site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटनमन्त्रीको दाबी : देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको बताए । उनले आफू मन्त्री भइसकेपछि एक महिनामा ई–टिकेटिङ लागु गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए ।

Argakhachi Cement Island Ad

उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए । हवाई उडान हुन नसकेको २२ वटा खाली एयरपोर्टहरूमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताए ।

किरातीले भने, "अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । वायुसेवा निगमको कुरा गर्ने हो भने आएको एक महिनामा ई–टिकेटिङ लागु गरेका थियौँ ।"

मन्त्री किरातीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पुर्‍याएको बताए । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न आफू सफल भएको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्