नेपालको सबैभन्दा पुरानो वीर अस्पताल नाम परिवर्तन गरेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनेको छ । तर, नामबाहेक यो अस्पतालमा सकारात्मक परिवर्तन केही देखिएको छैन ।
कुनै जमानामा देशका सम्पूर्ण महत्त्वपूर्ण व्यक्तिहरू समेत यो अस्पतालमा उपचार गराउन जाने हुनाले यसको छुट्ट्रै महत्त्व थियो । पछिल्लो समय यो अस्पताल कमजोर आर्थिक अवस्थाका बिरामीको आशाको केन्द्र बनेको छ । तर, यतिखेर यो आफैँ एक अशक्त संस्था बन्न पुगेको छ ।
यस संस्थाको नेतृत्वमा सधैँ सत्तामा रहेका दलले आफ्नो स्वार्थपूर्ति गर्न सक्ने कर्मचारीलाई बढावा दिँदै नेतृत्वमा पठाएका कारणले वीर अस्पताल कर्मचारीलाई तलब–भत्ता समेत खुवाउन नसक्ने दारुण अवस्थामा पुगेको छ ।
हाम्रा नेताहरू सधैँ देश र जनताका लागि आफूले अनेक काम गरेको फोस्रो भाषण रन्काउँदै हिँडदा गौरवान्वित हुन्छन्, तर एक गरिब जनता वीर अस्पतालमा आएर उपचारको अभावमा पीडा भोग्दै दुःख पाइरहेको वा मृत्युवरण गर्न बाध्य भएका अनेकन् समाचारले तिनको चेतनाको ढोका खोल्दैन ।
अस्पतालमा काम गर्ने कर्मचारीहरूले समयमै तलब नपाएर घरको चुल्हो जलाउन नपाएको पीडाले तिनलाई अलिकति पनि छोएको देखिँदैन । अस्पतालमा अक्सिजन छैन, ल्याबमा रि–एजेन्ट किन्न पैसा छैन, कुनै चिकित्सा उपकरण ठीक अवस्थामा छैनन् र कर्मचारी आन्दोलनमा छन् । वीर अस्पतालको स्वास्थ्य कस्तो होला ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार एक वर्ष पूरा गरेको अवसरमा विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेको दाबी गर्दै गर्दा राजधानीको मुटुमा रहेको देशकै प्रतिष्ठित सरकारी अस्पतालको क्रन्दन सुन्दैनन् । कांग्रेसका तर्फबाट मन्त्री पदको भाग पाएर स्वास्थ्य मन्त्रालयको जिम्मा लिएका मन्त्री मोहनबहादुर बस्नेतले आफूभन्दा अगाडिका मन्त्रीहरूले कमजोर बनाएको अस्पताललाई थप कमजोर बनाउनुबाहेक अरू काम गर्न सकेका छैनन् ।
मन्त्री बस्नेत विभागीय मन्त्री बनेर आएपछि सस्तो लोकप्रियता प्राप्त गर्ने निर्णयबाहेक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अघि बढाउन ठोस केही गरेका छैनन् । ‘देशलाई गौरव गर्न लायक अस्पताल बनाउँछु’ भनेर डिङ हान्ने बस्नेतले पुराना २२४ चिकित्सक तथा नर्सलाई हटाएर आफ्ना ६९ मान्छे थोपर्ने कोसिसमा नालायकी प्रमाणित गरेका छन् ।
त्यति मात्र होइन, अस्पतालको एक प्रमुख आर्थिक स्रोतका रूपमा रहेको प्रतिबेड रु. २०० शुल्क खारेज गरेर सबै बेड निःशुल्क गरे । यो कदमले उनलाई लोकप्रिय होइन, हास्यको पात्र बनायो, किनभने अस्पतालसँग कर्मचारीलाई उनीहरूले पाउने भत्ता दिन समेत पैसा रहेन ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई जर्जर अवस्थामा पुर्याउन त्यहाँका निर्णायक तहमा रहेका कर्मचारीको भूमिका उल्लेख गर्नैपर्ने हुन्छ । वीर अस्पतालमा आएका बिरामीलाई निजी अस्पतालमा पुर्याउन दलालीको भूमिका त्यहीँकै कर्मचारीले खेलेका अनेक उदाहरण विगतमा पनि छताछुल्ल भएकै हुन् ।
त्यस अस्पतालमा रहेका एक्स–रेदेखि अक्सिजन प्लान्टसम्म अनेक उपकरण बिगारेर बिरामीलाई निजीमा पठाउने खेलमा लागेका कर्मचारीलाई र तिनैबाट कमिसन खाने नेतृत्वलाई कडाभन्दा कडा कारबाही नगर्ने हो भने वीर अस्पताल आफैँ आर्यघाटतिर प्रस्थान गर्नुको अर्को विकल्प देखिँदैन ।
यदि, प्रधानमन्त्री प्रचण्डमा आफूले राम्रो काम गरेको देखाउने हुटहुटी छ भने एकपटक वीर अस्पतालमा पुगून्, समस्या सुनून् र सुधारको औजार तुरुन्त प्रयोग गरून् । सक्छन् भने मन्त्रीलाई काम लगाउनू, सक्दैनन् आफैँ राजीनामा दिऊन् । मन्त्री आफ्नो दलको भएन भन्ने बहानामा देशको राष्ट्रिय अस्पताललाई निरीह बनाउन कसैले पनि पाउँदैन ।