काठमाडौं । क्यास एप, मिल्कि वेजस्ता एप्लिकेसनमार्फत हारजित हुने गरी अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा तीनजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ का २५ वर्षीय पुजन साँवा, सर्लाहीको वाग्मती नगरपालिका–७ का २१ वर्षीय निशानराज कार्की र सर्लाहीकै बरथहवा नगरपालिका–११ का २५ वर्षीय निशान गौतम छन् । साँवा काठमाडौंको कोटेश्वर र कार्की र गौतम भक्तपुरको सूर्यविनायक नगरपालिका–४, अनामनगरमा बस्दै आएका थिए ।
विभिन्न खेलहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास उनीहरूले दिलाउने गरेका थिए । हारजित हुने र आफूले लाभ लिने उद्देश्यले उनीहरूले रकमको बाजी राख्न लगाई सट्टेबाजी गराएर खेल खेलाउने गरेका थिए ।
अनलाइन क्यासिनो खेलाउन प्रयोग गरिएका ल्यापटप र मोबाइलसहित उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनीहरूलाई आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।