site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भगवान्, भाग्य र भौतिकी – २

अनुकूल वातावरण, खानपिन, अभ्यास र संगतले अपूर्णांग जन्मेको व्यक्तिलाई पनि सफलताको सोपानतिर लैजान्छ भने प्रतिकूल वातावरण र प्रवृत्तिले शारीरिक एवं मानसिक रूपमा स्वस्थ व्यक्तिलाई पनि बरबादीतर्फ डोर्याएर लैजान्छ ।

खराब खानपान, संगत र पारिवारिक वातावरणले गलत गतिविधिलाई प्रवृत्तिमा बदलिदिन्छ । मस्तिष्कका न्युरोनहरूले व्यक्तिले लगातार गर्ने क्रियाकलापलाई पहिचान गर्न थाल्दछन् र ऊ जे गर्न चाहन्छ त्यही क्रियालाई आदतमा परिणत गरिदिन्छन् ।

कुनै किशोरवयकी लडकीले कविता लेख्न थालिन् भने उनको मस्तिष्कमा क्रमशः  काव्यात्मक तरंगहरू उठ्न थाल्दछन् । अनि, मस्तिष्कका तन्तुहरूले काव्य सिर्जनाका लागि आवश्यक ऊर्जा पैदा गर्न थाल्दछन् ।

Dabur Nepal
NIC Asia

कुनै विषयमा खोज र अनुसन्धानमा लागेको व्यक्तिको मस्तिष्कले उसलाई नयाँनयाँ खोजका लागि प्रेरित र उत्साहित गर्दछ । यौनप्रति ज्यादा उत्कण्ठामा रहने व्यक्तिलाई सूक्ष्म तन्तुहरूले अविरल रूपमा यौनबारे सोच्न बाध्य पारिदिन्छन् । 

अवश्य पनि उत्थानको मार्गभन्दा पतनको मार्ग नै सहज हुन्छ ।

कुनै पनि मनस्थिति प्रवृत्तिमा परिणत हुँदै जाँदा सम्बन्धित व्यक्तिले थाहा नै नपाउने गरी एउटा आदतको विकास हुन्छ । अचेतनले सदैव उज्यालोतिरभन्दा अँध्यारोमा लैजान चाहन्छ । उन्न्नतिको मार्ग कठिन भएको हुँदा त्यता प्रवृत्त हुन लामो समय लाग्छ ।

परिणामतः पतनतिर जान चाहने ग्रन्थी प्रबल हुन थाल्छ । कोही पनि कृष्णजस्तो पूर्ण छैन, हुन सक्तैन ।

शास्त्र भन्दछ– राम पनि पूर्ण थिएनन् । प्रत्येक मनुष्य अपूर्ण छ, कोही धेरै र कोही कम । त्यसैले शारीरिक र मानसिक कमजोरीअनुरूपको योग अभ्यास र अनुशासन चाहिन्छ ।

हरेक सकारात्मक ऊर्जालाई भंग गर्न एउटा नकारात्मक उर्जा तयारी हालतमा बसेको हुन्छ । यो जगत्को प्रत्येक नरनारी एक तपस्यारत विश्वामित्र हो ।

विश्वामित्रको तपस्या भंग गर्न एउटा इन्द्र सदैव तत्पर छ । मेनका नामकी अप्सरा व्यक्तिको ध्यान र प्रयत्नलाई भंग गराउन तत्पर नकारात्मक ऊर्जाको विम्ब हो ।

जुनसुकै क्रान्तिकारी व्यक्तिमा प्रतिक्रान्तिको भावना हुन्छ । स्वार्थी र मौकापरस्त तत्त्व उसको अचेतनमा लुकेर बसेको हुन्छ । राणाविरुद्ध क्रान्ति गर्ने अन्य राणाहरूले ऐना हेर्दा सायद आफ्नो शिरमा श्री ३ को श्रीपेच देख्थे ।

प्रत्येक व्यक्तिको मनको पल्लो कुनामा आफू पनि ‘राणा’ बन्ने सपना लुकेर बसेको हुन्छ । शोषक र सामन्तीका विरुद्ध मात्र होइन, राजालाई सिंहासनाच्युत गर्ने प्रतिज्ञा गरेको कथित जनवादी क्रान्तिको नेतृत्व वर्गमा आफैँ सिंहासनस्थ हुने सपना थियो ।

हरेक परिवर्तनको अभियानमा सरिक व्यक्तिको अचेतनमा अरूले मस्ती गरेको देखेर त्यतै पो लाग्नुपर्छ कि भन्ने भावना प्रच्छन्न रूपमा बसेकै हुन्छ । सबै परिश्रमयुक्त कार्यमा एउटा पश्चात्ताप र गुमेको अवसरको सम्झना रहिरहेको हुन्छ ।

एउटा अध्ययनशील किशोर कापी किन्न भनेर बजारतिर जाँदै छ । बाटामा ऊ के देख्छ भने उसका समवयी केटाहरू सडकपेटीमा ढलिमली गर्दै चरेस सेवन गरिरहेका छन् । परिचित छिमेकी साथीहरू हुन् । 

‘आइज साथी, तेरो दुनियाँभन्दा हाम्रो दुनियाँ रमाइलो छ ।’ आह्वानमा मिठास थियो ।

वर्षौँ मिहिनेत गरेर पढेपछि पनि फेरि अर्को मिहिनेतको जन्जालमा फसिने त हो । परिश्रमको अन्त्य नै नहुने एकबारको जुनीमा तयारी हालतको मस्ती र त्यसमा पनि रसिला यार दोस्तहरूको मधुर आह्वान ।

किशोर यसो उभिएर सोच्न थाल्यो । धन्न उसका न्युरोनहरू पढाइमा प्रवृत्त भइसकेका थिए । धन्न उसको दिमागका तन्तुहरू विवेक प्रयोग गर्नमा सिपालु थिए ।

ऊ सरासर घरतिर लाग्यो । सुदृढ धारणा नभएका ठिटाहरू बिग्रेर गए । सुदृढ धारणा भएको हुँदा त्यो किशोर जोगियो । परन्तु, ऊ बारम्बार त्यही बाटो भएर हिँड्न थाल्यो र त्यसै गरी आह्वान भइरह्यो भने के होला ?

अन्धभक्तिमा आधारित धार्मिक कट्टरवाद र अति राष्ट्रवादको नाराले मानिसको मस्तिष्कलाई सबैभन्दा ज्यादा प्रभाव पार्दछ । विशेष गरेर बेरोजगारी र निराशाको पीडाले ग्रस्त युवाहरूलाई ती माध्यमबाट एउटा ‘प्लेटफर्म’ प्राप्त हुन्छ ।

उनीहरूको मनमा धार्मिक या राष्ट्रिय भावुकता र कदाचित उग्रताले भरिएका भाषणहरूको गहिरो प्रभाव पर्छ । उनीहरू त्यसैमा लहसिन थाल्छन् र तर्क एवं तथ्यको निर्मम खारेजी हुन्छ । अनि, क्रमशः अन्य व्यक्तिहरूमा पनि त्यही नै सच्चा र सम्यक मार्ग हो कि भन्ने सोच पलाउन थाल्दछ ।

मनुष्यको मनमा शान्त र शालीन गतिविधिभन्दा उग्रताको प्रभाव त्वरित र गहन हुन्छ ।

मस्तिष्क नकारात्मक कुरामा बढी सक्रिय हुन्छ । कोही अल्छी हुँदै गयो भने दिमागले पनि त्यस आलस्यमा उदार सहयोग पुर्याउन थालिहाल्छ । एउटा बालक पढ्नमा भन्दा भिडियो गेम खेल्नमा रुचि राख्दछ । किनकि, पढेर हुने रमाइलो आन्तरिक हुन्छ र धेरै समय कुर्नुपर्छ ।

भिडियो गेमको रमाइलो तत्काल प्राप्त हुन्छ । त्यसैले त बालबालिकाको भविष्य अभिभावकको हातमा छ । गलत हातमा पर्यो भने जतिसुकै बलियो इन्जिन भएको गाडी पनि दुर्घटनामा पर्दछ ।

कुनै डाक्टर एकदमै सिपालु हुन्छ र कुनै अलिकता कमजोर । कुनै इन्जिनियरले सही तवरले कुरा बुझेर काम गर्दछ भने कुनै भने आजीवन अलमल्ल परिरहन्छ । ऊ निर्णय नै गर्दैन या गरे पनि गलत निर्णय गर्छ ।

वास्तविकता के हो भने ऊ इन्जिनियरिङ पढ्न जन्मेको नै होइन । उसका मस्तिष्कका न्युरोनहरू सायद अरू नै कुनै क्षेत्रका लागि फिट थिए ।

कुनै एउटा किशोर छ । टाठो पनि छ । ऊ चित्र बनाइरहन्छ । चित्रकै बारेमा सोच्छ र चित्रमै रमाउँछ । किन्तु, उसका मातापिताको ध्यान पल्लो घरको झ्यालमा छ, जहाँबाट एउटा डाक्टरी पढ्दै रहेको विद्यार्थीका मातापिता सानले बाहिरको संसार चियाउँछन् ?

धनाढ्य पिताले छोराले ‘नाइँ नाइँ’ भन्दाभन्दै पनि जबर्जस्ती पाइलट पढ्न पठाए । ऊ बडो मुस्किलले कोर्स पूरा गरेर फर्क्यो र जहाज उडाउन पनि थाल्यो । उसलाई विमान उडानमा कत्ति पनि रुचि थिएन । रिस उठेको बेलामा भन्ने गर्थ्यो– कुन दिन खसालिदिन्छु !

निरन्तर अभ्यासले ऊ असल पाइलट बन्न सक्थ्यो, किन्तु उसले इमानदार अभ्यास गर्नै सकेन । सायद खराब पाइलट बन्न विवश थियो ऊ । नभन्दै एक दिन उसले उडाइरहेको विमान आकाशबाट धर्तीमा खस्यो । 

स्टिफेन हकिङका मातापिता उनलाई डाक्टर बनाउन चाहन्थे । तर, हकिङले त्यो प्रस्तावलाई अस्वीकार गरेर फिजिक्सतिर लागे । उनले भनेका छन्, ‘सायद मलाई फिजिक्सतिर डोर्याउने प्रेरणा पूर्वनिर्धारित थियो । सायद मेरो निर्णय मेरै नियन्त्रणमा पनि थिएन ।’

मेधावी भएको हुनाले उनलाई डाक्टर बन्न पनि उस्तो कठिन हुने थिएन होला । किन्तु, सायद डाक्टरी पेसा उनका लागि एउटा बन्धन हुने थियो । उनी काम त डाक्टरको गर्दथे होला, तर सोच्दथे सायद ब्रह्माण्डको बारेमा ।

यहाँ म एउटा प्रसंग जोड्न चाहन्छु । यही निबन्धको पहिलो भाग प्रकाशित भएपछि मेरा प्रिय मित्र राजीव घिमिरेले प्रेरक प्रतिक्रिया दिँदै लेख्नुभयो, ‘गजबको लेख, गहन विषय ! यसरी सोचेर यति सरल भाषामा लेख्न सक्ने कमै होलान् ।’

उहाँले अगाडि लेख्नुभयो, ‘प्रारब्धले कसरी काम गर्छ ? कुनै नियमलाई ‘फलो’ गर्छ भने त्यो ‘नियमित’ भयो, प्रारब्ध भएन । कुनै नियमलाई फलो गर्दैन भने त्यो केबल ‘र्यान्डमनेस’ मात्र भयो । विज्ञानमा र्यान्डमनेस छ, प्रारब्ध छैन । र्यान्डमनेसमा पूर्वनिर्धारित नियम हुँदैन । कुन शुक्राणुले कुन डिम्बलाई सेचनका लागि छान्छ भन्ने कुरामा र्यान्डमनेस हुन्छ होला । भौतिक विज्ञानले पनि र्यान्डमनेसलाई स्वीकार गरेर ‘ब्रउनियन मोसन’ जस्ता सिद्धान्त विकास गरेको छ ।’

उहाँको प्रतिक्रियामा मैले लेखेको थिएँ, ‘विज्ञान नियोजित हुँदैन । पक्षपात गर्दैन । पाप र धर्मको अभिलेख राख्दैन । विज्ञान कल्पित ईश्वरजस्तो कथित चेतन तत्त्व होइन ।

तथापि, र्यान्डमली नै भए पनि भोग्ने व्यक्तिको हकमा त त्यही प्रारब्ध भयो । प्रारब्धका धेरै अर्थ छन्, यस लेखको हकमा त्यसको अभिप्राय भाग्य हो । आकस्मिक रूपमा नै किन नहोस्, कसैलाई त्यही नै प्राप्त भयो ।

सायद अस्तित्ववादले त्यसै हुनाले जीवनलाई विसंगत भन्यो । विसंगतपूर्ण र निरर्थक नै भए तापनि जीवन एक वास्तविकता हो । यो वास्तविकता स्वीकार गरेर कर्ममा सरिक हुनुबाहेक अर्को उपाय छैन भन्ने मेरो मनसाय हो ।

कमजोर मानसिक र शारीरिक दशा लिएर जन्मेको मनुष्यले बढी परिश्रम र अभ्यास गर्नुपर्यो भन्ने मनसाय हो । ईश्वरलाई आड बनाएर नै किन नहोस्, कोही सदाचारी, कर्मशील र करुणामय हुनसक्छ भने त्यो पनि उचितै हो भन्ने मनसाय हो ।

यो निबन्ध फिजिक्स नबुझेको तर फिजिक्समा निष्ठा राख्ने मान्छेले लेखेको हो । मलाई यति थाहा छ कि राजीव सरले यो निबन्ध लेखेको भए यसरी लेख्नुहुने थिएन । यस्तो विषयमा लेख्ने अधिकारित्व ममा छैन । किन्तु, संसार यस्तै अधिकारित्वहीन अधिकारले भरिएको छ । र, सायद साहित्यको विकास पनि त्यही क्रममा हुँदै गयो ।

साँच्चै भन्छु सर, यो लेख्दालेख्दै लेखिन गएको रचना हो । चारजनाको आँखा पर्यो भने पनि सार्थकै होला र विज्ञान र अध्यात्म मान्ने दुवैलाई न्याय होला भन्ने सोचेर सार्वजनिक गरेको हुँ ।’

मानिसको प्रारब्ध कति अनिश्चितरूपले निर्धारित रहेछ भन्ने कुरालाई ‘ब्राउनियन मोसन’को सिद्धान्तले झनै पुष्टि गरेको छ । यसले त मनुष्यलाई झनै परिश्रमी र अभ्यसित हुन बाध्य पारेको छ ।

राजकुमार सिद्धार्थबाहेक कतिपय अरू मानिसमा पनि बुद्ध बन्ने चेतना थियो होला । किन्तु, उनीहरूका साथमा अनुकूल परिस्थिति थिएन । सिद्धार्थ राजाका छोरा अर्थात् हुनेवाला राजा थिए । सांसारिक सम्पदा र वैभवको भरमार थियो ।

परन्तु, उनले बुलन्द आवाजमा घोषणा गरे– जीवनमा दुःख छ ।

बुद्धभन्दाअघि पनि अनगिन्ती मानिसले जीवनमा दुःख छ भनी नै रहेका थिए । परन्तु, एउटा अकिञ्चन झोपडीवासीले दुःख छ भन्नु र समस्त ऐश्वर्यका स्वामी राजपुत्रले दुःख छ भन्नुमा ठूलो भिन्नता थियो ।

सर्वसाधारण प्रजाले त के बुझेका थिए भने दुःख भन्ने कुरा दरिद्रहरूको पेवा हो । किन्तु, सौन्दर्य, शील, सौभाग्य, सम्पत्ति र सत्ताका मालिक राजकुमारले नै ‘दुःख छ’ भनेर घोषणा गर्दा आममानिसमा दुःखको व्यापकता र गहिराइको महसुस भयो ।

सर्वदा सुखको सागरमा डुबुल्की मार्छन् भनेर मानिएका राजालाई पनि दुःख रहेछ । राजाले पनि सारा सम्पदा र सौभाग्य परित्याग गरेर आधा रातमा सुटुक्क जोगी हुने अभिलाषाले महाभिनिष्क्रमण गर्न सक्दा रहेछन् ।

सामान्य प्रजाजनले पनि सहजै सिद्धार्थको कुरामा विश्वास गरे र उनलाई ‘बुद्ध’ भनेर पुकार्न थाले । कपिलवस्तु राजदरबारको एउटा सामान्य नोकरले ‘दुःख छ’ भन्दै त्यसको निवारणबारे उपदेश दिन थालेको भए को पत्याउँथ्यो ?

प्रह्लाद, ध्रुव, राम, कृष्ण, युधिष्ठिर र परीक्षित सबै उच्च घराना र इज्जतदार परिवारका सन्तान थिए । उनीहरूका वाणी र सत्यवादको हाईहाई भयो । वीरता, रूप, सीप र शालीनताको निकै प्रशंसा भयो ।

उनीहरू हतियार लिँदा पनि, हतियार त्याग्दा पनि, सदाचार पालन गर्दा या नगर्दा पनि, छलकपट गर्दा पनि र अनाहक जुवा खेल्दा पनि प्रजा र कविका समेत प्यारा नै भए ।

अष्टावक्र र सुदामाजस्ता दरिद्र ज्ञानीहरूको वर्णन त पौराणिक साहित्यमा प्रसंगवश मात्र गरिएको छ । त्यो एकप्रकारले गरिबीको गौरवीकरण हो, ताकि मनुष्यलाई गरिबीमा पनि सन्तोष मिलिरहोस् ।

शान्तिकाल, राजनीतिक स्थायित्व र यथास्थितिवादको वर्चस्व रहेको समयमा साधारण र गरिब परिवारको मानिस अगाडि आउनै पाउँदैन । ऊ अगाडि आउन कि क्रान्ति हुनुपर्छ या सच्चा लोकतान्त्रिक समाजको स्थापना ।

कृष्ण अपार क्षमता, ज्ञान र ऐश्वर्यका प्रतिरूप थिए । उनले जोरजाम गरेको सरजामबाट सारा कुटुम्बहरू मालामाल भए । किन्तु, उनीहरूको स्वभाव र शालीनता मालामाल हुन सकेन ।

कृष्णबाट प्रणीत सम्पदा र शक्तिले गर्दा उनीहरूले कुनै परिश्रम नै गर्नु परेन । परिस्थितिले गर्दा सद्दे मानिसहरूको बुद्धि पनि अभिमान र अनाचारमा प्रवृत्त भयो र अहंकार आदत बनेर गयो ।

महाभारतको युद्ध समाप्त भएपछि गान्धारीले कृष्णलाई दिएको श्राप त एउटा विम्ब मात्र हो । कृष्णले यदुकुलको ‘डेस्टिनी’ महाविनाश हो भन्ने बुझेका थिए । त्यसैले त्यो हदको दर्दनाक अभिशापमा पनि उनी प्रसन्न मुद्रामा मुस्कुराइरहे । 

यदुकुलका सम्यक मस्तिष्कका धनी मानिसहरू पनि खराब वातावरण, संगत र अभिमानको हुलहालमा परे । अभिमानको हुलमुल बडो विनाशक हुन्छ ।

शारीरिक, मानसिक र आर्थिक अवस्था दुरुस्त भएका मानिस पनि खराब प्रवृत्तिका कारण कसरी विपत्तिमा पर्छन् भन्ने थाहा पाउन चाहनेले महाभारत मात्र पढे पुग्छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro