
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक आह्वान गरेका छन् ।
पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक भोलि (मंगलबार) दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । उनका अनुसार बैठकमा माघ ११ हुने राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
“बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुनेछ,” ढकालले भने ।
माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।
माओवादीले मंसिरमा अभियान सक्ने र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, पुस १६ गतेसम्म नै अभियान चलाउने निर्णयपछि सम्मेलनको मिति तय भइसकेको छैन । फागुनभित्रै सम्मेलन गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।