site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. केसी र गेटापक्षका माग कहाँ मेल खाएन ? 

काठमाडौं । २१औँ सत्याग्रहका निम्ति चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी शुक्रबार कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय पुगे । ७२ घण्टे सत्याग्रह गेटा मेडिकल कलेज (प्रस्तावित विश्वविद्यालय)मा नै बस्ने केसीपक्षको तयारी थियो ।

तर, दुईबुँदे मागसहित शुक्रबार साँझ गेटा पुग्दा परिस्थिति तयारीअनुरूपको भएन । विश्वविद्यालय संघर्ष समिति र डा. केसीपक्षबीच झन्डै मुठभेडको अवस्था सिर्जना भयो ।

दुईबुँदेमध्ये डा. केसीको एउटा माग थियो, गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने आफूसँगको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने ।

Dabur Nepal
NIC Asia

मागको दोस्रो बुँदामा लेखिएको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भन्ने शब्दमा विश्वविद्यालय संघर्ष समितिले आपत्ति जनायो । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका निम्ति सरकारले तयारी नै अघि बढाइसकेको अवस्थामा डा. केसीको माग किन प्रतिष्ठानमा सीमित ? भन्ने समितिको प्रश्न थियो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे भन्छन्, “हामी २०६५ सालदेखि सुदूरपश्चिममा एउटा विश्वविद्यालय हुनुपर्छ भनेर लडिरहेका छौँ । डा. केसी किन प्रतिष्ठानको माग राखेर सत्याग्रह बस्नुहुन्छ ? आज देशमा २१ मेडिकल कलेज र आठवटा विश्वविद्यालय सञ्चालनमा रहँदा सुदूरपश्चिमले एउटा विश्वविद्यालय किन नपाउने ?”

उनले डा. केसीको कार्यप्रति असन्तुष्टि जनाए । “राष्ट्रियसभाले सर्वसम्मतले पास गरिसकेको विश्वविद्यालयको विषय प्रदेश राजधानीमा बनाउने कुरा हो, आर्थिक संकट रहेको बेला कहाँ हुन्छ भन्नलाई उहाँ सरकारको को अधिकारी हो ?,” पाण्डेको प्रश्न छ ।

यही विषयमा छलफल हुँदा डा. केसीले सुदूरपश्चिममा विश्वविद्यालय हुन सक्दैन भन्ने तर्क राखेपछि अस्पताल परिसरमा अनशन बस्न रोक लगाइएको पाण्डेको भनाइ छ ।

तर, केसीपक्षले सत्याग्रह प्रतिष्ठान वा विश्वविद्यालयका नाममा नभई सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयनका निम्ति दबाब मात्र भएको जिकिर गरेको छ ।

“उहाँ (डा. केसी)ले गेटा प्रतिष्ठान वा मेडिकल कलेजमा मात्रै सीमित हुनुपर्छ भन्नुभएको हुँदै होइन । तर, यसअघि २०औँ सत्याग्रहमा भएको सहमतिअनुसार आगामी फागुनदेखि ३०० बेडको अस्पताल सञ्चालनमा ल्याइयोस् भन्ने माग राखिएको हो,” डा. केसीका सहयोगी डा. अमृत जैशीले भने ।

गेटा विश्वविद्यालय हुँदा आफूहरूलाई आपत्ति नभएको उनको भनाइ छ । “गेटा विश्वविद्यालय हुँदा उहाँ (डा. केसी)लाई आपत्ति वा विमति होइन । तर, यसअघिको सम्झौताअनुसार पहिले ३०० बेडको काम सुरु हुनुपर्‍यो । सोहीअनुसारको स्रोत–साधन र पूर्वाधारको व्यवस्था हुनुपर्‍यो । नियामक कानुन बन्नुपर्‍यो भन्ने अहिलेको माग हो,” डा. जैशीले स्पष्ट पारे ।

सरकारले डा. केसीसँग सहमति गरेको मितिमा ३०० बेडको अस्पताल सञ्चालन गर्न आलटाल गर्नु र विश्वविद्यालयको प्रक्रिया अघि बढाइनुले सुदूरपश्चिममा अर्को निजी अस्पताल खोल्न दिने खेल भइरहेको त छैन भन्ने केसी पक्षको आशंका छ ।

त्यसो त गेटामा पूर्ण सेवासहितको ३०० बेड अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने संघर्ष समिति र डा. केसी दुवै पक्षको साझा धारणा छ ।

२०औँ सत्याग्रहका क्रममा डा. केसी र सरकारबीच ०७९ असोज ८ गते १० बुँदे सहमति भएको थियो । गेटा मेडिकल कलेजलाई आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर स्रोत–साधन, उपकरणलगायत व्यवस्था गरी ०८० फागुन १० गतेभित्र चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम सुरु गर्ने सहमति थियो ।

सम्झौतापत्रमा डा. केसी र सरकारका तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव डा. गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेका थिए ।

उता, शुक्रबारदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीको स्वास्थ्य अवस्थामा आइतबारदेखि समस्या देखिएको छ ।

१० दिनअघि पित्तथैलीको शल्यक्रिया गराएका डा. केसीको ‘ब्लडप्रेसर लो’ र पिसाबमा किटोनको ‘लेभल’ बढी देखिएको छ । कमजोरीका कारण आइतबारदेखि उनले बोलचाल समेत कम गरेका छन् । चिसोका कारण उनलाई धर्मशालाकै सानो कोठामा सारिएको छ ।

डा. केसी ७२ घण्टे अनशन बस्ने निर्णयसहित धनगढी पुगेका थिए । तर, स्वास्थ्य अवस्थाका कारण सोमबार दिउँसो अनशन तोड्ने उनको तयारी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro