site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पात्रोबाजे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मार्कोनिले रेडियो भन्ने भाँडो पनि गजबै बनाएछन् । बिहान ब्रह्ममुहूर्तमै यसले चित्त शुद्ध गर्ने धार्मिक, आध्यात्मिक, व्यावहारिक ज्ञानगुनका कुराहरू सुनाउँछ । स्तोत्रहरू वाचन गर्छ । भजनकीर्तन गर्छ । सिरानीमै राखेर सुन्नुस् । पिँढीमा राखेर बजाउनुस् । गोठदेखि पँधेरासम्म जतासुकै जानुस्, यो साथी भइदिन्छ । सूर्यको गति र समयको मतिअनुसारका कुरा बोल्छ यसले । प्रहरअनुसारका रहर मेटाइदिन्छ । विश्वभरिका खबर सँगालेर ल्याइदिन्छ तपाईंका घरभित्र । र, भन्छ– अब सुन्नुहोस् पूरा समाचार । आज भने रेडियोले भन्दा पनि द्रुत खबर ल्यायो बतासले ।

कस्तो विस्वाद लाग्दो खबर ल्यायो बिहानबिहानै । पात्रोबाजेले मध्यरातमै सिलटिमुर खाएछन् । हिजो दिउँसो मात्रै हो बजारबाट घरतिर जाँदै गर्दा बाटोमा भेटेको । ठाँटिला थिए हिजो पनि सधैँझैँ । उनी कहिल्यै अस्तव्यस्त देखिएनन् । सधैँ सुकिला, दाह्री सफाचट, लामालामा जुँगा, लबेदा–सुरुवालमाथि कोट, शिरमा टोपी ।

गर्मीमा कुर्ता–सुरुवाल, छालाका चप्पल । थोरैथोरै हाँसेर बोल्थे, जसले गर्दा संवाद प्रभावशाली लाग्थ्यो । कपालले रङ फेरेर के भो ? व्यवहारले त तरुनै थिए । उनलाई पात्रोबाजे भन्ने पनि विशेष कारण छ । प्रत्येक महिनाको दोस्रो आइतबार उनी महिनाभरिका नियमित रूपले गर्नुपर्ने कामहरू गर्थे नै, पानी परोस् कि घाम लागोस् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“छाताको काम के हो त !,” उनी उत्तर फर्काउँथे । पात्रोअनुसार यसपटक दोस्रो आइतबार हिजै परेको थियो ।

चारैतिरका भएभरका काम निप्टाएर फर्कंदै थिए । वडा कार्यालय गएर पोत बुझाउन रहेछ, तिरेछन् । गंगाकृष्णको दोकानमा गएर महिनाभरिको चिनी, चियापत्ती, मरमसलाको उधारो फच्चे गरेछन् । दूधवालाको उधारो त भोलि बिहान घरमै तिरेको भए हुन्थ्यो, उसकै घरमा पुगेर तिरेछन् ।

Royal Enfield Island Ad

वृद्धभत्ता बुझेर इस्टकोटको भित्री बगलीमा जतनपूर्वक राखेछन् । प्रत्येक महिनाझैँ बैंकमा पसेर नेपाल (काठमाडौं)बाट छोराले पैसा पठाएको छ कि भनेर ‘नियास्रो’ लाग्दो जिज्ञासा गरेछन् । चौधरी डाक्टरको दोकानबाट श्रीमतीलाई प्रेसर र डाइबिटिजको औषधि किनिदिएछन् ।

गुप्ताजीको दोकानमा गएर आयुर्वेदिक दन्तमन्जन र नुहाउने साबुन किनेछन् । मधुरो प्रकाशमा दुई गाँस नरम भोजन गरेर बजैसँग कुराकानी गर्दागर्दै निदाएका पात्रोबाजे मध्यरातमा चिरनिद्रामा पो गएछन् ।

जब अघिल्लो दिन मान्छे सुत्छ, भोलिपल्ट बिहानै ब्युँझने पूर्ण भरोसा लिएर निदाउँछ । थुप्रै रहर, योजना र सपनाहरू छातीमा गुजुल्टो पारेर निदाउँछ । तर, जब त्यो मान्छे ब्युँझिँदै नब्युँझिई यसरी अनन्तको यात्रामा गइदिन्छ, थुप्रै अनुत्तरित प्रश्नहरू चितासँगै सल्किएर धुवाँमा विलीन भइदिन्छन् ।

पात्रोबाजेले कसैलाई सुइँको दिएनन् । गुहार पनि मागेनन् । ऐयाआत्था गरेनन् । ओछ्यानमा मलमूत्र पनि विसर्जन गरेनन् । बेलुकी सुत्दा बदन तातो थियो, बिहान चिसो भएछ । छेउमै सुतेकी वृद्धा पत्नीले पनि पत्तो पाइनन् ।

स्तब्ध भयो सारा गाउँ । पात्रोबाजे गए रे ! होइन होला ? त्यति हँसिला मान्छे यसरी सुटुक्क जान्छन् र ? अचेल अलिअलि बिर्सिन थालेका थिए । सास फेर्न बिर्सेर गए कि के हो !

गए अरे भन्दा उनीसँग बिताएका केही झिँझोलाग्दा पलहरू पनि आनन्दका जस्ता भएर स्मृतिमा ब्युँझिँदा रहेछन् । सबैसँग मनपेट खोलेर खुलस्तसँग बोल्थे, फरासिला भन्दा पनि हुन्छ । नबोल्दा हुने ठाउँमा पनि प्यारप्यार बोलिरन्थे, त्यसैले दिक्दारलाग्दा पनि थिए । समग्रमा मान्छे काइदाका थिए ।

के भएर मरेछन् ? –सबैको एउटै जिज्ञासा थियो । यो उमेरसम्म कहिल्यै एक चक्की सिटामोल खान नपरेका पात्रोबाजे मध्यरातमा चिप्लिएछन् । आइतबार गए कि सोमबार लागेपछि गए ? खै, पञ्चक पो परेको थियो कि ! बुढापाकाले भन्लान्– कति सजिलो मरण, अघिल्लो जुनीमा धर्मात्मी रै’छन् !

कहिलेकाहीँ लाग्थ्यो, पात्रोबाजे समयको कुनै एउटा पलमा अडिएर बाँचिरहेका छन् । त्यसउप्रान्त उनको घडी घुमेकै छैन । समय सूर्यले मात्रै होइन, मस्तिष्कले पनि चलाउनुपर्छ ।

छोरालाई त डाक्नुपर्ने होला नि, मुखाग्नि कसले दिन्छ ? हुन त हो । छोरा हुँदाहुँदै अरूको हातको मुखाग्नि लिएर बैकुण्ठतिर किन जानु !

अब यहीँनेरबाट उड्न थाल्छन् बाछिटाझैँ सक्कलअनुसारको अक्कलका गफ । एक जुआमाथि चढेको सस्र्युँजस्तो घाम एक टुक्रा बादलपछाडि छोपिएर सन्ताप गर्दै छ ।

आज पो पात्रोबाजे गइहाले र, हिजोसम्म त कम स्वादिला मान्छे थिए भन्या ! यिनको घरबाट पाँच मिनेट परको बजारसम्म पुग्न र घर फर्किन थोरैमा पनि आधी घण्टाको म्याद चाहिन्थ्यो ।

भेटेसम्मका सबैसँग आफ्नै ग्राम्य तवरले ‘हाय हलो’ नगरी मुख फर्काएर हिँड्दैनथे, बुढो होस् या तन्नेरी । धनी होस् या गरिब । ठूलो भनी कहलिएको होस् या कसैले नपत्याएको । परिचित होस् या अपरिचित । तर, उनी जोसित कुरा फिट्दा पनि रीत मिलाएर आफ्नो छोराको प्रसंगचाहिँ उठाइछाड्थे ।

“कताबाट आयौ ठूला ?”

“त्यहीँ कृषिको दोकानसम्म गएको थिएँ बाजे । बोडीमा लाई लाग्यो भनेर औषधि छिटेको थिएँ । खै, कामै गरेन । आज फेरि अलि राम्रो औषधि मागेर ल्याएको ।”

“गाउँघरमा यस्तै हो । साह्रै सक्कली औषधि त के पाइन्थ्यो र ? मैले त छोरालाई नेपालबाटै पठाइदे भनेको छु । उता त सक्कली पाइन्छ । खै, आज रातिको नाइट बसमा पठाइदिन्छ कि ! उभ्रिएछ भने अलिकति तिमीलाई पनि दिउँला ।”

अलि पर पुग्दा अर्को भेट भयो । आँगनमा भैँसीको स्याहारसुसार गर्दै गरेका भैँसीधनीलाई नजिकै बारनेर पुगेर सोधे, “के गर्दै छौ है गिरी भाइ ?”

“के गर्नु र बाजे ? भैँसी ब्याउनेबित्तिकै पाडो मर्यो । भैँसीलाई थुनेलो भएर छुनै दिँदैन । दिक्दार भयो ।”

“यस्तै हैरान हुन्छ भनेर हामीले त भैँसी पाल्नै छाड्यौँ । नेपालबाट छोराले पनि धेरै करायो– अब बुढेसकालमा दुःख नगर्नुस्, दूध किनेर खानुस् भनिरह्यो । अचेल त हामी किनेको दूध खान्छौँ । घरमै ल्याइदिन्छ, पानी नमिसाएको खाँ...टी दूध । पैसाको फिक्री छैन, नेपालबाट आइरन्छ ।”

‘नेपाल’मा बस्ने छोरालाई नगाँसी न त उनको प्रसंग आरम्भ हुन्छ न त अन्त्य ।

झिन्का साइकलमा दगुर्दै थियो ।

“ए झिन्का, कल्ह सबेरवै बेटवा नेपाल से आवत है । एक टोकरीभरिकै लंगडा आम लाय दिहे न ? बढिया बढिया देखिकै ।” बाजे अवधी भाषा पनि कति मिठो गरी बोल्छन् ।

यस्तै हो । बाटोभरि भेटेजतिसँग पात्रोबाजे यसरी नै गफ गर्दैगर्दै हिँड्छन् र पुग्छन् गंगाकृष्णको दोकानसम्म । जहाँ उनको महिनाभरिमा सबैभन्दा धेरै किनकान हुने गर्दछ । एकदम पक्का ग्राहक । पात्रो हेरेर उधारो तिर्ने ग्राहक देखेपछि दोकानदारले पनि अलिअलि चिल्लो त घस्नै पर्यो ।

“नमस्का...र मामाजी !”

गाउँघरमा मानिसहरू सकेसम्म एकार्कालाई साइनो लगाएरै बोलाउँछन् । साइनो लगाउन जात, थर, गोत्र, बिहेबारी केही चाहिन्न । सङ्लो मनले पुकार्छन् ।

“नमस्कार भानिज, लौ खातापाता निकाल्नुस् ! तिरनतारन गरौँ । यसपल्टलाई म आफैँ आएँ, अर्को महिनादेखि त छोराले नै व्यवहार गर्ला । अब नेपाल छोडेर गाउँमै फर्किन्छु, बाआमा वृद्ध हुनुभयो, घर सम्हाल्छु भन्थ्यो । खै, आज रातिको नाइट बसमा हिँडी पो हाल्छ कि ! व्यवहार कस्तो छ, त्यसरी झ्वाट्टै झोला बोकेर हिँड्न के मिल्ला र है भानिज ?”

भानिज हिसाबकिताबमै व्यस्त रहे ।

प्रत्येक बिहान जुरुक्क उठेर काठमाडौंबाट आउने रात्रिबस भेट्टाउन पुग्थे र सोध्थे ड्राइभरलाई, “खै त छोरा ! आज पनि आएन ?”

मर्नु पनि सबैले गर्नैपर्ने एउटा काम रहेछ । क्षेत्रप्रताप अधिकारीले लेखेको रामकृष्ण ढकालको स्वरको एउटा गीत सम्झिन्छु–
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।

मृत्यु नभएको भए यो जीवन कसरी अनमोल कहलिन्थ्यो ? सारा जगत् नै निस्सारपूर्ण हुन्थ्यो ।

वास्तवमा मानिसको जीवन भन्नु नै पात्रो हो । वर्ष, महिना, गते, बार, तिथि, लग्न, साइत, कुसाइत, घडी, पला... यी सबै जीवनका क्षणहरू हुन् । ईसीजीको ग्राफजस्तै कतै नछिनेका पलहरू ।

पात्रोबाजेको जीवन पनि पात्रोसरह नै थियो । नापजोखको जीवन । यतिसम्म कि महिनाभरिमा बैंकबाट जति ब्याज रकम आउँथ्यो, त्यसमा वृद्धभत्ता मिसाएर ठ्याक्क महिना गुजार्थे ।

जोसेफ एडिसनले चिहानमाथि लेखिएको ढुंगा (टम्बस्टोन)लाई अवलोकन गर्दाका अनुभूतिलाई थोरै अन्तर गरेर भन्ने हो भने जन्म र मृत्यु जीवनका उद्धरण चिह्नहरू हुन् । एउटाले जीवनलाई खोल्छ, अर्कोले बन्द गर्छ । पात्रोमा भेटिने यिनै उद्धरण चिह्नहरू मात्रै हुन् ।

तपाईंलाई भनौँ, अपरिचित व्यक्तिहरूसँग कुरा गर्दा पनि उनी यत्तिकै निःसंकोच उघारिन्थे । गंगाकृष्णकै दोकानमा आइपुगेका नवागन्तुकसँग फ्याट्टै कुरा सुरु गरे पात्रोबाजेले–

“यो ठाउँमा नयाँ आउनुभएजस्तो लाग्यो नि ?”

“हजुर, म स्वास्थ्यचौकीको नयाँ कर्मचारी ।”

“ए, घर कहाँ पर्यो ?”

“...  ...  ...”

“...  ...  ...”

“बालबच्चा के कति छन् ?”

“एउटी छोरी छन्, भर्खरै सात वर्षकी ।”

“ए, मेरो पनि एउटा मात्रै छोरा हो, नेपालमा बस्छ ।”

केही बोलेनन् कर्मचारी ।

“ठूलाठूला हाकिमहरूसँग उठबस हुन्छ, केही पर्यो भने भन्नुहोला, म कुरा पुर्याइदिउँला । यता आउँदा भेट पनि गराइदिउँला ।”

अर्थविहीन हाँसो हाँसेर फर्किए कर्मचारी ।

आजसम्म कसैको मन छेस्काले जति पनि कोतारेका थिएनन् यिनले ।

मनले डेरा गरेर बस्ने ठाउँ जीवन हो अनि जीवनले डेरा गरेर बस्ने ठाउँ भरोसा हो । भरोसा मन अडाउने कपटपूर्ण चाल हो । पात्रोबाजेका दम्पती भरोसाको ओतमा कलात्मक संघर्ष गरेर एउटा नाटक बाँचिरहेका थिए ।

बडघरको गल्ला मन्डीनेर पुग्दा केही चहलपहल देखियो । अलिअलि भीडभाड पनि थियो । क्यामेरा काँधमा बोकेको मान्छेलाई प्रश्न गरिहाले पात्रोबाजेले ।

“नयाँ मान्छे देखियो, कताबाट के कति कामले पाल्नुभयो ?”

“म पत्रकार, टीभी रिपोर्ट बनाउन आएको ।”

“हाम्रो यति सुन्दर ठाउँलाई कसैले टीभीमा देखाएको थिएन, तपाईंलाई धन्यवाद छ । नेपालमा बस्ने मेरो छोराले गुनासो गरिरहन्छ, हाम्रो गाउँको खबर कहिल्यै आएन भन्छ । नेता, मन्त्रीसँग हिँड्डुल गर्छ । आफ्नो ठाउँको विकास गर्ने धोको छ । हिजो टीभीमा देखिन्छु, हेर्नुहोला भन्थ्यो । फ्याट्टै हिजै टीभी बिग्रियो । अभिषेक नातिले बनाएर ल्याइदिन्छु भनेर लगेको छ । फेरिफेरि पनि देखिएला टीभीमा । नेपालमा बस्ने छोरो हो ।”

अहिले लाग्दै छ– पात्रोबाजे एउटा चाखलाग्दो सिनेमा हुन्, जति घुमाइघुमाइ हेर्दा पनि मनोरञ्जन भइरहने । छोराको पर्खाइलाई बिर्सिएर जीवनको शाश्वत सत्यमा निदाएका छन् तुलसीको मठनेर ।

मानिसलाई बाहिरी परतबाट हेरेर बुझ्न सकिन्न । त्यहाँ त ऊ घामको प्रकाशले चम्किएको होला । मनमा ऊ चिसिएर हिउँजस्तै जमेको पनि हुनसक्छ । आँखाबाट ऊ नदीजस्तै पग्लिएर झरेको पनि हुनसक्छ । कसलाई थाहा पात्रोबाजे कति चिसिए ? कति पग्लिए ? कति पर्खिए ? कति तड्पिए ?

पर्खाइ एउटा औडाहा हो । मध्यरातमा पनि भतभती पोल्छ ।

मुगलहरूका अन्तिम बादसाह बहादुर शाह जÞफÞरको नाउँमा चर्चित एउटा शेर, जसलाई सिमाब अकबरावादीले लेखेका थिए पनि भन्ने गरिन्छ, घरीघरी त्यही शेर आवाज बनेर कानमा प्रतिध्वनित भइरह्यो–
उम्र–ए–दराजÞ माँग कर लाई थी चार दिन
दो आरजÞु में कट गए, दो इंतजÞार में ।

यस्तै आरजु र इन्तजारमा बुढ्यौली कटाए पात्रोबाजेले । पहिलो जनआन्दोलनमा सहिद भएको छोराको फोटो वीर अस्पतालको भित्तामा टाँसिएको खबरलाई कहिल्यै पत्याएनन् उनले । विक्षिप्त थिए, भरोसा गर्थे– नाइट बसमा चढेर छोरा फर्किन्छ ।

के पात्रोबाजेको जीवनको सार्थकता यत्ति थियो ? एउटा कहालीलाग्दो पर्खाइ, नाइट बसको ढोकामा अल्झिएका आँखा अनि मनभरि भ्रमको निलो आकाश ?

गाउँलेहरू छटपटिन थाले अब कसो गर्ने ? काँध दिने को हुन् ? दागबत्ती दिने को हो ?

यो कस्तो चेतना हो ? बाँचुन्जेली मुखमा अन्न र पानी पुर्याइदिने को हो भनेर सोधेनन् । अहिले मरेपछि आगो दिने मान्छे सोध्दै छन् ।

पतिको अपर्झट र अपत्यारिलो वियोगले अर्धचेत भएकी बजैले हातको इसाराले वडाध्यक्षलाई छेउमै डाकिन् ।

“ए बाबु, बाजेसँगै छोराको किस्सा पनि सकियो । सात वर्षकी थिएँ बाजेसँग बिहे हुँदा । दागबत्ती म नै दिन्छु र बैकुण्ठको बाटो खोलिदिन्छु ।”

जातस्य हि ध्रुवो मृत्युध्र्रुवं जन्म मृतस्य च ।

तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।। (गीता २ – २७)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro