काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी क्षेत्रमा भएको प्रर्दशनमा आफू चढेको गाडी आगजनी भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का उपमहासचिवसमेत रहेका मन्त्री ज्वालाले पार्टी केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग आन्दोलनकारीको मागबारे आफूलाई पूर्वजानकारी नभएको बताए ।
आफ्नो मन्त्रालयसँग सम्बन्धित नभएको विषयमा आगजनी गरिएको उनको भनाइ छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा आवेदन दिएका युवाहरूले गरेको आन्दोलनको क्रममा मृत्यु भएको घटनामा उनले दु:ख व्यक्त गरे ।
यस्तो छ घटनाबारे उनको ब्रिफिङ :
आज बालकुमारी क्षेत्रमा जुन घटना भयो, हाम्रो गाडीमा पनि आगजनी गरियो, यो घटनाप्रति म दुःख व्यक्त गर्दछु । मान्छेको ज्यान जाने, घाइते हुने कुरा दु:खद हो । म यसप्रति दुःख व्यक्त गर्दछु ।
बालकुमारीमा भएको घटनाका सन्दर्भमा न हामीलाई जानकारी छ, न पूर्व जानकारी छ । न सम्बन्ध छ, न सरोकार छ । हाम्रो मन्त्रालयसँग कुनै साइनो सम्बन्ध नै छैन ।
गाडी मन्त्रालयतिर गइरहेको बेलामा त्यहाँ रोकियो । गाडी रोकेर टायरको हावा खुस्काइयो । गाडीमा आगजनी गरियो । यो अत्यन्त दु:खद विषय हो ।
बिना कारण कुनै सम्बन्ध नभएको कुरामा सडकमा गाडी गुडिरहेको छ, आफ्नो मन्त्रालय, कार्यलयमा गइरहेको छ । जो जसको सरोकार जहाँ–जहाँ थियो त्यो एउटा विषय होला । हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण थिएन । बिना कारण आगजनी गर्नुपर्ने कुरा, सरकारी सम्पति क्षति पुर्याउने कुरा खेदजनक हो ।
प्रहरी र प्रदर्शनकारीको भिडन्त, गोली लाग्ने कुराबारे मलाई धेरै जानकारी छैन । गाडी मन्त्रालयमा गइरहेको बेलामा घेराम पर्यो । आगजनी गरियो । यो हुन नहुने कुरा हो । यो घटनामा मेरो व्यक्तिगतरूपमा सरोकार सम्बन्ध केही पनि छैन ।