काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू सोचेअनुरूप सफल हुन नसकेको स्वीकार गरेका छन् ।
आइतबार माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताएका हुन् ।
उनले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए । उनले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता जनाए ।
"म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किराँत प्रदेश बनाउनुपर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन । एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए । तर दुर्भाग्य हामो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन," उनले भने ।
प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रूपमा अघि बढाएको पनि दोहोर्याए ।