काठमाडौं । रामको जन्मभूमि अयोध्यामा बनेको राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ माघ ८ गते (जनवरी २२) हुँदैछ । राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने मिति जति नजिकिँदै छ त्यति नै यसबारे बहस तथा विवाद चुलिँदैछ ।
यो बहस तथा विवादमा ठूला धर्म गुरुदेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म जोडिएका छन् । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले नेपालका दुई दर्जनभन्दा बढी केही धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा सहभागी हुन निम्तो दिएको छ ।
ट्रस्टले भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा निमन्त्रणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निमन्त्रणा पाएका केहीले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।
केहीलाई भने जानी बुझिकन निमन्त्रणा गर्न छुटाएको छ, जसले भारतका हिन्दुहरुबीच विभाजनको रेखा कोरेको छ ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले जुन गतिमा भारतमा हिन्दुत्वलाई अघि बढाएको थियो त्यसमा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहले ‘ब्रेक’ लगाएको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।
प्राण प्रतिष्ठामा गरिएको निमन्त्रणाले भारतमा भाजपा निकट हिन्दु र अन्य पार्टी निकट हिन्दु भनि कित्ताकाट गर्न सुरू भएको छ । राम मन्दिरको गर्भ गृहको निर्माण कार्य चलिरहेको छ । केही काम पूरा हुन बाँकी नै छ । अहिले चौबीसै घण्टा गर्भ गृहको निर्माण कार्य चलिरहेको छ ।
यसैकारण भारत भित्र केहीले विरोध पनि गरिरहेका छन् ।
उनीहरुले प्रश्न पनि गरिरहेका छन्– निर्माण कार्य सम्पन्न नहुँदै प्राण प्रतिष्ठा गर्न किन हतार ?
प्राण प्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुनेछन् । उक्त कार्यक्रममा देश–विदेशबाट थुप्रै अति विशिष्ठ पाहुनालाई निमन्त्रणा गरिएको छ ।
नयाँ राम मन्दिरको लागि पुजारी चयन गर्ने कार्य पनि जारी छ । पहिलो चरणमा आएका ३०० जनाको नामबाट २१ जना पुजारीलाई ‘सर्ट लिस्ट’ गरिएको थियो । उनीहरूलाई तालिम दिने काम अहिले भइरहेको छ ।
यिनैमध्ये एक जना अयोध्यास्थित राम मन्दिरको मुख्य पुजारी हुनेछन् ।
श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत राय भन्छन्, “तालिम सकिएपछि सनातन धर्म, वेद र शास्त्रमा उनीहरुको ज्ञानको परीक्षा लिने काम हुन्छ । केहीलाई यहीँ जागिर दिइनेछ भने अन्यलाई देशका फरक फरक मन्दिरमा पठाइनेछ ।”
राम मन्दिर कमिटीले वाराणासीका दुई जना पुजारीको नाम यसअघि नै घोषणा गरेको छ जसले प्राण प्रतिष्ठामा अगुवाई गर्नेछन् ।
“अयोध्याका कर्मकाण्डी ब्राह्मण पनि लक्ष्मीकान्त दीक्षित र गणेश्वर शास्त्री द्रविडको नाम सुनेर भन्नेछन् उनीहरु त हाम्रो पनि गुरू हुन् । काशी सधैँ विद्धानहरुको नगरी रहेको छ, जबकि अयोध्या लामो समयदेखि उपेक्षित बनेको छ,” चम्पत रायले भने ।
काशीका विद्धान गणेश्वर शास्त्री द्रविड र लम्कीकान्त दीक्षितले प्राण प्रतिष्ठा गराउने उनले जनाए । राम मन्दिर कमिटीको यस फैसलाको अयोध्याका केही स्थानीय महन्थ तथा पुजारीले आपत्ति जनाएका छन् । प्राण प्रतिष्ठा गराउने पुजारी हजारौं मन्दिरको सहर अयोध्याबाट छनोट नगरिएकोमा उनीहरुको असन्तुष्टि छ ।
अयोध्याको हनुमान गढीका प्रमुख महन्थ, महन्थ धरमदासका गुरु बाबा अभिराम दासले सन् १९४९ मा रामललाको मूर्ति विवादित ढाँचामा राखेका थिए । “पूजा गर्न कोही पुजारी आउँदै छन् भने कसरी गराउँछन् त्यो हामी हेर्ने नै छौं । अब यहाँका पुजारीलाई पनि सहभागी गराउनुपर्छ । प्रतिष्ठा सबैले गर्नुपर्छ,” महन्थ धरमदासले भनेका छन् ।
पहिले नै प्रतिष्ठित मूर्ति राखिने हुँदा धेरै काम गर्नु नपर्ने बुझाई उनको छ । मूर्तिका विषयमा भारतको सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ । सहमति तथा असहमति जे भए पनि प्राण प्रतिष्ठा हुनुपर्ने भनाई उनको छ ।
जबदेखि राम मन्दिर निर्माणको काम सुरु भएको छ र अस्थायी स्थानमा रामको मूर्ति राखिएको छ, त्यसबेलादेखि त्यहाँ दर्शन गर्नेहरूको घुइँचो लाग्ने गरेको छ । भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो ।
मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ । त्योमध्ये दुई एकड जमिन मन्दिर निर्माणको लागि छुट्टयाइएको थियो । हजारौं करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको नयाँ राम मन्दिरको गर्भ गृहको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ ।
मन्दिर निर्माणको खर्च औपचारिक रुपमा घोषणा नगरिए पनि हालसम्म १८ सय करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान छ । प्राण प्रतिष्ठा गर्ने मिति घोषणा भएपछि लाखौं श्रद्धालु अयोध्या आइरहेका छन् । उनीहरुले नगद मात्र होइन सुन–चाँदी पनि चढाइरहेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही दिनअघि केन्द्र सरकार र राज्य सरकार मिलेर ३ खर्ब भारतीय रुपैयाँभन्दा बढी रकम अयोध्याको विकास आयोजनामा लगानी भएको घोषणा गरेका थिए । जसका कारण सहरमा ठूलाठूला होटल, राजमार्ग देखिएका छन् तर प्राचीन अयोध्यामा वर्षौंदेखि रहँदै आएकाहरुको आशा भने केही भिन्न छ ।
रामघाट नजिक रहेको १५० वर्ष पुरानो पटना मन्दिरका पुजारी आशीष कृष्ण शास्त्री भन्छन्, “सरकारले ठाउँठाउँमा जुन होटल, भवन र सडक बनाइरहेको छ त्यो ठिक छ । अयोध्याका पुराना मन्दिर जुन हाम्रो इतिहास हुन् तीनलाई मजबूद बनाउने काम पनि गरिदिए हामी सरकारलाई धन्यवाद दिने थियौं ।”
सीता कुण्डको नजिक रहेको राम–बिहारी मन्दिरका पुजारी गोस्वामी साधुहरुलाई दिँदै आएको पेन्सन कटौती भएकोमा असन्तुष्ट छन् । पछिल्ला दिन सबै आ–आफ्नो दूनो सोझ्याउन तिर लागेको उनको बुझाई छ ।
“पहिलो केही साधुहरुल पेन्सन पाउँथे, अहिले पेन्सन बन्द भएको छ । पेन्सनको लागि आवेदन दिँदा अब दिइँदैन भन्ने जवाफ आउँछ । बूढो भएपछि उनीहरुको सहारा के हो त ?,” पुजारी गोस्वामीले प्रश्न गरे ।
अयोध्यामा रहेका मन्दिरका आ–आफ्नै कथा–व्यथा छन् । त्यतातिर ध्यान कमैको गएको छ । मन्दिरका पुजारीहरू गुनासोले भरिएका छन्, उनीहरुले गुनासो बिसाउने ठाउँ पाएका छैनन् । सुनिदिने कोही भेटेका छैनन् ।
मोदीको भूमिकामाथि प्रश्न
अयोध्या र राम मन्दिरको प्राण प्रतिष्ठाको सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई लिएर बहस भइरहेको छ । प्रश्न गरिएको छ– के एउटा धर्मनिरपेक्ष देशको प्रधानमन्त्री राम मन्दिरमा हुने प्राण प्रतिष्ठा समारोहमा सहभागी हुनु सही हो ?
भारतका विपक्षी पार्टीहरुले प्रधानमन्त्री मोदी प्राण प्रतिष्ठामा भाग लिन खोज्नुलाई आगामी आम निर्वाचनसँग जोडेर पनि हेर्न थालेका छन् । समाजवादी पार्टीका उत्तर प्रदेश महासचिव तथा पूर्व राज्यमन्त्री जयशंकर पांडे भन्छन्, “सत्ताधारी भारतीय जनता पार्टी रामको नाममा भोटको राजनीति गरिरहेको छ ।”
आज नभए पनि भोलि सबै जनताले वास्तविकता बुझ्ने भनाई पांडेको छ । सनातन धर्म र मर्यादा पुरुषोत्तम राम सबैको भएको उनको बुझाई छ ।
उनी भन्छन्, “महात्मा गान्धीले रामराज्यको कल्पना गरेका थिए । तर समाजमा भारतीय जनता पार्टीले यो देखाउन खोज्दै छ कि राम मन्दिरको निर्माण उसैले मात्र गरिरहेको छ । जबकी लाखौं हिन्दुले कुनै राजनीतिबाट प्रभावित नभई नयाँ मन्दिर निर्माण गर्न चन्दा दिएका थिए ।”
धार्मिक विवाद नयाँ होइन
यसअघि पनि धर्मलाई लिएर भारतमा राजनीतिज्ञ विभाजित भएका थिए । सन् १९४७ मा बेलायतबाट भारत स्वतन्त्र भए लगत्तै तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरु र राष्ट्रपति राजेन्द्र प्रसादले यस्तै घटनामा अलग अलग विचार व्यक्त गरेका थिए ।
सरदार पटेलको अगुवाईमा गुजरातमा सोमनाथ मन्दिरको पुनर्निर्माण भएको थियो । पुनर्निर्माण पुरा भएपछि पटेलको मृत्यु भयो । पुनर्निर्माण भएको मन्दिरको उद्घाटन गर्न राष्ट्रपति राजेन्द्र प्रसादलाई बोलाइयो ।
नेहरूले राजेन्द्र प्रसादलाई धर्मनिरपेक्ष राष्ट्रको राष्ट्रपति मन्दिरको कार्यक्रममा जान नहुने सुझाव दिए । तर राष्ट्रपति राजेन्द्र प्रसाद प्रधानमन्त्री नेहरुको सुझावको बेवास्ता गर्दै मन्दिरको कार्यक्रममा उपस्थित भएका थिए ।
भाजपा भन्छ– विरोधको राजनीति
अयोध्याका भारतीय जनता पार्टी (भाजपा)का सांसद वेद प्रकाश गुप्ता आफ्नो पार्टीमाथि लागेको आरोपको खण्डन गर्छन् । “प्रधानमन्त्री किन आउँदैछन् भन्ने त प्रश्नै होइन,” उनले भने ।
अयोध्यालाई विश्वस्तरीय नगरको रुपमा विकास गर्दा प्रदेशको पुरै पूर्वी क्षेत्रको विकास भएको दाबी उनले गरे । प्रधानमन्त्री मोदीको नाममा विपक्षीले विरोधको राजनीति गरेको आरोप उनले लगाए । प्राण प्रतिष्ठामा प्रधानमन्त्री र मुख्यमन्त्री आउँदा यसको फाइदा स्थानीयले पाउने दाबी समेत उनले गरे ।
कुनै समय विवादस्पद थियो भूमि
पछिल्ला वर्षहरुमा अयोध्या द्रुत गतिमा परिवर्तन हुँदैछ । लगानी आउँदैछ, भक्तहरुको संख्या बढ्दैछ । आगामी साता प्राण प्रतिष्ठा गरिने भए पनि नयाँ राम मन्दिर निर्माण कार्यले पूर्णता पाउन अझै केही समय लाग्नेछ ।
यो कदमले यहाँका जनतामा के परिवर्तन ल्यायो भनेर इतिहासले लेख्न पनि समय लाग्छ । अयोध्याको जुन स्थानमा अहिले राम मन्दिर बनाइँदै छ, उक्त स्थान लामो समय विवादमा थियो । उक्त स्थानलाई हिन्दु र मुस्लिम दुवै धर्माबलम्विहरुले आ–आफ्नो पवित्र स्थल भएको दाबी गर्दै आएका थिए ।
सन् १९९२ मा त्यहाँ रहेको बाबरी मस्जिद हिन्दुहरुले भत्काइदिएपछि दंगा भड्किएको थियो । त्यसछि हिन्दु र मुस्लिमबीच पहिला इलाहाबाद उच्च अदालत र पछि सर्वोच्च अदालतमा लामो कानूनी लडाई चलेको थियो ।
भारतको सर्वोच्च अदालतले २०१९ को नोभेम्बरमा ऐतिहासिक फैसला सुनायो– अयोध्याको विवादित भूमिमा मन्दिर बनाइनेछ । साथै, अदालतले केन्द्र सरकारलाई नयाँ मस्जिद निर्माणका लागि सुन्नी वक्फ बोर्डलाई पाँच एकड वैकल्पिक जग्गा उपलब्ध गराउन निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतको फैसलाप्रति मुस्लिम समुदायले असन्तुष्टी जनाउँदै त्यसलाई स्वीकारेका थिए । त्यसपछि भारतका प्रधानमन्त्री मोदीले ५ अगष्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका थिए, जसको प्राण प्रतिष्ठा यही माघ ८ गते गरिँदैछ ।
राम मन्दिर भाजपाको राजनीतिक परियोजना
भारतीय जनता पार्टी (भाजपा)ले राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको आरोप लगाउँदै आएको भारतीय कांग्रेसले प्राण प्रतिष्ठा कार्यक्रममा उपस्थि जनाउन अस्वीकार गरेको छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ, “भगवान रामलाई करोडौं भारतीयहरूले पुज्छन् । धर्म मानिसको व्यक्तिगत मामिला हो तर भाजपा र आरएसएसले अयोध्याको राम मन्दिरलाई वर्षौंदेखि राजनीतिक परियोजना बनाएका छन् । यो स्पष्ट छ कि मन्दिरको निर्माण कार्य आधा मात्र सकिएको छ । चुनावी फाइदाका लागि मात्र निर्माण आधा सकिएको मन्दिरको उद्घाटन गर्न लागिएको हो ।”
सर्वोच्च अदालतको २०१९ को निर्णयलाई स्वीकार गर्दै, जनताको विश्वासको सम्मान गर्दै मल्लिकार्जुन खड्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीले यस कार्यक्रमको लागि भाजपा र आरएसएसको निमन्त्रणालाई सम्मानपूर्वक अस्वीकार गरेको कांग्रेसले जनाएको छ ।
विश्व हिन्दू परिषदले राम मन्दिर प्राण प्रतिष्ठा समारोहमा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी पनि सहभागी हुने पुष्टि गरेको छ । यसअघि आडवाणी कार्यक्रममा सहभागी नहुने खबर आएको थियो ।
शंकराचार्य असन्तुष्ट
कांग्रेसबाहेक चारजना शंकराचार्यले पनि राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रममा आउन अस्वीकार गरेका छन् । ज्योतिर्मथ शंकराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले माघ ८ गते हुने प्राण प्रतिष्ठा कार्यक्रममा भारतका चारवटै शंकराचार्य सहभागी नहुने बताएका छन् ।
यद्यपि दुई शंकराचार्यले विज्ञप्ति जारी गर्दै सबैलाई कार्यक्रममा उपस्थित हुन भने आग्रह गरेका छन् । मान्यता अनुसार शंकराचार्य हिन्दू धर्मको सर्वोच्च धार्मिक गुरूको पद हो । हिन्दू धर्ममा शंकराचार्यलाई सम्मान र आस्थाको दृष्टिले हेरिन्छ । आदि शंकराचार्य हिन्दू धर्मको दार्शनिक व्याख्याको लागि पनि परिचित छन् ।
यस्तो महत्वपूर्ण राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रममा शंकराचार्यहरूले किन नजाने निर्णय लिए त ?
शंकराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले भने, “यो कार्यक्रम शास्त्रबमोजिम आयोजना गरिएको छैन ।”
शंकराचार्य अविमुक्तेश्वरानन्दको एउटा भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।
भिडियोमा शंकराचार्य अविमुक्तेश्वरानन्द भन्छन्, “यदि यो रामानन्द सम्प्रदायको मन्दिर हो भने चम्पत राय त्यहाँ के गर्दैछन् । यी मानिसहरू त्यहाँबाट हट्नुपर्छ । हटेर रामानन्द सम्प्रदायलाई प्रतिष्ठा सुम्पिदिनुहोस् । हामी मोदी विरोधी होइनौं तर धर्मशास्त्र विरोधी पनि हुन चाहँदैनौं ।”
श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत रायले हालै राम मन्दिर रामानन्द सम्प्रदायको भएको बताएका थिए ।
उनले भने, “चार शंकराचार्य कुनै आसक्ति वा घृणाका कारण होइन, शास्त्रको पालना गरेर त्यसलाई पूरा गर्ने जिम्मेवारी शंकराचार्यको हुन्छ । अहिले त्यहाँ शास्त्रलाई बेवास्ता गरिएको छ । मन्दिर अझै पूर्ण रुपमा बनिसकेको छैन र प्रतिष्ठाको काम भइरहेको छ । कुनै यस्तो परिस्थित आइपरेको छैन कि अचानक प्रतिष्ठा गर्नुपरोस् । कुनैबेला त्यहाँ रातमा मूर्ति राखिएको थियो, त्यो एक परिस्थिति थियो । जब सन् १९९२ मा त्यहाँ रहेका संरचना भत्काइयो, त्यति बेला कुनै शुभ मुहूर्त हेरिएन । त्यसबेला कुनै पनि शंकराचार्यले प्रश्न उठाएनन् किनभने त्यतिबेलाको अवस्था त्यस्तै थियो ।”
शंकराचार्य अविमुक्तेश्वरानन्दले थप स्पष्ट पार्दै भनेका छन्, “आज हामीसँग मन्दिर राम्रोसँग निर्माण गरेर प्रतिष्ठा गर्ने अवसर छ । त्यसैले हामीले यसो भनिरहँदा हामीलाई मोदी विरोधी भनिरहेका छन् । हामी आफै धर्म शास्त्रअनुसार चल्न चाहन्छौं र सोही अनुसार जनतालाई चलाउन पनि । धर्मशास्त्रले नै हामीलाई राम छन् भनेर बताएको हो । जुन शास्त्रबाट रामलाई चिन्छौं, त्यही शास्त्रबाट प्राण प्रतिष्ठा गर्न पनि जान्दछौं । त्यसैले त्यहाँ कुनै शंकराचार्य जाँदैनन् ।”
नेपालको शिलाबाट मूर्ति बनाइएन
अयोध्याको राम मन्दिरमा मूर्ति बनाउन नेपालबाट पनि शिला लगिएको थियो, जसलाई लिएर पनि अहिले विभिन्न कोणबाट बहस चलिरहेको छ । रामको मूर्ति बनाउन कालीगण्डकीबाट विशाल दुईवटा शिला अयोध्या लगिएको थियो । यी दुई शिलाको वजन १४ र २७ टन थियो । यी शिलाहरु जनकपुरको जानकी मन्दिर हुँदै अयोध्या पठाइएको थियो ।
सुरुमा यी ढुङ्गाबाट राम मूर्ति बनाउने कुरा बाहिर आएको थियो तर पछि रामको मूर्ति बनाउन यी ढुङ्गाहरू उपयुक्त नभएको बताइयो । भारतीय मिडियाका अनुसार यी ढुङ्गाबाट मूर्ति नबनाउनुको एउटा कारण राम मन्दिरसँग सम्बद्ध सन्तहरूले व्यक्त गरेको आपत्ति थियो ।
कालीगण्डकीका शिलाहरु शालिग्राम बराबर भएकाले फुटाउन नहुने भएकाले मूर्ति बनाउन यी शिला प्रयोग गर्न नसकिने तर्क सन्तहरूले राखेका थिए । पछि ती शिलाको प्राविधिक परीक्षण पनि गरियो ।
मूर्तिकारहरूले ‘यस्तो शिलाबाट मूर्ति बनाउन सम्भव छैन’ भनेपछि अन्य ढुङ्गाबाट मूर्ति बनाइएको थियो । नेपालबाट लगेको २७ टन तौलको शिलामा मूर्ति खोप्ने प्रयास नगरिएको होइन । १४ टन तौल भएको शिलालाई शालिग्राम मानिएका कारण त्यसमा प्रयास नै गरिएन ।
तर २७ टनको शिला पनि उपयुक्त नपाइएपछि दुवै शिला राम मन्दिर निर्माण स्थल नजिकै राखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राम मन्दिरको गर्भगृहमा राख्नका लागि देशका विभिन्न स्थानबाट ल्याइएको ढुङ्गाबाट तीनवटा मूर्ति बनाइएको छ । तीमध्ये उत्कृष्ट मूर्तिलाई छनोट गरी गर्भगृहमा स्थापना गरिनेछ ।
हजारौंलाई निमन्त्रणा
श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत रायका अनुसार प्राण प्रतिष्ठा कार्यक्रममा ७ हजारभन्दा बढी साधु–सन्त र ४ हजारभन्दा बढी अन्य पाहुनलाई निमन्त्रणा पठाइएको छ ।
प्राण प्रतिष्ठामा धार्मिक नेता दलाई लामा, केरलाकी माता अमृतानन्दमाई, योग गुरु रामदेव, कलाकारहरु रजनीकान्त, अमिताभ बच्चन, माधुरी दीक्षित, अरुण गोविल, फिल्म निर्देशक मधुर भण्डारकर, व्यवसायी मुकेश अम्बानी, अनिल अम्बानी, गौतम अदानीलगायतका व्यक्तिहरु उपस्थित हुने जनाइएको छ ।
सचिन तेन्दुलकर र विराट कोहली पनि कार्यक्रममा उपस्थित हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । कार्यक्रममा सहभागी हुनेको सूचीमा कलाकार अरुण गोविल र दीपिका चिखलियाको नाम पनि छ । उनीहरु पौराणिक टिभी शृङ्खला ‘रामायण’मा राम र सीताको भूमिकामा अभिनय गरेका थिए ।
प्राण प्रतिष्ठा कार्यक्रममा लाखौंको संख्यामा हिन्दुहरु उपस्थित हुने आँकलन भारतीय सञ्चार माध्यमले गरेका छन् । सोही कार्यक्रमबाट लाखौं भक्तजन मार्फत करोडौं मतदातालाई प्रभावित पार्ने योजना भाजपाको रहेको आरोप भारतका प्रतिपक्षी दलहरुको छ ।
भारतमो यसैवर्ष आम निर्वाचन हुँदैछ । प्राण प्रतिष्ठा मार्फत मोदीले हिन्दु मतदाताको मत भाजपातर्फ आकर्षित गर्ने रणनीति बनाएको आरोप उनीहरुको छ । मतदातालाई प्रभावित पार्न नै राम मन्दिरको निर्माण कार्य सम्पन्न नहुँदै प्राण प्रतिष्ठा गर्न मोदी हतारिएको विपक्षी दलहरुको बुझाई छ ।
प्राण प्रतिष्ठापछि हरेक महिना राम मन्दिर दर्शन गर्ने भक्तजनको संख्या २५ देखि ३० लाख पुग्ने अनुमान गरिएको छ ।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा)