site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचन : यस्तो छ कोसी प्रदेशमा दलहरूको मतभार

विराटनगर । राष्ट्रियसभामा कोसी प्रदेशबाट दुई सिट खाली हुँदै छ । दलहरूका प्रदेश समितिले ती पदका सम्भावित उमेदवारको नामावली केन्द्रमा सिफारिस गर्नेक्रम जारी छ ।

राष्ट्रियसभामा खुलातर्फ नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा (माओवादी केन्द्र)की बीना पोखरेलको पदावधि सकिँदै छ । यी दुई सिटमा प्रतिनिधि छान्न निर्वाचन आयोगले कोसीमा तयारी थालिसकेको छ । आयोगले यही पुस २३ गते उमेदवारी मनोनयनको मिति तोकेको छ ।

कोसीमा गठबन्धनबाटै उमेदवारी दिने तयारी छ । कांग्रेस कोसीले राष्ट्रियसभा सदस्य निर्वाचनमा उमेदवार बनाउन ६३ जनाको नाम सिफारिस गरेको छ । खासआर्य महिलातर्फ नेत्री सुजाता कोइराला, पूर्वसांसद डा. डिला संग्रौलासहित २५ जनाको नाम सिफारिस गरिएको छ ।

खासआर्य/अन्यतर्फ ३८ जनाको नाम सिफारिस गरिएको छ । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलादेखि महेश आचार्य, मीनेन्द्र रिजाल, गुरुराज घिमिरेलगायत नेताको नाम यो सिफारिस सूचीमा छ ।

कांग्रेस कोसीका सभापति उद्धव थापाले तल्ला समितिबाट सिफारिस भएर आएका नाम केन्द्रमा पठाइएको बताए । उनले भने, “प्रक्रियागत ढंगले आएका नामहरू केन्द्रमा पठाइएको हो ।”

यस्तै, माओवादी केन्द्रबाट अजम्बर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, चम्पा कार्की, लता न्यौपाने, समिता कार्की, लक्ष्मी न्यौपाने, ममता राजवंशी, कृष्णकुमारी राईलगायत नेताको नाम सिफारिस गरेको छ ।

यहाँ कांग्रेस र माओवादी केन्द्रले एक/एक सिट लिने तयारी छ । नेताहरू भागबन्डका निम्ति छलफलमा जुटेकाले टुंगो भने लाग्न बाँकी छ । सत्ता गठबन्धनका यी दुई दलबाट मात्र १०० भन्दा धेरै आकांक्षी देखिएका छन् ।

नेकपा (एमाले)बाट सम्भावित उमेदवारको नाम अझै सिफारिस गरिएको छैन । आफूहरूले आवश्यक छलफल गरिरहेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

मतभार
राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति कोसी प्रदेशमा २७४ स्थानीय तहका प्रमुख, उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता छन् । उनीहरूको कुल मतदाता संख्या ३६७ छ । प्रदेशसभा सदस्यको प्रतिमतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहने व्यवस्था छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । यस हिसाबले प्रदेशबाट एमालेको मतभार दुई हजार १२०, कांग्रेसको एक हजार ५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

प्रदेशका १३७ स्थानीय तहमा एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन प्रमुख/उपप्रमुख छन् । यस हिसाबले एमालेको दुई हजार ९०, कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार हुनेछ ।

प्रदेशसभा सदस्य र पालिकातर्फ समेत गरी एमालेको कुल मतभार चार हजार २१०, कांग्रेसको तीन हजार ७२२ र माओवादी केन्द्रको एक हजार २७८ हुनेछ । एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

यसानुसार सत्ता गठबन्धनको कुल मतभार पाँच हजार ४८३ हुन्छ । यो मतभार एमालेको भन्दा एक हजार २६४ ले धेरै हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro