site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिक अगुवाको राष्ट्रपतिसँग भेट : ‘मोरल अथोरिटी’ प्रयोग गर्दै सुधारको अगुवाइ गर्न आग्रह 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक समाजका अगुवा तथा प्रवुद्ध वर्गले देशमा देखिइरहेका वेथिति र अव्यवस्थाको सुधारका लागि अगुवाइ गर्न आग्रह गरेका छन् ।

नागरिक अगुवाहरू डा. देवेन्द्रराज पाण्डे, दमननाथ ढुंगाना, प्रा. डा केदारभक्त माथेमा, प्रा. डा पिताम्बर शर्मा, होमनाथ दाहालसहितका नागरिक अगुवाले राष्ट्रपति पौडेलसँग भेट गरी मुलुकलाई सही बाटोमा हिँडाउन ‘मोरल अथोरिटी’ प्रयोग गर्न सुझाव दिएका हुन । 

Argakhachi Cement Island Ad

विगतमा राज्यका महत्त्वपूर्ण भूमिकामा रहेर लोकतान्त्रिक आन्दोलनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनीहरूले सत्तामा रहेकाहरूको आचरण र व्यवहारबाट लोकतन्त्र कमजोर बनाउन चाहनेहरूलाई बल पुगिरहेको बताए । उनीहरूलाई सचेत गराउँदै लोकतान्त्रिक प्रणाली र व्यवस्थालाई मजबुत बनाउन ‘मोरल अथोरिटी’ प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएको भेटमा सहभागी प्रा. डा माथेमाले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका माथेमाले लोकतन्त्रमा संस्थाहरूको भूमिका अहम् हुने भन्दै त्यस्ता संस्थाहरूलाई राजनीतिक हस्ताक्षेपबाट बाहिर राख्न राष्ट्रपतिले नैतिक अगुवाइ गर्नसक्ने बताए । 

“हामी सबैको प्राय उस्तै धारणा थियो । इन्स्टिट्युसनहरूलाई बलियो बनाएर लैजानु पर्‍यो । राजनीतिक हस्ताक्षेपबाट मुक्त राखेर संस्थाहरूको गरिमा बढाउनुपर्‍यो भन्यौँ,” प्रा. डा माथेमाले बाह्रखरीसँग भने, “हाम्रो संविधानले राष्ट्रपतिलाई अविभावकीय भूमिका दिएको छ । त्यो भनेको कार्यकारी सरकारदेखि सबैको अविभावकीय भूमिका हो । त्यो भूमिका ‘मोरल अथोरिटी’ प्रयोगमार्फत खेल्न हामीले आग्रह गरेका हौँ ।” 

भेटमा संघीयतालाई सुदृढ तुल्याउन, सुशासनको प्रत्याभूति दिलाउन, सेवा प्रभावलाई चुस्त र प्रभावकारी बनाउन, दलीय भागबण्डाबाट आक्रान्त विश्वविद्यालयसहितका संस्थाहरूलाई त्यसबाट मुक्त राख्न र जनतामा देखिएको निराशालाई कम गर्न राष्ट्रपतिले संविधान प्रदत्त अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिक अगुवाहरुले भेटमा लोकतन्त्र, संघीयता, सुशासन सुदृढीकरण र शिक्षा क्षेत्रको वेथिति अन्त्य गर्ने विषयमा महत्त्वपूर्ण सुझाव दिएको जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्