site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मेचीनगरको सडक निर्माणमा विश्व बैंकले लगानी गर्ने

झापा । विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदयमार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण गरिने भएको छ ।

नगरको दुई महत्त्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकडभिट्टाको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब तीन करोड रुपैयाँ ऋण लगानी हुने प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।

Argakhachi Cement Island Ad

सात प्रदेशका ३३ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

उक्त परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर–१ को मेचीनगरमा दुई सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) ऋण उपलब्ध गराएको नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य शर्माले बताए ।

शर्माका अनुसार, सहिदमार्गअन्तर्गत धुलाबारी मोडबाट बजार क्षेत्र हुँदै खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म ५.३ किलोमिटर कालोपत्र सडक निर्माण गरिनेछ । उक्त सडकको चौडाइ १२ मिटर, ड्रेन र डबल लेन रहने उनले जानकारी दिए ।

यसैगरी, सूर्योदयमार्गअन्तर्गत पूर्वीनाकाको काँकडभिट्टास्थित भट्टराई चोकबाट सुरु भएर बाहुनडाँगी बजारसम्मको ८.५ किलोमिटर लामो सडक कालोपत्र, डबल लेन र ११ मिटर चौडाइको रहने शर्माले बताए ।

संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण गरिनेछ । विश्व बैंकसँगको सम्झौतामा ती दुवै सडक ०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ । रासस

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्