site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमा आक्रोश– मन्त्रीले गुटको काम गर्ने, अपजस चाहिँ पार्टीले बोकिदिनुपर्ने ?

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको आरोप लगाएका हुन् । गुटका लागि काम गर्ने मन्त्रीहरूको ‘अपजस’को भारी आफूहरूले नबोक्ने उनीहरूको भनाइ छ ।

बैठकको पहिलो दिन बिहीबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने भनिएको थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू हिँडेका थिए ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारमा 'कांग्रेस छ र ?' भन्ने आशयबाट धारणा राखेका थिए । उनीहरूले कांग्रेस सत्तामा भए पनि 'के हो उपलब्धि' भन्दै प्रश्न गरे । 

Dabur Nepal
NIC Asia

उनीहरूले देशमा भ्रष्टचार बढेको, सुशासन सकिएर दण्डहीनता मौलाएको, देश काण्डैकाण्डमा फसेको बताएका थिए । ‘यस्तो विषम अवस्थामा कांग्रेस सत्तामा भए पनि के चाहिँ अनुभुति जनताले गर्न पाए ?,’ उनीहरूको प्रश्न थियो ।

केन्द्रीय सदस्य राजीव कोइरालाले गठबन्धनको सरकार असफल हुने तर अपजस जति केन्द्रीय सदस्यले बोकिदिनुपर्ने भन्दै आक्रोश पोख । ‘‘हाम्रा मन्त्री गुटको आधारमा काम गर्ने भए,” कोइरालाले भनेका थिए, “अपजस चाहिँ हामीले बोकिदिनुपर्ने ? जस कसले लिने ?”

अर्का केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले कांग्रेस सरकारमा भए पनि कांग्रेसका नेता/कार्यकर्ताले नै अनुभूति गर्न नपाएको गुनासो पोखिन् । “हाम्रा मन्त्री सरकारमा छन् । तर, खै मन्त्री सरकारमा भएको अनुभूति नै भएन,” यादवको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने । 

बैठकमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै संस्थापइतर समूह निकट केन्द्रीय सदस्यले खुलेर भनाइ राखे । उनीहरूको चासो सरकार असफल भए जनतामा कांग्रेसको सकारात्मक सन्देश जाँदैन भन्ने रहेको सांसदसमेत रहेका एक केन्द्रीय सदस्य बताउँछन् ।

“सांसद छु विरोधमा बोलौँ भने मन्त्री बन्न नपाएको झोकमा बोलिस् भन्छन् । मैले भित्र कुरा चाहिँ राखिनँ,” उनले भने । 

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बताए ।

प्रधानमन्त्रीले मन्त्री फेर्न चाहे कांग्रेस बाधक नबन्ने 

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहे कांग्रेस बाधक नबन्ने बताए । कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने भन्दै उनले कांग्रेस बैठकमा यस विषयमा छलफल बाँकी रहेको उल्लेख गरे । 

“मन्त्री हेरफेरको विषयमा बैठकमै छलफल भइसकेको छैन । तर, यो संसदीय व्यवस्था हो । प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् आवश्यक पर्छ । एकल सरकार भएको भए प्रधानमन्त्रीले जति बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्थ्यो,” उनले भने ।

विश्वकर्माले प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग छलफल गरेर जुनसुकै बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्ने भएकाले त्यसमा कांग्रेस बाधक नबन्ने धारणा राखे ।

साथै उनले सरकारको सफलता र असफलताको विषयमा प्रधानमन्त्रीकै हातमा निर्भर रहेको पनि बताए । 

राष्ट्रियसभाको चर्चा– चुनाव हारेकालाई ल्याउने भए मेरो नाम किन नपर्ने ? 

केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा निर्वाचनमा उमेदवार सिफारिसलाई लिएर पनि चर्को आलोचना भएको छ । अघिल्लो वर्ष तीन तहमा भएको निर्वाचन हारेकाहरूको नाम सिफारिस भएको भन्दै केन्द्रीय सदस्यहरू आक्रोशित भएका छन् । 

सबै प्रदेश कमिटीहरूले अघिल्लो वर्षको प्रतिनिधिसभा निर्वाचन हारेकाहरूको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेका छन् । जसमा कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, पुष्पा भुसाल, भरत शाहलगायत छन् ।

केन्द्रीय सदस्यहरूले उमेदवार सिफारिस र छनोटको मापदण्ड के हो भन्दै प्रश्न उठाए । उनीहरूले हारेको मान्छेलाई सिफारिस गर्ने भए आफ्नो नाम किन सिफारिसन हुने भन्दै प्रश्न गरे ।

केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले राष्ट्रियसभामा ल्याउने उमेदवारको विषयमा खुला र सबैका लागि लागु हुने मापदण्ड बनाउन माग गरे । नेता कँडेलले चुनाव हारेकाहरूलाई राष्ट्रियसभामा उमेदवार बनाउने वा नबनाउने भन्ने विषयमा पार्टीले स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए । 

“यदि हारेकाहरू नै राष्ट्रियसभामा आउने हो भने म किन नआउने ?,” प्रश्न गर्दै कँडेलले भने, “पार्टीका नाममा गलत व्यक्तिको संरक्षण नगरियोस् । दण्ड र पुरस्कारको व्यवस्था पार्टीमा लागु होस् ।”

केन्द्रीय सदस्यहरूले कसैले अवसर पाइरहने, कसैले अवसर नै नपाएर अन्याय भएको गुनासो गरे । केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले नयाँ उमेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । 

“अहिलेसम्म नपाएकालाई प्राथामिकता दिऔँ ।कोही दोहोरिने, कोही केही नपाउने नहोस्,” उनले बैठकमा भने । 

अर्का केन्द्रीय सदस्य कर्ण बुढाले पनि धेरै अवसर पाएकाहरूलाई चुप लागेर बसिदिन आग्रह गरे । साथै उनले कर्णाली प्रदेशलाई प्राथामिकता दिन पनि अनुरोध गरे । 

“धेरै अवसर लिएकाले अब अवसर नलिऔँ । नयाँलाई अवसर दिऔँ,” उनले थपे ।

अर्का केन्द्रीय सदस्य राजीव कोइरालाको तर्क पनि फरक थिए ।

भूकम्प पीडितका लागि ४०७ टहरा

केन्द्रीय कार्यसमिति बैठकमा जाजरकोटमा भूकम्प प्रभावितलाई निर्माण गरिएको अस्थायी टहराको विवरण पनि प्रस्तुत गरिएको थियो ।

सहमहामन्त्री जीवन परियारले अहिलेसम्म ४०७ वटा टहरा निर्माण गरिएको बताए । पार्टीका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा १२५, मोहन आचार्यको नेतृत्वमा ११३, योगेन्द्र चौधरीको नेतृत्वमा २५ टहरा निर्माण गरिएको उनले जानकारी दिए । केन्द्रीय सदस्यहरू नैनसिंह महर, कुन्दनराज काफ्ले र राजीवविक्रम शाहको  नेतृत्वमा दुई टहरा बनाइएको उनले बताए ।

केन्द्रीय सदस्य राजीव ढुंगानाको नेतृत्वमा तीन, कर्णाली प्रदेश कार्यसमितिको नेतृत्वमा ५२, बाँके कांग्रेस सभापतिको नेतृत्वमा १० टहरा निर्माण गरिएको जनाइएको छ ।

धरानका पूर्वमेयर तिलक राईको नेतृत्वमा ६ र ट्रेड युनियन कांग्रेसको नेतृत्वमा ७० टहरा निर्माण गरिएको विवरण उनले बैठकमा प्रस्तुत गरे । कांग्रेसको केन्द्रीय समितिले टहरा बनाउन निर्देशन दिएको थियो ।

केन्द्रीय समितिको दोस्रो दिनको बैठक शुक्रबार ११ बजे सुरु हुने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro