काठमाडौं । इटालियन सिरी ‘ए’ को लिग लिडर इन्टर मिलानले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा लिसलाई २–० ले हराउँदै इन्टरले दोस्रो स्थानको युभेन्ट्ससँग चार अंकको अग्रता बनाएको हो ।
घरेलु मैदानमा सान सिरोमा इन्टरलाई जित दिलाउन यान बिसेक र निकोलो बेरेलाले गोल गरे ।
यान बिसेकले ४३औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । यस्तै, ७८औँ मिनेटमा निकोलो बेरेलाले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा लामेक बान्डाले रातो कार्डको दर्शन गरेपछि लिस १० खेलाडीमा सीमित भएको थियो ।
शनिबार राति नै भएको खेलमा नौ खेलाडीमा सीमित नापोलीले रोमासँग २–० को हार बेहोरेको छ । तनावपूर्ण बनेको खेलमा दुई रातो र १२ पहेँलो कार्ड देखाइएको थियो ।
रोमाको जितमा लोरेन्जो पेलेग्रिनी र रोमेलु लुकाकुले गोल गरे । दोस्रो हाफमै दुई गोल निस्कदा दुई रातो कार्ड पनि प्रयोग भएको थियो ।
नापोलीका माटेओ पोलिटानो र भिक्टोर ओसिम्हेनले रातो कार्डको सामना गरे । सिरी ‘ए’ अन्तर्गत कै अर्को खेलमा दोस्रो स्थानको युभेन्ट्सले फ्रोसिनोनलाई २–१ ले हराएको छ ।
जितसँगै १७ खेलबाट ४४ अंक जोडेको इन्टर शीर्ष स्थानमा छ । समान खेलबाट ४० अंकको युभेन्ट्स दोस्रो र ३३ अंकको एसी मिलान तेस्रो स्थानमा छन् ।