवा गरेका छन् ।
हलेसी
पद्मसम्भव आफ्नी पत्नी मन्दर्वासँगै नेपालको खोटाङ जिल्लाको मरातिका गुफामा पुगेका थिए । मरातिका गुफामा उनले गोप्य तान्त्रिक अनुष्ठान गरेका थिए । त्यहाँ पद्मसम्भव दम्पतीले अमिताभ बुद्धको साक्षात्कार दर्शन गरेपछि दुवैले ‘पोवा इन्द्रेणी शरीर’ प्राप्त गरेको मानिन्छ ।
यो एक अतिदुर्लभ प्रकारको आध्यात्मिक ज्ञान हो, जसले अमर बज्र शरीरको अनुभूति गर्दछ । तिब्बती बौद्ध परम्पराअनुसार, पद्मसम्भव र उनकी पत्नी मन्दर्वाले मरातिका गुफामा अमरत्व (अमृता) प्राप्त गरे । तीर्थयात्रीहरू, विशेष गरी तिब्बती बौद्ध धर्मको निंंग्मा परम्परालाई पछ्याउनेहरू आफ्ना गुरु, रिम्पोछेलाई श्रद्धाञ्जली अर्पण गर्न र आध्यात्मिक अभ्यासहरू गर्न हलेसी आउँछन् ।
तेमाल
फर्पिङमा ध्यान सुरु गर्नुअघि पद्मसम्भवले काभ्रेपलाञ्चोक जिल्लाको तेमालमा ध्यान गरेका थिए । उनले तेमालमा ध्यान गरेका विशेष गुफाहरू छन् । यी गुफाहरूलाई बौद्ध धर्मालम्बीहरूले तीर्थस्थल मान्दै आएका छन् । तेमालमा पद्मसम्भवले रोपेका बोधिचित्त मोतीका लागि पनि परिचित छ । बोधिचित्त तेमालबाहेक अन्यत्र फल्दैन ।
फर्पिङमा आसुर गुफाहरू :
गुरु पद्मसम्भव काठमाडौं उपत्यकाको फर्पिङको आसुर गुफामा पुगेका थिए, जहाँ उनले १२ वर्ष बिताए । फर्पिङ काठमाडौं सहरको २२ किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ । उनले स्थानीय दुष्ट आत्माहरूलाई परास्त गरेर खडेरी अन्त्य गरे भन्ने भनाइ छ ।
काठमाडौं उपत्यकामा लामो खडेरीको कथा पनि गोरखनाथ र उनका गुरु मच्छिन्द्रनाथसँग सम्बन्धित छ । पद्मसम्भव वरिपरि पौराणिक कथा–किवंदन्तीजस्तै लागे पनि उनका गतिविधिहरूको प्रारम्भिक दस्ताबेजी प्रमाणहरू यथेष्ट मात्रामा अध्ययन भएका छन् ।
१०औँ शताब्दीका धेरै पाण्डुलिपि तिब्बतको डुन्हुआङको ‘पुस्तकालय गुफा’मा प्रामाणिक दस्ताबेजका रूपमा फेला परेका छन् । रिम्पोछेले गुफाहरूमा सैयौँ तान्त्रिक सूत्र र तन्त्र सिर्जना गरे । यी सूत्रहरूले बज्रकिलाको प्रचुर ज्ञानसहित तिब्बती बौद्ध धर्मका प्रमुख सिद्धान्तहरूको जग बसाल्यो ।
उनले गुफाहरूमा महामुद्राको ज्ञान प्राप्त गरे । प्राचीन नेवार बस्ती फर्पिङ पाँचौँ शताब्दीअघि स्थापना भएको मानिन्छ । धेरै पवित्र मूर्तिकलाहरूबीच गुफामा राखिएको पवित्र ढुंगाको स्ल्याबहरूमा रिम्पोछेका पैतला र हत्केलाका छापहरू छन् ।
यो गुफा एक पवित्र तीर्थ हो । यो गुफा ध्यानका लागि शुभ मानिन्छ । अन्यत्रभन्दा यहाँ छिटो बुद्धत्व प्राप्त गर्न सकिने विश्वास गरिन्छ ।
चुमिक चाङचुप : जागृतिको स्रोत
काठमाडौं उपत्यकाको पश्चिमतिरको बाइरोडको बाटो भनिने मध्यपहाडका घुमाउरो बाटोछेउमा अवस्थित दामनको रिखेश्वर जंगलमा ढुंगामा कुँदिएको गुरु पद्मसम्भवको वैभवशाली योगदानका प्रतीकहरू भेटिन्छ ।
तिब्बतको यात्राका क्रममा उनी यस ठाउँ हुँदै हिँडेका थिए । यस ठाउँमा गुरुले राक्षसहरूलाई परास्त गरेर उनीहरूलाई धर्मको अनुसरण गर्न लगाउने अविश्वसनीय उपलब्धि हासिल गरे ।
गुरुले यहाँ क्यीचोक जुलझाङ भनेर चिनिने अद्भुत शक्ति र आशीर्वादहरूको सम्पत्ति छोडेका छन् । यो शक्ति र आशीर्वादहरूमा भाग्य र धनको देवता झाम्बाला प्रतिविम्बित हुन्छ । चुमिक चाङचुपको अर्थ जागृतिको स्रोतको केन्द्रविन्दु हो ।
स्वयम्भू र बौद्ध महास्तूप
स्वयम्भूलाई स्वनिर्मित रत्नका रूपमा मानिन्छ । यो स्तूप शाक्यमुनि बुद्धले रोपेको एक कमलको बीउबाट उब्जेको जनविश्वास छ । स्वयम्भू प्राचीनकालदेखि नै नेपालमा बौद्ध जीवनको केन्द्र भएको छ । गुरु पद्मसम्भवको भक्तिले उनलाई स्वयम्भूनाथ र बौद्धनाथ स्तूपहरूमा तानिरह्यो ।
स्वयम्भूडाँडाको पूर्वपट्टिको खुड्किलाहरू चढ्ने स्थानमा भगवान् पाउ भनिने पैतलाहरूको प्रतीक यिनै गुरुको हुनुपर्छ । पश्चिमतर्फ गुरु पद्मसम्भवका विशाल मूर्ति प्रतिस्थापन गरिएको छ । दुवै स्तूपहरू युनेस्को विश्व सांस्कृतिक सम्पदा साइटहरूमा समावेश छन् ।
मुक्तिनाथ क्षेत्र अर्थात् चुमिङ ग्यात्सा
हिमालपारिको नेपाल मानिने मुस्ताङ जिल्लाको मुक्तिनाथ क्षेत्रको तिब्बती नाम चुमिङ ग्यात्साको अर्थ ‘सय झरना’ हो । आठौँ शताब्दीमा भारतबाट तिब्बत जाने क्रममा गुरु रिम्पोछेले अभ्यास गरेको २४ वटा स्थलहरूमध्ये यो एक हो ।
नृत्यदेवीले तपस्या गरेको यस क्षेत्रलाई पवित्र मानिन्छ । चुमिङ ग्यात्साका भिक्षुणीहरूलाई दकिनी भनिन्छ । तिनीहरू गुरु रिन्पोछेको समयमा त्यहाँ बस्ने र उहाँबाट शिक्षा प्राप्त गर्ने महिलाका सन्तान हुन् ।
मुस्ताङबाट प्रस्थान गर्नुअघि गुरुले आफ्नो मूर्ति खडा गरेका थिए । गोम्पामा आजसम्म भिक्षुणीहरूले गुरुको मूर्तिको पूजा गर्छन् । हालै यहाँ सुनको लेप लगाएको गुरु पद्मसम्भवको मूर्ति स्थापना गरिएको छ ।
किंवदन्तीअनुसार गुरु रिम्पोछेले त्यहाँ रहेका एक दानवलाई पश्चिमतर्फ मुस्ताङको भित्रसम्म खेदे । मुस्ताङको हिउँले ढाकिएको हिमाल चुचुरो, मरुभूमि घाटी र घाँसे मैदानमा दुवैको भिडन्त भयो ।
उनले दानवलाई पराजित गरी दानवको शरीरका अंगहरू मुस्ताङमा छरे । दानवको रगतले एउटा अग्लो रातो चट्टान बन्यो र चट्टानको पूर्वपट्टि जमिनमा खसेर उसको आन्द्राले पर्खालको आकार लियो ।
नेपालमा विभिन्न तिब्बती बौद्ध परम्पराहरू जोडिएका समृद्ध बौद्ध इतिहास छ । नेपालमा धेरै गुम्बा र स्तूपहरू पद्मसम्भवको शिक्षासँग सम्बन्धित छन् । उनको विरासतले यस क्षेत्रको आध्यात्मिक र सांस्कृतिक सम्पदामा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
(लेखक सञ्चारविज्ञ हुन् ।)