काठमाडौं । नेपाली कला क्षेत्रमा त्यस्ता थुप्रै कलाकार छन्, जो आफ्नो अभिनय कलासँगै थेगोले पनि लोकप्रिय छन् । बेलाबेला यस्ता थेगो लिएर कलाकार आउँछन् र लोकप्रिय हुन्छन् । यही बाटोमा रहेको एउटा थेगो हो, ‘बिजोग रमाइलो छ हो’ । हास्यटेलिशृंखला ‘सक्किगोनि’मा केही भागयता एउटा नयाँ क्यारेक्टर थपिएको छ, गल्फने बाजे । पूर्वी पहाडी लबजमा देखिने बबिन राई उर्फ गल्फने बाजेले ‘बिजोग रमाइलो छ’ भन्ने थेगो प्रयोग गरिरहन्छ ।
कसरी भित्रियो यो क्यारेक्टर, को हुन् गल्फने बाजे, कसले ‘क्वाइन’ गरेको हो यो थेगो ?
‘सक्किगोनि’ टिममाथि एउटा आरोप लागिरहेको थियो– बाहुनहरूको टेलिसिरियल । हुन त यो टेलिशृंखलामा अरू समुदाय र क्षेत्रका क्यारेक्टर आउँदै नआउने होइन, तर केही भागमा आउने र केहीमा हराउने भइरहेको थियो । त्यसैले जनजातिविशेष र पूर्वी पहाडको प्रतिनिधित्व गर्ने एउटा क्यारेक्टर चाहिएको थियो ।
“अहिले हाम्रो सिरियलमा भइरहेका भन्दा फरक क्यारेक्टर हामीलाई चाहिरहेको थियो, तर भेटिएको थिएन । एकातिर स्टोरीले नै क्यारेक्टर मागिरहेको थियो, अर्कोतर्फ हामीलाई समावेशी पनि हुनुपर्ने थियो,” ‘सक्किगोनि’का लेखक तथा निर्देशक समेत रहेका अर्जुन घिमिरे (पाँडे) भन्छन्, “हाम्रो नियत नै त होइन, तर समावेशी क्यारेक्टर कहिले आउने कहिले जाने भइरहेको थियो । त्यसैले फरक क्यारेक्टर जोडिने क्रममा बबिनजी जोडिनुभयो ।”
सुरुमा यो क्यारेक्टरको खोजी लामै चल्यो । जनजाति क्यारेक्टर, त्यसमा पनि अब्बल कलाकार चाहिएको थियो । तर, अर्जुनलगायत ‘सक्किगोनि’ टिमले भेटिरहेको थिएन ।
त्यही समय ‘सक्किगोनि’कै अर्का लेखक तथा निर्देशक समेत रहेका कलाकार कुमार कट्टेल (जिग्री)ले बबिनको नाम सुझाए । कुमारको गृहजिल्लाकै भएकाले बबिनसँग उनको चिनजान थियो ।
“कुमार पनि सोलुकै भएकाले उहाँसँग चिनजान रहेछ । सोलुमै स्थानीय रूपमा हुने नाटकमा उहाँले खेलिसक्नुभएको र थिएटरमा पनि काम गरिसकेकाले उहाँले काम गर्न सक्नुहुन्छ भन्ने लागेर हामीले लियौँ,” अर्जुन बबिनलाई अनुबन्ध गराउँदाको क्षण सुनाउँछन् ।
सुरुमा बबिनलाई धेरै शृंखलामा खेलाउने योजना थिएन । तर, जब बबिनको क्यारेक्टर ‘गल्फने बाजे’ प्रसारण भयो, दर्शकले रुचाए । त्यसपछि पछिल्लो चार भागयता उनले निरन्तरता पाइरहेका छन् ।
“दर्शकले मन पराएपछि अब हामी यो क्यारेक्टरलाई कन्टिन्यु गर्दै र्छौँ,” अर्जुन भन्छन्, “उहाँको थेगो ‘बिजोग रमाइलो छ हो’ सुरुमै हिट भयो । अहिले जता भए पनि ‘बिजोग रमाइलो’ भनेको सुनिन्छ । युट्युबको लिंकमा पनि कमेन्ट हेर्ने हो भने यो थेगो कति रुचाइएको छ भन्ने देखिन्छ ।”
कुमारले ‘मै राम्री’ शीर्षकको धुर्मुस–सुन्तलीको टेलिसिरियलमा बबिनलाई देखेका थिए । नोटिस गरेका थिए, बडो राम्रो अभिनय गर्ने कलाकारका रूपमा । “मलाई त्यो बेला उहाँको स्वभाव राम्रो लागेको थियो, इमानदार पनि लागेको थियो,” कुमार सम्झिन्छन् ।
‘सक्किगोनि’को स्क्रिप्टमा एउटा कथा आयो– छोराहरू यूके, बु्रनाईमा बस्ने, टन्न पैसा कमाउने तर बाउ नेपालमा एक्लै । गफ गर्ने साथी पनि कोही छैन । त्यसपछि ‘सक्किगोनि’ टिमले यो पात्रमा को उपयुक्त होला भन्ने खोज्न थाल्यो ।
“मेरो आफ्नै गाउँको भए पनि त्यति धेरै उठबस र संगत नै भएको त होइन, तर सामान्य चिनजान थियो,” कुमार भन्छन्, “फोन गर्दा उहाँ काठमाडौंमा आउनुभएको रहेछ ।” त्यसपछि उनले भने ‘सक्किगोनि’का निम्ति अफर गरे । बबिन ‘सक्किगोनि’मा अनुबन्ध भए ।
त्ससो त बबिन लामो समयदेखि कलाकारिताको भोक पालेर बसेका व्यक्ति थिए । देश छँदा होस् वा विदेशमा रहँदा, उनले कलाकारितालाई छोडेनन् । “कलाकारितामा बबिनको आफ्नै संघर्षको कथा छ । उहाँ कतारमा काम गर्न जाँदा पनि उहाँले कलालाई भुल्नु भएन,” कुमार भन्छन्, “थुप्रै वर्षअगाडि कतारमा अर्जुनजी र म जाँदा बबिनजीकै अग्रसरतामा त्यहाँ स्टेज कार्यक्रम भएको थियो ।” भलै, त्यो बेला कुमारसँग उनको सामान्य चिनजान मात्र भयो । गाउँले हो भन्ने मात्र भयो ।
‘सक्किकोनि’को सुटिङ काभ्रेको पाँचखालमा हुन्छ । गाडीमा सँगै जाँदै थिए । बबिन बेलाबेलामा भन्थे– जिन्दगी त बिजोग रमाइलो छ !
कुमार, अर्जुन र दीपक आचार्य (काकु)लाई यो शब्दले छोयो– यो थेगो त क्लिक हुनसक्छ । त्यसपछि उनीहरूले स्क्रिप्टमै राखे– जिन्दगी बिजोग रमाइलो छ !
बबिनमा कलाकारिताको भोक थियो । सुरुका दिन उनले काठमाडौंमा लामै संघर्ष गरे । डान्सदेखि अभिनय जे हुन्छ, उनलाई कलाकारिता गर्नु थियो ।
“०६०/६१ मा मैले काठमाडौंमा डान्स पनि गरेँ । थुप्रै गीतमा कोरस पनि गरेँ,” बबिन कलाकारितामा संघर्षका सुरुका दिन स्मरण गर्छन् । फिचर फिल्ममा भने कल्चरल सिनेमा ‘मतान’मा अभिनय गरे । त्यसपछि सिनेमामा बबिनले अभिनय गरेनन् ।
देशमा रोजगारीको पर्याप्त अवसर थिएन । सँगैका साथीहरू रोजगारीका निम्ति समुद्रपार उडिरहेका थिए । बबिनले पनि त्यही बाटो रोजे । १० वर्ष कतार र केही समयको मलेसिया बसाइपछि उनी स्वदेश फर्किए ।
देश छोडेर विदेशिनु त बबिनको बाध्यता न थियो । कलाकारितामा रुचि थियो । कतै अवसर आउँछ कि भन्ने अपेक्षा थियो । नभन्दै गएको भदौको एक दिन हरि निरौला (कक्रोज)ले फोन गरे । उनले सोधे, ‘दाइ, धुर्मुस दाइले टेलिशृंखला बनाउँदै हुनुहुन्छ, त्यसमा एउटा रोल छ, खेल्नुहुन्छ ?’
‘के खोज्छस्... आँखो’ भनेझैँ खोज्दै आएको अवसर किन नकार्नु ? ‘हुन्छ’ भने ।
‘मै राम्री’मा दुई भागमा उनले अभिनय गरे ।
“सीताराम (धुर्मुस), जिग्री र म त गाउँले हो । हामी एउटै वडाका हौँ । तर, उनीहरू पहिला नै झापा झरेकाले त्यति धेरै नजिकको सम्बन्ध थिएन,” बबिन भन्छन्, “तर, कक्रोज भने पछिसम्म पनि सोलु (नेचासल्यान गाउँपालिका)मै भएकाले राम्रो सम्बन्ध र चिनजान थियो । त्यसैले उसले बोलाएको थियो ।”
त्यही ‘मै राम्री’मा गरेको काम हो कुमारले नोटिस गरेको । र, ‘सक्किगोनि’को ढोका खुलेको ।
‘सक्किगोनि’को छायांकनमा जान टिमका अधिकांश सदस्य गाडीमा बसिरहेका थिए । त्यही क्रममा हरि निरौला आइपुगे । “कक्रोज भाइ गाडीभित्र पस्दै भने– दाइ, के छ खबर ?,” बबिन भन्छन्, “मैले भनेँ– “जिन्दगी बिजोग रमाइलो छ नि हो भाइ !”
बबिनको यो थेगो दीपक आचार्यले नोटिस गरेका रहेछन् । स्क्रिप्टमा उनले अर्जुन र कुमारसँग सल्लाह गरेर यो थेगो समावेश गरे ।
शुक्रबार बाह्रखरीले भेट्न खोज्दा बबिन गाउँमा थिए । नेचासल्यानबाटै फोनमा उनले भने, “म त काठमाडौं बस्दिनँ, काम पर्दा मात्रै आउने हो ।”
बबिनले खेलेका ‘सक्किगोनि’का चार शृंखला प्रसारण भइसके । “अब मैले अभिनय गरेका दुईवटा शृंखला खिचिएको छ,” उनले भने, “साथीहरूले अभिनयका लागि बोलाउनुभयो भने आउँछु ।”
‘सक्किगोनि’ प्रसारणमा आयो । दुर्गम गाउँबस्तीमा रुचाइने हास्यटेलिशृंखला हो, प्रतिक्रिया त आउने नै भयो । गाउँका स्थानीयदेखि आफन्त र शुभेच्छुकले भने, ‘ढिलै भए पनि बल्ल ठाउँमा पुगिछस्, धेरै अगाडि नै पुग्नुपर्ने थियो । तेरो कला यसैगरी हेर्न पाऊँ ।’
“मलाई चिन्ने र मेरो रुचि के हो भन्ने थाहा पाउनेलाई त म कलाकारिता गर्छु भन्ने थाहै थियो,” बबिन भन्छन्, “थाहा नपाउनेले पनि थाहा पाउनुभयो । भोलि त कसले देखेको छ र के हुन्छ होइन र ? अहिलेलाई राम्रो प्रतिक्रिया आइरहेको छ ।”