काठमाडौं । पाँचौं डिशहोम १२खरी कथा लेखन प्रतियोगिता नेपाली साहित्यको क्षेत्रमा ‘सेलिब्रेसन’ भएको वक्ताहरूले बताएका छन् ।
निजी क्षेत्रको अग्रसरतामा नेपाली साहित्यको संरक्षण, सम्वर्द्धन र विस्तारका निम्ति १२खरी कथा लेखन प्रतियोगिता सेलिब्रेसन (उत्सव) भएको उनीहरूको भनाइ छ । समाजको यथार्थ चित्रण गर्दै साहित्य क्षेत्रलाई अघि बढाउन प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याएको वक्ताले बताए ।
‘बुढो लाँकुरीको रुख’ कथाले पायो एक लाख, ‘काँचुली’ दोस्रो र ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली समाजको व्यथा, वेदना र विद्रोह बोल्ने कथा लेखन प्रतियोगिता आफैँमा सेलिब्रेसन गर्न लायक भएको उल्लेख गरे ।
पाँचौं ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता—२०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा आइतबार प्रमुख अतिथिका रूपमा उनले कथा साहित्यको व्यावहारिक र लोकप्रिय विधा भएको बताए ।
“कथा व्यावहारिक विधा हो । छोटो समयमा सानो आँखीझ्यालबाट ठूलो समाज र यथार्थ हेर्न सकिने यो विधालाई बाह्रखरी मिडियाले संरक्षण र सम्वर्द्धन गर्दै आएको छ, यो सराहनीय पक्ष हो,” पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “नेपाली साहित्यको विश्वमा स्थान कहाँ छ भन्ने कुरा आउँछ । यो संग्रहलाई विश्वका विभिन्न भाषामा अनुवाद गरेर नेपाली साहित्यको बजारीकरण गर्न सकिन्छ ।”
गैरआख्यान पेट पाल्ने माध्यम मात्र भएको भन्दै उनले समाज बुझ्ने र चेतना जगाउने आख्यान विधालाई सशक्त बनाएर लैजानुपर्नेमा जोड दिए ।
कथाको बजारीकरण नभएको भन्दै उनले अगाडि थपे, “बजारीकरण भएको छ भने पनि कसको भएको छ थाहा छैन । साहित्यकार गरिब छन् । गरिबीमा नै रहेर उहाँहरूले आफ्नो सिर्जनशीलतालाई निरन्तरता दिइरहनुभएको छ । म उहाँहरूलाई सम्मान गर्छु । र, निरन्तरता दिन आग्रह गर्छु ।”
साहित्य कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै उनले जर्जर राजनीति वैभव रहेको टिप्पणी गरे । जर्जर राजनीतिका कारण विदेश पलायन हुनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । उनले जर्जर राजनीतिलाई खबरदारी गर्न आजको साहित्य केन्द्रित हुनुपर्ने बताए ।
लेखकको नाम उपलब्ध नगराइएकाले निर्णायकलाई नै कसको कथा विजयी भयो भन्ने थाहा नहुनु र लेखनका आधारमा मात्र मूल्यांकन गर्नु निष्पक्षताको उत्कृष्ट उदाहरण भएको उनले बताए । उनले मूल्यांकनको यो पद्धति समाजका अरू क्षेत्रमा पनि लागु गर्नुपर्नेमा जोड दिए ।
एउटा प्रतियोगितामा ८४३ जनाले सहभागिता जनाउनुले साहित्यमा ठूलो समूहको रुचि छ भन्ने देखाउने भन्दै उनले यो विधालाई मजबुत बनाउँदै जानुपर्ने बताए ।
कथामा गाईगोठका कुरा, लडाईंका विषय, जिउँदै मरेतुल्य हुनुपर्ने अवस्था, अविकसित समाज र सम्बन्धका उतारचढाव, वातावरणीय न्याय र जैविक विविधताका विषय समावेश रहेको भन्दै यसले समाजमा चेतना र जानकारी दिने उनले बताए ।
यो प्रतियोगिताकी निर्णायकमण्डलका संयोजक प्रा. डा. सावित्री कक्षपतीले नेपाली साहित्यको श्रीवृद्धिमा १२खरी कथा लेखन प्रतियोगिताको विशेष भूमिका रहेको बताइन् । कर्पोरेट हाउस र व्यक्तिगत पहलमा कथा प्रतियोगिताको आयोजना भइरहेको भन्दै उनले यसले निरन्तरता पाउँदा इतिहासको पानामा स्वर्णअक्षरले लेखिने बताइन् ।
“प्रतियोगितामा प्राप्त ८४३ मध्ये हामी निर्णायकलाई ५५ कथा हातमा लाग्यो । हामीलाई कथाकार को हो थाहा थिएन । कुन कथा प्रथम, द्वितीय र तृतीय भयो भन्ने मात्रै थाहा थियो । यसले यो प्रतियोगिता कति निष्पक्ष छ भन्ने प्रमाणित हुन्छ,” उनले भनिन्, “कथाले के सूचना प्रदान गर्छ र के सन्देश दिन्छ भन्ने महत्त्वपूर्ण हो । कुन समयलाई दर्साउँछ भन्नेले अर्थ राख्छ । त्यसैले यो प्रतियोगिताले निरन्तरता पाउनुपर्छ ।”
नेपाली साहित्यमा पाठकको खाँचो रहेको उनले बताइन् । “कथाकार, पाठक हामी सबैले एकार्कालाई बाटो देखाइरहेका छौँ,” उनले भनिन्, “पाठकले पनि कथा कतातिर जाने निर्देश गरिरहेका हुन्छन् । त्यसैले पाठकको संख्या बढाउनुपर्नेछ ।”
१२खरी उत्कृष्ट कथासंग्रहका सम्पादक तथा साहित्यकार नयनराज पाण्डेले प्रतियोगितामा प्राप्त कथाले यो क्षेत्रको भविष्य उज्ज्वल देखिएको बताए ।
प्रतियोगितामा प्राप्त आधाभन्दा धेरै कथाले यस क्षेत्रमा आउँदै गरेको नयाँ पुस्ताको भविष्य राम्रो रहेको देखाएको उनको भनाइ छ ।
“आधा कथामा मजबुत मिहिनेत रहेको देखिन्छ । यसले कथासाहित्यको भविष्य राम्रो छ भन्ने देखाउँछ,” पाण्डेले भने । यद्यपि, नेपाली कथा लेखनमा सुरुदेखि नै पात्रमा समस्या रहेको उनको भनाइ छ । आफू रहेको क्षेत्रबाट मात्र हेर्दा कथाका पात्रहरू पूर्वाग्रही देखिने गरेको आफूले अनुभूत गरेको उनले बताए ।
लक्ष्मीप्रसाद देवकोटादेखि बीपी कोइरालासम्मका कथामा पात्रमा समस्या रहेको भन्दै उनले भने, “कथा भन्ने टेक्निकमा काम गर्नुपर्नेछ । यो कमजोरी मैले पनि सुधार गर्नुपर्छ, अरूले पनि सच्याउँदै जानुपर्छ ।”
पात्रमार्फत पनि नेपाली साहित्यले वर्ग, समुदाय र लिंगका आधारमा विभेद गरिरहेको उनको भनाइ छ ।
डिश मिडिया नेटवर्क लिमिटेडका अध्यक्ष एवं संघीय सांसद देवीप्रकाश भट्टचनले कथामा राजनीतिक उतारचढावका विषय पनि समावेश हुनुपर्ने बताए । सामाजिक विषयसँगै राजनीतिक विषयलाई पनि साहित्यले समेट्नुपर्नेमा उनको जोड छ ।
सरकार र राजनीतिलाई खबरदारी गर्नु साहित्यको पनि धर्म भएको भन्दै आउँदा दिनमा यस्ता विषयमा कथा लेखिने उनको विश्वास छ । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले १२खरी कथा लेखन प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताए ।
“यो प्रतियोगिताको विश्वसनीयता बढेको छ । यो नै हाम्रो शक्ति हो । साहित्य र पत्रिकारिता समाज परिवर्तनको माध्यम हो । समाज परिवर्तनको सोचले हामीले कथा पत्रकारिता र साहित्यलाई सँगै अगाडि बढाएका हौँ,” प्रधानसम्पादक प्रधानले भने ।
साहित्यकारहरूले देखेको, चाहेको कुरा साहित्यमार्फत प्रकट गर्ने भन्दै त्यो पत्रकारितामार्फतभन्दा पनि प्रभावकारी हुन सक्ने उनले बताए ।
“राजनीतिले साहित्यलाई पनि गाँजेको छ । राजनीतिले गाँजेकाले समाजलाई पत्रकारितामार्फत परिवर्तन गर्न गाह्रो भइरहेको छ,” उनले अगाडि थपे, “यस्तो अवस्थामा साहित्यमार्फत काम गर्न सकिन्छ भन्ने हाम्रो उद्देश्य हो ।”
फाइन प्रिन्टका म्यानेजिङ इडिटर अजित बरालले १२खरी कथा लेखन प्रतियोगिताजस्ता नयाँ प्लेटफर्मले नयाँ पुस्तालाई अवसर र हौसला प्रदान गरिरहेको बताए ।
“सुरुसुरुमा शारदा, रूपरेखाजस्ता साहित्यिक पत्रिकाहरू प्रकाशन हुन्थे । त्यसमा प्रकाशन गर्न नयाँलाई गाह्रो हुन्थ्यो,” उनले भने, “बाह्रखरीले नयाँ कथाकारलाई फोरम दिएको छ । अहिले लेखेकले कस्ता कथा लेखिरहेका छन् भन्ने बाह्रखरीमार्फत प्रस्तुत भइरहेको छ ।”
यस वर्षको १२खरी कथा प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएका हुन् ।
प्रथम, दोस्रो र तेस्रो स्थानमा पर्न सफल कथाकारलाई प्रमुख अतिथि पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सम्मान गर्दै प्रमाण पत्र, पुरस्कार प्रदान गरेका थिए ।
यस कथा संग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् ।
बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० मा उत्कृष्ट २५ कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका छन् ।
२५ कथाकारलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, नेपाल टेलिकमका उपप्रबन्धक परमात्मा भट्टराई र नेपाल आयल निगमका निमित्त कार्यकारी प्रमुख नागेन्द्र साहलगायतले पुरस्कार वितरण गरेका थिए ।
डिश होम फाइबर नेट, बाह्रखरी कथा २०८० को टाइटल स्पोन्सर रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम प्रायोजक रहेका थिए ।
कथा लेखन प्रतियोगिताको पाँचौं संस्करणमा विजयी उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूकोे कथासहित २९ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ पब्लिसिङ् पार्टनर फाइन प्रिन्टले बजारमा ल्याएको छ ।
यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।
१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा. डा. सावित्री कक्षपती संयोजक रहेकी थिइन् भने आख्यानकारहरू महेशविक्रम शाह र सुबिन भट्टराई सदस्य रहेका थिए ।
आन्तरिक मूल्यांकन समिति बाह्रखरीका विचार सम्पादक अधिकारीको संयोजकत्वमा रहेको थियो । साहित्यमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षणमा देखिएको कमीले गर्दा बाह्रखरी मिडियाले विश्वव्यापी कथा प्रतियोगिताको आयोजनालाई महत्त्व दिँदै आएको हो ।
यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतका कथाकारको सहभागिता रहने गरेको छ । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले उपस्थित सम्पूर्ण पाहुनालाई धन्यवाद व्यक्त गरेका थिए ।