site stats
बाह्रखरी :: Baahrakhari
विचार
सामयिक प्रसंगमा राष्ट्रिय मेलमिलाप नीति

अस्ति, गएको सोमबार राष्ट्रिय मेलमिलाप दिवसको सम्झना गरियो । खासगरी नेपाली कांग्रेसले धेरै ठाउँमा यो दिवस बीपी कोइरालालाई सम्झेर मनायो ।

कार्यक्रममा देशका शीर्ष नेता सहभागी र राष्ट्रिय मेलमिलाप नीतिलाई रणनीति समेत भन्ने बीपीले त्यस बेला देखेको वा भोगेको चुनौतीहरूको कारण वर्तमान हाम्रो प्रसंगमा कति सामयिक र शाश्वत छ भन्ने उत्खनन गर्न सहायक विषय हो ।

पहिलो चर्चा– राष्ट्रिय मेलमिलाप हो कि राष्ट्रिय एकता र मेलमिलाप ? धेरै ठाउँमा एकता जोडिएको पाइयो । कांग्रेस केन्द्रीय कार्यालयको कार्यक्रमको ब्यानरमा पनि राष्ट्रिय एकता र मेलमिलाप लेखेको पढियो । यस विषयमा बीपीको भनाइ के छ त ? बीपीले राष्ट्रिय मेलमिलाप भन्नुभएको छ । उहाँले राष्ट्रिय मेलमिलाप वा राष्ट्रिय एकता लेख्नुभएको पाइन्छ ।

बीपीले लेखेको ‘वा’ ले राष्ट्रिय मेलमिलाप भन्नु र राष्ट्रिय एकता भन्नु समानार्थी शब्दांश लाग्छन् । अनर्थ नलागे पनि ‘र’ थपेर राष्ट्रिय एकता र मेलमिलाप दिवस भन्नु वा लेखिनु आवश्यक लाग्दैन र मिठो पनि सुनिँदैन, जति ‘राष्ट्रिय मेलमिलाप’ भन्दा मिठो सुनिन्छ ।

कानुनी लेखाइमा ‘अर्को अर्थ नलागेमा’ भनेजस्तै समानार्थी वा विकल्प ‘एकता’ नजोडिएको राष्ट्रिय मेलमिलाप लेख्नु अझ बढी बृहत्, व्यापक र सबैको लागि समान आह्वान हो भन्ने भान पर्छ । भाषाको सम्प्रेषणीय कोमलता यस्तै प्रयोगमा अनुभूत हुन्छ कि ? जो रामै्र पनि हो ।

Global Ime bank

यो त भयो शब्दको सम्प्रेषणीयता । त्यसैले पूर्वीय चिन्तकले भनेका होलान्, ‘शब्द ब्रह्म’ । शब्दको अर्थ यत्तिमै छाडेर नेपालको अहिले र शाश्वत सन्दर्भमा बीपी प्रतिपादित राष्ट्रिय मेलमिलापको प्रभाव, प्रक्रिया र उपादेयता के छ त ? यो प्रश्नमाथि विचार गर्न सकिन्छ । प्रक्रिया समयानुकूल होला, तर नेपालको अवस्थितिमा अन्य अपेक्षा र चुनौतीचाहिँ निरन्तर समानजस्ता हुने देखिन्छन् ।

उहाँले भन्नुभएको छ– यो नीति मात्रै होइन, रणनीति पनि हो । आठ वर्ष लामो राजनीतिक प्रवास त्यागेर भारतबाट बीपी समेत नेता स्वदेश नेपाल फर्कनुको कारणलाई प्रस्ट्याउन व्यक्त गर्नुभएको परिस्थिति र विचारले यो रणनीतिको सान्दर्भिकता बोध गर्न सहज हुन्छ । त्यति बेला जुन परिदृश्यको प्रस्तुति यो नीति लिनुको कारणमा व्यक्त भएको थियो, त्यो कुरा त्यो बेलाको परिदृश्य वा परिस्थितिमा यतिखेर के समान र के भिन्नता वा छ भन्ने बुझ्न सामल हुन्छ ।

मुख्यतः यो नीति दुई कारणले प्रेरित बुझिन्छ । पहिलो, देशको अप्रजातान्त्रिक शासनप्रणाली । संक्षिप्तमा त्यो प्रणालीलाई बीपीले जनाधारहीन वा सेनाको बलमा आधारित, स्वार्थी पञ्चहरूको जमघटमा राजतन्त्रको प्रपञ्च भन्न खोज्नुभएको छ । यो प्रपञ्च फालेर जनताको सत्ता स्थापित गर्नु नै यो नीतिको पहिलो ध्येय हो भन्ने बुझिन्छ ।

जनताको सार्वभौमिक अधिकार खोस्ने शाह राजाको नेतृत्वको ‘निर्दलीय पञ्च’तन्त्र शाही सेना करार गरेर नेपाली सेनालाई दुरुपयोग गरिएको बलमा आधारित भन्ने वैचारिक र तार्किक आलोचना उहाँले गर्नुभएको छ ।

दोस्रो, बाह्य परिदृश्य राष्ट्रिय मेलमिलाप रणनीति तर्जुमाको प्रेरणा हो भन्ने बुझिन्छ । त्यसबखतको बाह्य वा छिमेकी परिदृश्य, जुन बीपीले देखाउनुभएको छ, त्यसमा कति फरक आयो वा नेपालको भू–राजनीतिक अवस्थितिमा पछि समेत पनि कति फरक आउला त भन्ने जिज्ञासा उपज हुन्छ । आन्तरिक राजनीति र बाह्य चुनौतीमा कति फरक आयो त ?

बीपीको समयले भोगेको आन्तरिक राजनीतिमा फरक आएको छ, तर चुनौती थपिएको जस्तो लाग्छ । अनेक उतारचढाव उत्तीर्ण गरेर देश निरंकुश तानाशाही शासन प्रणालीबाट मुक्त फड्को मार्दै गणतन्त्रात्मक बहुदलीय लोकतान्त्रिक संसदीय, समावेशी प्रणालीको खुला मैदानमा क्रियाशील छ ।

बाह्य कारण जति बेला बीपीले चर्चा गर्नुभएको थियो, त्यसको एक अंश वा भौतिक स्वरूपमा रूपान्तरण र परिवर्तन आएको छ । तर, एक अंश अरू जब्बर र खुला चुनौतीको अवस्थामा छरप्रस्टजस्तै सुनिन्छ । जस्तै, ‘शीतयुद्ध’ सकिएको छ वा यसको ध्रुव फेरिन खोजेको छ । विश्वको शक्ति सन्तुलन तरल छ ।

बीपीले दक्षिण एसियाका मुलुक अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा त्यति बेला बाह्य उपजले ल्याएको अस्थिरतासँगै सिक्किम भारतमा विलयले नेपालमा पर्ने सम्भावित दुष्प्रभाव वा चुनौती सामना गर्न राष्ट्रिय मेलमिलाप नीति आवश्यक रहेको स्पष्ट गर्नुभएको छ । त्यति बेला संकटकाल लगाइनुले भारतको अस्थिरता पनि बोध हुने उहाँले उल्लेख गर्नुभएको छ । अर्थात्, पूरै दक्षिण एसिया अस्थिर ।

सोभियत संघ र अमेरिकाबीचको शक्ति स्पर्धामा उत्पन्न दुईध्रुवीय शीतयुद्धमा विश्व विभाजित थियो । अमेरिका प्रजातान्त्रिक खुला विश्वको पहरेदार ठान्थ्यो भने सोभियत संघ खासगरी एकतन्त्री अधिनायकत्वको संरक्षक भएको देखिन्थ्यो ।

यही समयको छर्राछिर्का नेपालमा पर्ने नै भयो, जुन कुरा बीपीले ‘शक्ति मुलुकका प्रतिनिधिहरू यहाँ त्यसै हेरेर बसेका छैनन्’ भन्ने टिप्पणीसहित भन्नुभएको पनि छ । नेपालको सन्दर्भमा यही सेरोफेरोमा यो राष्ट्रिय नीति आवश्यक ठानिएको र प्रतिपादित गरिएको हो ।

बाह्य प्रभाव र हस्तक्षेपको रूप फेरिएको होला, तर त्यो झन् जब्बर र बहुकोणीय भएको छ । हाम्रो क्षेत्रमा शक्ति आर्जनले छिमेकतिर सर्दै गरेकोे शीतयुद्धको चिसोको प्रभाव रुस र अमेरिकाभन्दा नजिक छ । अमेरिका, रुस, भारत र चीनबीच चल्ने शक्तिस्पर्धा नेपालको भूराजनीतिक प्रबलतामाथि प्रभाव वा हस्तक्षेप निम्त्याउने जब्बर बहुकोणीय कारण हो । भलै, रुस केही शिथिल लागोस् ।

बीपीले स्वदेश फर्कने निर्णय, त्यस बेला देशवासीसँग गर्नुभएको अपिल, राष्ट्रिय मेलमिलाप नीति आदि–अनेक सन्दर्भमा बारम्बार बाह्य हस्तक्षेपको खतरा र थपिएको चुनौतीको सप्रसंग व्याख्या गर्नुभएको छ । के नेपाल त्यो स्थितिबाट मुक्त भएको छ कि थप गाँजिएको छ ? निश्चय नै थप गाँजिएको छ । राष्ट्रिय मेलमिलाप नीति वा रणनीतिको उपादेयता यही चुनौती र हस्तक्षेप सामना गर्न शाश्वत सान्दर्भिक देखिएको हो ।

राष्ट्रिय मेलमिलाप नीति देशको अखण्ड सार्वभौमिक अधिकार र नेपाली जनताको सार्वभौम र स्वतन्त्र सत्तासँग गाँसिएको सवाल हो । बीपी माटो, ढुंगो र भूगोल सीमा मात्रै देश हुँदैन, देश भनेको जनता हो भन्नुहुन्थ्यो । जनता वा उसको आधिपत्य नभए के भूगोल मात्रै देश बन्छ त ? भूखण्डमा जनताको अपरिहार्य संयोजन नै देश हो । बीपी व्याख्याको यही मान्यता, महत्त्व र अस्तित्वमा केन्द्रित नीति नै राष्ट्रिय मेलमिलाप रणनीति हो भन्ने बुझिन्छ ।

हरेक सन्देशमूलक संस्कार दिवस, श्रद्धा र श्रद्धाञ्जलीमा सीमित छन् । दिन आयो मनायो, कुरा गर्यो, बौद्धिक विलासजस्तो सकियो । तर, यसको मर्म पालनामा गाम्भीर्यचाहिँ खतम छ । काम कुरो एकातिर, कासी र कुतीको दूरीजस्तो चलन चलाइएको छ ।

यस्तो परिदृश्यबीच पनि नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रम गरेर जिज्ञासु पुस्तालाई यसबारे जान्ने उत्सुकताचाहिँ जगाएको हुनुपर्छ । कांग्रेस केन्द्रीय कार्यक्रममा सरकारको गठबन्धन र प्रतिपक्षी दलका शीर्ष नेतालाई एउटै मञ्चमा ल्याएर यसको मर्म, देशको वस्तुस्थिति, आन्तरिक राजनीति र बाह्य चुनौतीको समीक्षात्मक सामनाको प्रेरणा जागृत गर्न खोजिएको भने प्रशंसनीय छ । प्रश्न ती नेताले मर्म कति बुझ्लान् र गर्लान् भन्ने प्रतीक्षा हो ।

अन्त्यमा, प्रजातान्त्रिक विचार समाज नवलपरासी शाखाले राष्ट्रिय मेलमिलाप दिवसमा विचार गोष्ठी आयोजना गरेको थियो । कार्यक्रमपछि चियापानबीच साथीहरू भन्दै हुनुहुन्थ्यो– पहिलो कुरा त जननायक बीपीको पार्टी नेपाली कांग्रेसमै अहिले मेलमिलाप नीति आवश्यक छ, यस दिवसको सान्दर्भिकता तब भेटिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu