site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्यबहादुरको पालामा तीन करोड, बाबुरामले पाँच करोड पुर्‍याए, प्रचण्डले २४ करोड रुपैयाँ पुर्‍याउँदै
SkywellSkywell

काठमाडौं । भारतले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)अन्तर्गत नेपालमा सञ्चालन गर्ने परियोजनाको लगानी सीमा बढाउन पहल गरेको छ ।

पहिला ‘साना विकास परियोजना’ (एसडीपी)का नामले परिचित हालको एचआईडीसीपीअन्तर्गत सञ्चालन हुने एउटा परियोजनामा २४ करोड रुपैयाँसम्म लगानी गर्न पाउने गरी भारतसँग सम्झौता हुने भएको हो । 

यस्ता परियोजनामा हालसम्म भारतले बढीमा पाँच करोड रुपैयाँसम्म लगानी गर्न सक्दछ । बिहीबार काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा एउटा परियोजनाको लगानी सीमा २४ करोड पुर्‍याउने गरी सम्झौता हुन लागेको अर्थ मन्त्रालय उच्च स्रोतले बाह्रखरीलाई बताएको छ ।

KFC Island Ad
NIC Asia

नेपाल–भारत संयुक्त आयोग दुई देशीय संयन्त्रमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यो परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र हो । आयोगको बैठकमा सहभागी हुन बिहीबार नै भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै छन् ।

बैठक सकिएपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएकोे छ । बिहीबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भए भारतले एचआईडीसीपीअन्तर्गत सञ्चालन गर्ने एउटा परियोजनामा २४ करोड रुपैयाँसम्म लगानी गर्न पाउने छ ।

Royal Enfield Island Ad

एचआईडीसीपीमार्फत भारतले प्रत्यक्ष लगानी गर्ने यस परियोजनालाई नेपाल सरकारको नियन्त्रणमा ल्याउनुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।

“भारतलाई लगानी गर्न दिनुहुन्न भन्ने होइन, दिनुपर्छ । तर भारतीय लगानीमा सञ्चालन हुने परियोजनाको छनोट नेपाल सरकारले गर्न पाउनुपर्छ र यस्तो लगानी नेपालको बजेटमा समावेश हुनुपर्छ । होइन भने परियोजना चाहियो भन्दै हाम्रा स्थानीय तहका पदाधिकारी नेपाल सरकारसमक्ष होइन, काठमाडौंस्थित भारतीय दूतावासको ढोका धाउने छन्,” अर्थ मन्त्रालयको एक उच्च स्रोतले भन्यो ।

भारतले एचआईडीसीपीको सीमा बढाउने सम्झौताको प्रस्ताव गरेपछि दुई साताअघि यसलाई मन्त्रिपरिषद् बैठकमा लगिएको थियो । तर, मन्त्रीहरूलाई लगानीको सीमा बढाउने सम्बन्धमा मौखिक जानकारी मात्र दिइएको सरकारका एकमन्त्रीले बाह्रखरीसँग भने ।

मन्त्रिपरिषद्को बैठकमा केही मन्त्रीले यस्तो सम्झौता गर्न नहुने र गर्नै परे सम्पूर्ण रूपमा नेपाल सरकारको नियन्त्रण हुने गरी सम्झौता गर्नुपर्ने आवाज उठाएका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री प्रकाशशरण महतले सीमा बढाउने भारतीय प्रस्ताव तुरुन्त पास गर्नुपर्ने अडान लिएका थिए ।

मन्त्रिपरिषद्मा विवाद भएपछि सो प्रस्ताव मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाउने सहमति भएको थियो । आर्थिक तथा पूर्वाधार समितिको संयोजक अर्थमन्त्री महत छन् ।

“जसरी एउटा परियोजनाको सीमा बढाउने गरी सम्झौता गर्न लागिएको छ, यो राष्ट्रहितमा छैन । यसलाई परिमार्जन नगरे र नेपाल सरकारको पूर्ण नियन्त्रणमा नराखे भविष्यमा ठूलो हानी गर्छ,” सरकारका एक मन्त्रीले बाह्रखरीसँग भने । भारतले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई ठूलै दबाब दिइरहेको दाबी ती मन्त्रीको छ ।

सन् २०२३ अगष्ट ५ सम्म म्याद रहेको एचआईडीसीपी सम्झौताको अवधि गत अगष्ट १ का दिन बसेको मन्त्रिपरिषद्को बैठकले २०२६ अगष्ट ५ सम्म थप गर्ने निर्णय गरेको छ ।

यस्ता परियोजनामार्फत भारतले नेपालमा प्रत्यक्ष लगानी गर्दै आएको छ ।  स्थानीय जनतालाई आकर्षित गर्ने उद्देश्यले यस्ता परियोजना सञ्चालन हुने गरेको धेरैको बुझाइ छ । यस्तो विशेष अधिकार सरकारले भारतलाई बाहेक अन्य राष्ट्रलाई दिएको छैन । 

“भारतले साना विकास परियोजना (एसडीपी) हुँदै एचआईडीसीपीमार्फत जसरी नेपालमा लगानी गरिरहेको छ, यो नेपालको हितमा छैन । यसलाई या त बन्द गर्नुपर्छ होइन भने पूर्ण रूपमा नेपाल सरकारको नियन्त्रणमा ल्याउनुपर्छ,” पूर्वराजदूत सुरेश प्रधानले भने ।

नेपालको तर्फबाट अर्थ मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासबीच सन् २००३ नोभेम्बरमा एसडीपी सञ्चालन सम्झौता भएको थियो । त्यसपछि सम्झौताको म्याद सकिनुभन्दा केही दिन अगाडि दुईदेखि चार वर्षसम्मका लागि यसको म्याद थप गरिँदै आएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार सम्झौता भएपछि हालसम्म २० वर्षको अवधिमा भारतले ५५० वटा भन्दा बढी साना परियोजनामा लगानी गरेको छ । लगानी भएकामध्ये ४८८ परियोजना सम्पन्न भइसकेका छन् । हालसम्म यी परियोजनामा १२ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको दूतावासको तथ्यांकले देखाउँछ ।

सुरुमा तत्कालीन जिल्ला विकास समितिमार्फत परियोजना कार्यान्वयन गरिन्थ्यो । देशको शासन प्रणालीमा परिवर्तन आएसँगै परियोजना कार्यान्वयनको अस्थायी जिम्मेवारी सम्बन्धित जिल्ला समन्वय समितिलाई दिइएको थियो ।

भारतले पनि सुरुमा यसलाई साना विकास परियोजनाकै नाममा सञ्चालन गरेको थियो । पछि उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) शिर्षकमा यस्तो रकम नेपालमा खर्च गर्ने गरेको छ । 

नेपालको संविधान, २०७२ ले स्थानीय तहलाई प्रत्यक्ष विदेशी अनुदान लिन रोक लगाएपछि साना विकास परियोजनामा भारतको लगानी रोकिएको थियो । 

सन् २०१७ अगष्ट ५ मा सम्झौताको म्याद सकिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश नयाँ संरचनामा गएको जनाउँदै सम्झौताको म्याद थप नगर्ने निर्णय लिएका थिए । भारतीय दूतावासले पटक–पटक ताकेता गर्दा पनि सम्झौदाको म्याद थप्न नहुने अडानमा देउवा थिए । 

सन् २०१७ नेभेम्बरमा सम्पन्न निर्वाचनपछि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः सम्झौताको म्याद थप गर्ने निर्णय गरेको थियो ।

साना विकास परियोजनालाई राष्ट्रिय प्रणाली (बजेट)बाट लैजान नेपाल र भारत दुवै सहमत भएपछि म्याद सकिएको डेढ वर्षपछि सरकारले म्याद थप गरेको थियो ।

सन् २०१९ डिसेम्बर २३ मा मन्त्रिपरिषद्को निर्णयले नयाँ कार्यान्वयन ढाँचालाई स्वीकृत गर्दै परियोजना कार्यान्वयन पुनः सुरु गर्ने निर्णय गरेको थियो ।

भारतीय दूतावासको लगानी रहने साना विकास परियोजना धेरै विवादमा आएपछि सरकारले परियोजनामा भारतीय दूतावासले सिधै लगानी गर्न नपाउने गरी निकाय र ढाँचा तोकेको दाबी ओली नेतृत्वको सरकारले गरेको थियो । तर, व्यवहारमा खासै भिन्नता थिएन ।

“पहिला सिँधै भारतीय दूतावासले परियोजना छनोट गथ्र्यो, अहिले त्यही काम घुमाएर गर्छ । भिन्नता खासै छैन,” अर्थ मन्त्रालय उच्च स्रोतले भन्यो ।

नयाँ ढाँचाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र काठमाडौंस्थित भारतीय दूतावासबीच समन्वय गर्छ ।

मन्त्रालयले स्थानीय तहबाट परियोजना प्रस्तावहरू अर्थ मन्त्रालयमा पठाउँछ जसले कार्यान्वयनका लागि भारतीय दूतावासमा पठाउँछ । 

परियोजना कार्यान्वयनका लागि सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र कार्यान्वयन गर्ने स्थानीय तहबीच त्रिपक्षीय सम्झौता हुनुपर्छ । यो ढाँचामा परियोजनाको कुल लागतको २० प्रतिशत स्थानीय तहले व्यहोर्नुपर्ने व्यवस्था छ ।

स्थानीयस्तरमा भारतीय दूतावासलाई सिधै परियोजना छनौट गरी लगानी गर्ने सुविधा सबैभन्दा पहिला तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले दिएका थिए । थापाले सन् २००३ मा पहिलो पटक भारतीय दूतावासलाई तीन करोड रुपैयाँसम्मका यस्ता परियोजनामा सिधै लगानी गर्न दिने गरी सम्झौता गरेका थिए ।

त्यसपछि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यो रकमलाई बढाइ पाँच करोड रुपैयाँ पुर्‍याएका थिए । प्रचण्ड नेतृत्वको सरकारले यो सीमा बढाएर पाँच करोडबाट २४ करोड पुर्‍याउन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro