site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री किरातीलाई पदमुक्त नगरे देशभर ‍आन्दोलन गर्ने विश्व हिन्दु महासंघको चेतावनी

काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पदमुक्त गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्तिमार्फत महासंघले किरातीलाई पदमुक्त नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

"...ॐकार परिवारको आस्था र विश्वासमा आघात पुग्ने गरी देशको महत्त्वपूर्ण संस्कार र संस्कृतिको संरक्षणको जिम्मेवारी बोकेको संस्कृति मन्त्रालयको मन्त्री जस्तो गरिमामय पदमा बसेर कुनै धर्मको आड लिएर अन्य धर्म मान्नेहरूको आत्मसम्मानमा चोट पुग्ने गरी दिइएको राष्ट्रघाती अभिव्यक्तिप्रति घोर भर्त्सना गर्दै गम्भीर आपत्ति प्रकट गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।

Argakhachi Cement Island Ad

महासंघले किरातीलाई २४ घण्टाभित्र पदमुक्त गर्न माग गरेको छ । "अराजक, अपाच्य, अभिव्यक्ति दिने जो कसैलाई राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारीमा राख्नु अशोभनीय रहन्छ । तसर्थ सम्माननीय प्रधानमन्त्रीज्यूलाई अराजक संस्कृति मन्त्रीलाई तत्काल २४ घण्टाभित्र पदमुक्त गर्नुहुन प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ," महासंघका महासचिव रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।‍

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री किरातीले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले कसैको डरत्रासमा बस्न नहुने बताएपछि उनी विवादित बनेका छन् ।

"कसैको दायामायाले होइन, हजारौँ सहिदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरू एकथरि फूल हो । तपाईंहरूबिना बगैँचाको शोभा हुँदैन । तीन करोड नेपालीमा लाखौँ क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो," उनले भनेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्